काठमाडौ : संघीय संरचना अनुसार तीन तहको सरकार बनेपछि खानेपानी तथा सरसफाइ सँग सम्बन्धित काम गर्ने निकाय खानेपानी विभागको सांगठनिक संरचना पनि बदलिएको छ । साबिकमा खानेपानी तथा ढल निकास विभागको नाम परिवर्तन गरी खानेपानी तथा ढल व्यवस्थापन विभाग मात्र भएको छैन, संघीय र प्रादेशिक संरचना समेत परिवर्तन भएको छ ।
साबिकमा खानेपानी तथा ढल निकास विभाग अन्तर्गत पाँचै वटै विकास क्षेत्रमा पाँच वटा क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय, ४८ वटा डिभिजन कार्यालय र २२ वटा सव डिभिजन कार्यालयलाई अहिले पुनःसंरचना गरिएको छ ।
अहिले संघीय तहमा खानेपानी मन्त्रालय, त्यस अन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन विभाग र विभागको मातहतमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यान्वयन कार्यालय रहने व्यवस्था गरिएको छ ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार विभाग अन्तर्गत निम्न आयोजनाहरु सञ्चालित छन् ।
– साना शहरी खानेपानी आयोजना
– सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना
– सहलगानी खानेपानी आयोजना
– सुख्खा क्षेत्र खानेपानी आयोजना
– ढल निर्माण तथा प्रशोधन आयोजना
– गुणस्तर सुधार आयोजना
– जलाशययुक्त खानेपानी आयोजना
– थोक वितरण प्रणालीका आयोजना
– उच्च प्रविधियुक्त खानेपानी आयोजना
प्रादेशिक संरचना
प्रदेशिक संरचना अन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयहरु रहने व्यवस्था गरिएको छ ।
यस्ता कार्यालयहरु दुई वा दुईभन्दा बढी जिल्लाहरु हेर्ने गरी देशभरिमा २८ वटा डिभिजन कार्यालय रहने व्यवस्था गरिएको छ ।
ती कार्यालयहरुमा कुल ५ सय ९२ दरबन्दी कायम गरिएको छ ।


6047 पटक हेरिएको 


