सञ्चारकर्मीबाट सरसफाइ अभियानकर्मी बन्दा …

 2571 पटक हेरिएको

रोहित काफ्ले


२१ औं शताब्दीमा पनि यो विषयमा अभियान चलाउनुपर्ने ! दुनियाँका लागि अलि हाँसो उठ्ने खालको विषय हुनसक्छ । तर, हाम्रो सन्दर्भमा यो अभियान निकै वर्षपहिले नै चलाउनुपर्ने रहेछ भन्ने यतिखेर बुझिँदैछ ।


प्रसंग खुला दिसामुक्त अभियानको हो । विकसित मुलुकका नागरिकको लागि हाँसोउठ्दो र हाम्रो लागि संकोचकै विषय भए पनि यो अत्यन्त गहन विषय रहेछ, यो विषयले एउटा पाटोलाई मात्र छोएको रहेनछ, यसले जनजीवनसँग जोडिएका अन्य थुप्रै विषयलाई प्रत्यक्ष–अप्रत्यक्ष रुपमा प्रभावित पारिरहेको रहेछ ।

साझेदार संस्थाका संयोजक र अभियानकर्ताहरुसँगको हेलमेल र सहकार्यले हामी सञ्चारकर्मीलाई फिल्डमा जाने, अन्तरक्रिया गर्ने र तथ्यहरु उजागर गर्ने कामको लत नै लाग्यो । सामाजिक रुपान्तरणको अभियानमा, सायद, यसैलाई भनिन्छ होला ‘परिवर्तनमा सहभागिताको भोक’ ।

योसँगै सरसफाइ, स्वास्थ्य, आर्थिक, सामाजिक विषय पनि जोडिएका रहेछन् । खुलामा दिसा गर्दा वातावरणमा, सरसफाइमा, पानीमा, स्वास्थ्यमा पार्ने प्रतिकूल प्रभावका बारे व्याख्या गरिसाध्य रहेनछ । जतिबेला यसलाई सामाजिक सवाल बनाउन सञ्चार क्षेत्रले अगुवाइ गर्नुपर्ने थियो, त्यो महत्व दिन सकेनछौं भन्ने अहिले महसुस भैरहेको छ ।


सन् २०१६ मा झापा जिल्ला खुल्ला दिसामुक्त घोषणा गर्ने र सन् २०१७ मा नेपाललाई नै खुल्ला दिसामुक्त बनाउने दुबै प्रतिवद्धता पूरा हुन सकेनन् । पूर्ण सरसफाइ अभियानको पहिलो पाइलाको रुपमा रहेको खुल्ला दिसामुक्त अवस्था समेत हासिल हुन नसकेपछि एकातर्फ स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको संवैधानिक हकको सुनिश्चिततामाथि प्रश्न उठिरहेको छ भने सबैका लागि दिगो सरसफाइको लक्ष्य हासिल हुन कठिन भैरहेको छ ।


प्रत्येक घरधुरीमा सुरक्षित शौचालयको पहुँच हुनुपर्ने मान्यतालाई हेर्ने हो भने एउटा वाटरसिल प्यान भएको शौचालय बनाउनु यति ठूलो रडाको मच्चाउनुपर्ने विषय नै होइन । तर, यही विषय, यत्तिका वर्षसम्म पहाड बनेर उभियो, झापाका सन्दर्भमा पनि ।


सरसफाइ गुरुयोजना जारी भएसँगै थालनी भएको खुल्ला दिसामुक्त अभियानअन्तर्गत गाउँ र नगरमा समितिहरु गठन हुनुका साथै अभिमुखीकरण भए पनि त्यो सञ्चार क्षेत्रको सरोकारको विषय बन्न सकेको थिएन । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको तर्फबाट सरसफाइ क्षेत्र हेर्ने रुद्रबहादुर न्यौपानेसँगको समन्वयमा सरसफाइका समाचार लेखियो, कहिले विषयको गहिराइ बुझेर, र कहिले विषयको गहिराइ नबुझीकनै, जानकारीमा आधारमा सामान्य समाचार बनाएर ।

२०७२ को अन्त्यतिर तत्कालीन महेशपुरको एउटा वडा खुल्ला दिसामुक्त घोषणा हुँदा म सम्पादक रहेको निर्माण लहर साप्ताहिकमा समाचार प्रकाशन भयो, तर कार्यक्रमको हार्ड रिपोर्टिङको रुपमा ।


त्यसपछिका केही वर्ष अभियान यति गहन विषय हो भन्ने बुझाइ हामीलाई पनि भएन, न त जिल्ला तहका साझेदारहरुबाट यो गहनताको बारेमा बुझाउने र सञ्चार क्षेत्रसँग साझेदारी गर्ने काम नै भयो । कहिलेकाहीं अन्तरवार्ता छापिए पनि केचना, पाठामारी, बालुवाडी, पथरिया, घेराबारी, गौरीगञ्ज, खजुरगाछी लगायतका क्षेत्रहरु सरसफाइमा समस्या नै हुन् भन्ने बुझाइबाट हामी निर्देशित नै थियौं ।


विर्तामोडमा आयोजना गरिएको सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा विषयको गहनताको बारेमा अलिक बढी बुझ्ने मौका मिल्यो । अन्तरक्रिया कार्यक्रमको समाचार भोलिपल्टका सबैजसो मिडियामा प्रकाशन प्रसारण हुँदा फरक रौनक मिल्यो । अब, अन्य विषयजस्तै सरसफाइ पनि मिडियाको एक प्रमुख सवालको विषयको रुपमा स्थापित हुने छाँटकाट देखियो ।


सञ्चारकर्मीहरुको फिल्ड अनुगमनको तालिका बन्यो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र विकास साझेदारको रुपमा रहेको ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमबाट संयोजन तथा सहजीकरणको काम भयो । सरसफाइ अभियानसँग सरोकार राख्ने सवालहरुमाथि विस्तृत छलफल गर्दै फिल्ड मिसनको कामलाई तीव्रता दिंदै गयौं ।

ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमका जिल्ला संयोजक पत्रकारिता क्षेत्रबाट आएका कारण पनि हामीलाई समन्वय र सहकार्य गर्न निकै सहज भयो भने साझेदार संस्थाका संयोजक र अभियानकर्ताहरुसँगको हेलमेल र सहकार्यले हामी सञ्चारकर्मीलाई फिल्डमा जाने, अन्तरक्रिया गर्ने र तथ्यहरु उजागर गर्ने कामको लत नै लाग्यो । सामाजिक रुपान्तरणको अभियानमा, सायद, यसैलाई भनिन्छ होला ‘परिवर्तनमा सहभागिताको भोक’ ।


उदेकलाग्दो अवस्था


खुल्ला दिसामुक्त अभियान भित्रका अन्तरकुन्तर केलाउन सक्ने दृष्टिविन्दु बनिसकेपछि एक फरक अवस्था बन्यो : जहाँ गयो, त्यहाँ समाचार । विपन्न, गरिब, दलित, आदिवासी जनजाति, अनपढहरुले चर्पी बनाउँदैनन् भन्ने पुरानो मान्यतामा फेरबदल आयो, फिल्डमा जान थालेपछि ।

गाउँमा जान थालेपछि थाहा भयो, विद्यालयका प्रधानाध्यापकको घरमा चर्पी थिएन, महिला स्वास्थ्य स्वयंसेविकाको घरमा चर्पी भेटिएन, राजनीतिक दलका गाउँ इकाइ प्रमुख निजी गाडी चढेर खोलामा दिसा गर्न जाने गरेको पनि देखियो ।

क्रमशः, सञ्चारकर्मीको भूमिकाबाट माथि उठ्दै सरसफाइ प्रवद्र्धनका लागि अन्तरक्रिया गर्न थालियो समुदायमा । जति सहभागिता बढ्दै जान्छ, त्यति प्राविधिक ज्ञान र प्रक्रियाको बारेमा जानकारी हुँदै जाने रहेछ । खुल्ला दिसामुक्त अभियानको सन्दर्भमा समेत यही भयो ।


गाउँमा जान थालेपछि थाहा भयो, विद्यालयका प्रधानाध्यापकको घरमा चर्पी थिएन, महिला स्वास्थ्य स्वयंसेविकाको घरमा चर्पी भेटिएन, राजनीतिक दलका गाउँ इकाइ प्रमुख निजी गाडी चढेर खोलामा दिसा गर्न जाने गरेको पनि देखियो । स्वास्थ्य चौकीका फोहरलाई स्वास्थ्यकर्मीहरुले नै जथाभावी फालेको पनि रंगेहाल फेला पारियो, उच्च मा.वि. का छात्राहरु दिसा पिसावका लागि बाँसघारी र झाडीमा जानुपर्ने वाध्यता समेत साक्षात्कार गर्ने मौका मिल्यो ।


हैट, यस्तो विजोग होला भन्ने लागेको थिएन झापाको सरसफाइको अवस्था । खुल्ला दिसामुक्त अभियानमा स्थलगत भ्रमण गरी समाचार लेख्न थालेपछि सामाजिक परिवर्तनका धेरै विषय र सवालहरुमा अन्तरक्रिया गर्ने र नजिकबाट नियाल्ने मौका मिल्यो ।


नसा चढेपछि ….


झापा जिल्लाका सन्दर्भमा विकट मानिएका स्थानहरु धमाधम खुल्ला दिसामुक्त हुन थाले । सञ्चार क्षेत्रको प्रतिनिधित्व गर्दै स्थानीय इकाइको खुल्ला दिसामुक्त घोषणा स्वीकृतिका लागि जिल्ला तहको अनुगमनमा सदस्यको रुपमा सहभागिता जनाउँदैगर्दा, मानसपटलमा जरा गाढेर बसेको चिन्तन पूरै फेरियो । सचेतनाको कमीका कारण समुदायले चर्पी निर्माण गर्न नसकेको हो भन्ने मान्यता अब म स्वीकार गर्न सक्ने अवस्थामा छैन ।


समुदायमा घरदैलो अभियान थालनी गरियो, समाचारको खोजीमा जाँदैगर्दा । अब, खुल्ला दिसामुक्त अभियानका सन्दर्भमा, समुदायमा जानु र सूचना संकलन गर्नुमात्र आफ्नो सरोकारको विषय बनेन । यस अभियानमा एक कर्ताको रुपमा आफ्नो भूमिकालाई विस्तार गर्न थालियो, हामी झापाली सञ्चारकर्मीहरुले ।

अहिलेसम्मका बहानावाजीमा चित्त बुझ्न छोड्यो । समुदायको ‘भर्सन’ लिनुभन्दा पनि समुदाय रुपान्तरण हुनुपर्छ र त्यसमा हाम्रो पनि भूमिका हुनुपर्छ भन्ने मान्यताले हामीलाई डो¥याउँदै लग्यो । त्यसैले, नजानिदो तरिकाले, हामी पनि सञ्चारकर्मीबाट अभियानकर्मी बन्न पुग्यौं, सरसफाइको नसा चढेपछि ।


हामी आवद्ध भएको सञ्चार माध्यममा समाचार प्रकाशन प्रसारण गर्नेमात्र अब हाम्रो सरोकारको विषय बनेन । कुन स्थानीय तहमा सरसफाइ प्रवद्र्धनका अवरोधहरु के रहेका छन् र तिनलाई कसरी कम गर्न सकिन्छ भन्नेमा हाम्रो ध्यान केन्द्रित हुन थाल्यो ।

आफू एक विशुद्ध सञ्चारकर्मीमात्र नभै समुदायको सचेत वर्गको प्रतिनिधित्व गर्ने र राज्यको चौथो अंगको प्रतिनिधिको रुपमा आफूलाई लिन थालियो, सामाजिक रुपान्तरणको सन्दर्भमा समेत ।

समुदायले प्रयोग गरिरहेका असुरक्षित चर्पी भत्काउनेदेखि पर्याप्त शौचालय सुविधा नभएका विद्यालयमा तत्कालै बैठक बसाएर, प्रतिवद्धतासहितको निर्णय गराउनेसम्मको भूमिका हामी झापाली सञ्चारकर्मीले निर्वाह गर्न थाल्यौं । यतिबेला, हामी, सरसफाइ प्रवद्र्धनका लागि चढेको नसाकै कारण, सञ्चारकर्मीबाट अभियानकर्मी र रुपान्तरणकर्मीमा बदलिइसकेका थियौं ।


झापाली मिडियाकर्मी हुनुमा गर्व


झापाली मिडियाकर्मी हुनुमा अहिले गर्व लागेको छ : हामीले सामाजिक रुपान्तरणमा एक प्रमुख कर्ताको भूमिकामा रहन पायौं ।

तप्प, दुई थोपा आँसु झरे, गर्वका । सबैको सहकार्य, साझेदारी र एकले अर्कोको भूमिकालाई दिएको उच्च स्थानका कारण नै सबै साझेदारहरुबीच उच्च समझदारी कायम भयो, सहकार्य भयो र सामाजिक रुपान्तरण अभियानका कर्ता बन्न सक्यौं, हामी सबै क्षेत्र ।

सामाजिक परिवर्तनको इतिहासमा एक इँटा थप्ने काममा हाम्रो समेत भूमिका रह्यो । समयक्रममा, कुनै दिन, झापाको सञ्चार माध्यममा सरसफाइ प्रवद्र्धनको समाचार प्रकाशन प्रसारण भएन भने खल्लो लाग्ने अवस्था सृजना भयो । साँच्चै, हामीलाई लत लाग्यो, सरसफाइ र स्वच्छता प्रवद्र्धनको ।


राष्ट्रिय सरसफाइ समन्वय समितिको तत्वावधानमा जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको आयोजनामा झापाको विर्तामोडमा आयोजना गरिएको सरसफाइ प्रवद्र्धन कार्यशालामा राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्यसचिव देवेन्द्रकुमार झा र समाजशास्त्री कमल अधिकारीको भनाइले झापाली सञ्चारकर्मी हुनुमा गर्वको महसुस भयो ।

उहाँहरुको निस्कर्ष थियो, “कुनै पनि सामाजिक अभियानमा एक वर्षको अवधिमा यति समाचार लेखिएको, यो एकमात्र र उच्च हो । खुल्ला दिसामुक्त अभियानका सन्दर्भमा त झापाली सञ्चार माध्यम र यहाँका सञ्चारकर्मीहरुले आफ्नो भूमिकालाई नेपालमै सबैभन्दा उच्च भएको प्रमाणित गरिदिनुभएको छ ।” तप्प, दुई थोपा आँसु झरे, गर्वका । सबैको सहकार्य, साझेदारी र एकले अर्कोको भूमिकालाई दिएको उच्च स्थानका कारण नै सबै साझेदारहरुबीच उच्च समझदारी कायम भयो, सहकार्य भयो र सामाजिक रुपान्तरण अभियानका कर्ता बन्न सक्यौं, हामी सबै क्षेत्र ।


अभियान निरन्तरताको आवश्यकता


खुल्ला दिसामुक्त घोषणा त पूर्ण सरसफाइ अभियानको पहिलो पाइलामात्र हो । झापा जिल्लामा, घरायसी तहमा हेर्दा, शौचालयमा सबैको पहुँच त पुगेको छ । तर, पहुँच पुग्दैमा सबैले यसको, समुचित तरिकाले प्रयोग गर्छन् नै भन्ने छैन ।

बनेका शौचालयहरु पनि परिवार संख्याका आधारमा पर्याप्त छन् कि छैनन्, प्रयोगकर्तामैत्री छन् कि छैनन्, प्रयोग भैरहेका छन् कि छैनन्, तिनको अवस्था र स्तरोन्नति भैरहेको छ कि छैन भन्ने कुरा महत्वपूर्ण हुन्छ ।


त्यसैले, खुल्ला दिसामुक्त घोषणापश्चात् त्यत्तिकै सेलाउने हो भने नेपालको संविधान, संयुक्त राष्ट्रसंघले घोषणा गरेको दिगो विकास लक्ष्यका मूलभूत मान्यता प्राप्त नहुन सक्छन् । सरसफाइ प्रवद्र्धनका लागि सामाजिक, प्राविधिक, वैधानिक र सहजीकरणको पक्ष निरन्तर अघि बढेनन् भने तराई मधेश क्षेत्रमा आउने वर्षाको बाढीभन्दा फरक नहुन सक्छ, यो खुल्ला दिसामुक्त घोषणा ।


पक्कै पनि, एक पटकका लागि निर्माण गरिएका होइनन्, यहाँका शौचालयहरु । तिनको दिगो र समुचित प्रयोगका लागि बनेका हुन् यहाँका सरसफाइ तथा स्वच्छता प्रवद्र्धनका संरचनाहरु । नेपाल संघीय संरचनामा रुपान्तरित भैसकेको सन्दर्भमा, यसको सुनिश्चितता गर्नु सम्बन्धित स्थानीय तहको दायित्व हुन आउँछ भने सहजीकरण, खवरदारी र साझेदारी गर्नु सञ्चार क्षेत्र र गैरसरकारी क्षेत्रको दायित्वभित्र पर्दछ ।


सञ्चार क्षेत्रले पनि यी र यस्तै सवालहरुमा निरन्तर, समालोचनात्मक र प्रवद्र्धनात्मक रुपमा कलम चलाउँदै जान सकेमा, खुल्ला दिसामुक्त अभियानको सन्दर्भमा हामीले चलाएको कलमको सार्थकता हुनेछ, सामाजिक परिवर्तनको दिगोपन हुनेछ ।

रुपान्तरणको यस पवित्र अभियान निरन्तर सहजीकरणको अभावमा फेरि समुदाय दिसा पिसाव गर्नका लागि झाडी र खोल्सीहरुमा गएको समाचार लेख्नु नपरोस्, खोलाका किनार दिसाले भरिएको देख्न नपसोस्, कोही पनि खुल्लामा दिसा गर्दा पक्राउ परेको सुन्नु नपरोस्, कोही पनि बालबालिका झाडापखाला र सरसफाइजन्य रोगबाट विरामी परेको र मृत्यु भएको समाचार प्रकाशन प्रसारण गर्न नपरोस् । एक सञ्चारकर्मी, झापाको सन्दर्भमा, सामाजिक रुपान्तरणकर्मी, र सञ्चार क्षेत्रको तर्फबाट सतत् कामना छ ।


(लेखक, निर्माण लहर साप्ताहिकका सम्पादक र सरसफाइ प्रवद्र्धन मिडिया मिसनका सदस्य हुनुहुन्छ)


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार