सुर्खेत : शैक्षिक, प्रशासनिक पर्यटकीय शहर, स्वच्छ समुन्नत वीरेन्द्रनगर भन्ने मुल नाराका साथ वीरेन्द्रनगर नगरपालिकाको वडा नं. १४ मैकल टोललाई सफा, स्वच्छ घर तथा पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गरिएको छ ।
सुआहारा दोश्रो चरण कार्यक्रम तथा मैकल स्वास्थ्य आमा समुहको सहकार्यमा मैकल टोल विकास संस्थाले आयोजना गरेको कार्यक्रममा सोमबार मैकललाई पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गरिएको हो ।

दलित र जनजाति समुदायका गरी २५ घरको बसोवास रहेको मैकललाई पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गर्न १४ नं. वडा कार्यालयको सहयोग रहेको छ ।
घोषणा समारोहमा १४ नं. वडा अध्यक्ष एवं खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति (डब्लु.वास.सी.सी) का अध्यक्ष टोप वहादुर दर्लामीले वडाकै दुर्गम टोल भएता पनि पहिलो पूर्ण सरसफाइ उन्मुख टोल घोषणा भएकोमा बधाई दिनुभयो ।
साथै प्रत्येक टोलवासीले आफ्नो वासस्थान, कार्यस्थल वरिपरि नदीनाला सफा, मठमन्दिर, पाटीपौवा तथा सार्वजनिक स्थलको स्वच्छता र पवित्रता कायम राख्न मन वचन र कर्मले निरन्तर लाग्नका लागि आग्रह गर्नुभयो । आगामी दिनमा समेत प्लाष्टिकजन्य फोहोरको पुनः प्रयोग गर्नका लागि उहाँले आव्हान गर्नुभयो ।
कार्यक्रममा गढि स्वास्थ्य चौकीका नविन पौडेलले दुषित खाना र पानीका कारण लाग्ने अधिकांश रोग प्रत्यक्ष मानवीय व्यवहारसँग सरोकार हुने भएकाले यस अभियानले रोग न्युनीकरणमा सहयोग गर्ने बताउनुभयो । उहाँले सरसफाइ क्रियाकलाप निरन्तर चलिरहने प्रक्रिया भएकाले आगामी दिनमा अझ सक्रिय रुपमा लाग्न अनुरोध गर्नुभयो ।
यस्तै सुआहारा जिल्ला कार्यालय, सुर्खेतका वास अधिकृत राजु चौधरीले टोलवासीको सक्रिय सहभागिता र सहयोगमा सरसफाइ उन्मुख टोल घोषण गर्न सफल भएकोमा टोलबासीलाई धन्यबाद तथा बधाई ज्ञापन गर्दै अन्य टोलबासीमा पूर्ण सरसफाइ अभियान अझ सक्रियता पूर्वक सञ्चालन गर्न अनुरोध गर्नुभयो ।
टोल विकास संस्थाका अध्यक्ष प्रकाश सुनारको अध्यक्षतामा सञ्चालित घोषणा समारोहमा विविध साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।


2133 पटक हेरिएको 

