विनोद महतो
बारा : सरसफाइ तथा खुल्ला दिसामुक्त अभियानमा तराई मधेशमा निकै नै पछि परेको र अभियान अगाडी बढाउन चुनौतीपूर्ण मानिएको बारा जिल्लामा अहिले अभियानले गति लिन थालेको छ । विभिन्न चुनौती र परिस्थितिलाई चिर्दै अभियानकर्ताहरुले अहिले जिल्लामा खुल्ला दिसामुक्त अभियानलाई तिव्रता दिएका छन् ।
यसै क्रममा जिल्लाको बारागढी गाउँपालिका वडा नं.३ खोपवा, साविकको खोपवा गाविसलाई सोमबार भव्य समारोहकाबीच जिल्लाको ३८ औं खुल्ला दिसामुक्त क्षेत्र (वडा) घोषणा गरिएको छ । जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससिसि) ले बारागढी गाउँपालिका वडा नं. ३ खोपवालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्दै प्रमाण–पत्र प्रदान गरेको छ ।

वडास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति बारागढी गाउँपालिका वडा नं. ३ खोपवाको अध्यक्ष तथा वडा अध्यक्ष छठु राउत अहिरको अध्यक्षता तथा बारागढी गाउँपालिकाका अध्यक्ष देवदत्त बछाडको प्रमुख आतिथ्यमा खुल्ला दिसामुक्त घोषणा गरिएको छ ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि गाउँ पालिकाका अध्यक्ष बछाडले सरसफाइको संकेत मानिने हरियो झण्डा फहराएका थिए । घोषणा समारोहका विशेष अतिथि जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख तथा डिवाससिसिका सदस्य सचिव जक्की अहमद अन्सारीले वडा अध्यक्ष अहिरलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएको प्रमाण पत्र प्रदान गरेका थिए ।

घोषणा समारोहमा गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवी राय, यू.एन. ह्याविट्याटकी बारा संयोजक उमा सिम्खडा, पुनर्जागरण समाज नेपालका मदन बहादुर थापा, मनोज गुप्ता, ग्रामिण विकास प्रशिक्षण तथा अनुसन्धान संस्थाका अध्यक्ष कृष्णा बस्नेत, अभियानको कार्यक्रम संयोजक विनोद कुमार महतो, वास अफिसर सत्यदेव कापर, प्रज्वलक सुनिता चौधरी, ईन्दिरा चौधरी, अमोद खाँ लगायतको उपस्थिति रहेको थियो ।
यसैबीच खुल्ला दिसामुक्त घोषणा समारोहको अवसर रातदिन खटेर खोपवालाई खुल्ला दिसामुक्त बनाउन अभियानमा महत्वपूर्ण सहयोग गर्ने अभियानीहरुलाई सम्मान गरिएको छ । करिव दुई दर्जन अभियानी तथा संघसंस्थाहरुलाई डिवाससिसि र वडाको सरसफाइ समितिले दोसल्ला र कदर पत्र सहित सम्मान गरेको छ ।
बारागढी वडा नं. ३ को वडाको तथ्यांक अनुसार कुल ७ सय ९ घरधुरी रहेको छ । सबै घरधुरीमा वाटरसील प्यानसहितको सुरक्षित चर्पी निर्माण गरी खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको वडा अध्यक्ष छठु राउत अहिरले बताएका छन् । अभियान पूर्व ३ सय १२ घरधुरीमा मात्र चर्पी रहेको खोपवामा अभियानको क्रममा ३ सय ९७ घरधुरीमा नयाँ चर्पी निर्माण गरिएको छ ।

बारागढी गा.पा. वडा नं. ३ खोपवाको वडास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको अगुवाईमा जि.एस.एफ/यू.एन.ह्याविट्याटसँगको साँझेदारीमा पुनर्जागरण समाज नेपाल/ग्रामिण विकास प्रशिक्षण तथा अनुसन्धान संस्था बाराले अभियानको सहजीकरण गरेको थियो ।
यता सोहि समारोहमा बारागढी गाउँपालिका वडा नं.२ लाई समेत खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको पालिकाले जनाएको छ । खुल्ला दिसामुक्त घोषणा समारोहको अवसरमा भोजपुरी भाषाका प्रसिद्ध गायक सुनिल पडितले सहभागी सबैलाई गीतसंगीत मार्फत आफ्नो आवाजको जादुल झुमाएका थिए ।

यसैबीच जि.एस.एफ/यू.एन.ह्याविट्याटसँगको साँझेदारीमा पुनर्जागरण समाज नेपाल÷ग्राममिण विकास प्रशिक्षण तथा अनुसन्धान संस्था बाराले जिल्लामा सहजीकरण गरिरहेको सुवर्ण गाउँपालिकाको वडा नं. ३ र ६ तथा पचरौता नगरपालिकाका वडा नं. ८ अमरपट्टीको सबै घरधुरीमा चर्पी निर्माण भई अनुगमनको क्रममा रहेको संस्थाले जनाएको छ ।


2174 पटक हेरिएको 

