छाउगोठमा सालाखाला बार्षिक २ जनाको मृत्यु, २१ जना अछामका मात्र

 1316 पटक हेरिएको
🔗
4
Shares

काठमाडौ : महिनावारी भएको समयमा अलग्गै गोठमा बस्दा बार्षिक २ जनाको अनुपातमा ज्यान गुमाउने गरेको तथ्य सार्वजनिक भएको छ । सामुदायिक सूचना नेटवर्क (सिआईएन) ले गरेको एक अध्ययनले २०६३ सालदेखि २०७५ सालसम्म छाउगोठमा बसेकै कारण २१ जनाले ज्यान गुमाएको तथ्य भेटिएको हो । ती मध्ये २१ जना अछामका मात्र छन् ।


महिनावारी स्वच्छता व्यवस्थापन सञ्जालको १२ औं बैठकमा सिआईएन की पत्रकार गीता चिमोरियाले छाउपडी प्रथाको अवस्थाका विषयमा गरिएको अध्ययन र यसको निचोडबारे प्रस्तुत गर्नुभएको हो । उहाँले सुदुरपश्चिमका ९ र कर्णाली प्रदेशका १० गरी १९ जिल्लामा छाउपडी प्रथाबाट महिलामा जीवन माथि पर्ने खतरा र वर्तमान अवस्थाका बारेमा अध्ययन गर्नुभएको थियो ।


अध्ययनका क्रममा अछाममा सबैभन्दा छाउपडी प्रथा अंगालेको पाइएको र अछामसँगै जोडिएका दैलेखमा पनि यसको प्रभाव रहेको पत्रकार चिमोरियाले बताउनुभयो । दैलेखमा गाउँपालिकाका उपप्रमुख तथा शिक्षिका समेत महिनावारी भएको समयमा गोठमा सुत्ने गरेको भेटिएको उहाँले बताउनुभयो ।


महिनावारी व्यवस्थापनको क्षेत्रमा धेरै संघसंस्थाले धेरै बर्षदेखि काम गर्दै आएको भएपनि यस क्षेत्रमा खासै उपलब्धीमूलक काम नभएको उहाँले बताउनुभयो । ‘म दश बर्ष अघि पनि छाउगोठमा कठङ्ग्रिएर महिलाको ज्यान गयो भनेर समाचार भन्थें, आज पनि त्यही समाचार भन्नुपरेको छ, हामीले छाउगोठ भत्कायौं, तर मनको गोठ भत्काउन सकेनौं, त्यसले अब परम्परागत तरिकाले होइन, नयाँ तरिकाले अभियान सञ्चालन गर्नुपर्छ’ उहाँले भन्नुभयो ।


महिनावारी स्वच्छता व्यवस्थापन सञ्जालले सरोकारवाला मन्त्रालयसँग गर्न सकिने सहकार्यबारे जानकारी लिने उद्देश्यले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र खानेपानी मन्त्रालयका अधिकारीहरु सहितको बैठक आयोजना गरेको हो ।


बैठकमा खानेपानी मन्त्रालयका सहसचिव मनोज घिमिरेले महिनावारी स्वच्छता व्यवस्थापन महिलाको मात्र नभई पुरुषको पनि उत्तिकै सरोकारको बिषय भएको बताउनुभयो ।

उहाँले महिनावारी स्वच्छता व्यवस्थापनमा पनि सरकारको नेतृत्वमा एकद्वार प्रणाली अपनाएर जान सके गाह्रो विषय नभएको बताउनुभयो । सरसफाइ अभियानबाट प्राप्त उपलब्धीको बारेमा जानकारी दिदै उहाँले सोही मोडल महिनावारी स्वच्छता व्यवस्थापनमा पनि प्रयोग गर्न सके सुनमा सुगन्ध हुने बताउनुभयो ।


कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रकी पाठ्यक्रम अधिकृत सुमन अधिकारी सिलवालले अहिलेसम्मको पाठ्यक्रममा महिनावारी स्वच्छता व्यवस्थापनलाई कम प्राथमिकता दिएको उल्लेख गर्दै अहिले उठिरहेको बिषयलाई पाठ्यपुस्तकमा समावेश गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


यस्तै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्माले महिनावारी भएको समयमा गोठमा सुत्नुको कारणबारे जड कुरा पत्ता लगाएर त्यसको न्यूनीकरण गर्न कार्यक्रमहरु सञ्चालन हुनुपर्ने बताउनुभयो ।


उहाँले मन्त्रालयबाट गरिएको अपेक्षा र महिनावारी व्यवस्थापनको क्षेत्रमा क्रियाशील संघसंस्थाले गरिरहेको कामबारे थप छलफलको आवश्यकता रहेको र छाउपडी जस्तो कुप्रथा अन्त्यका लागि मन्त्रालय दृढ रहेको बताउनुभयो ।


बैठकका सहभागीले ऋषि पञ्चमीमा अघिल्लो बर्ष कटौती गरेको बिदा किन कटौती नगरेको ? संसदीय समितिले किन छाउगोठ बनाउन प्रेरित गरेको ? के सरकारले नै छाउपडी प्रथालाई संस्थागत गर्न खोजेको हो ? भनेर प्रश्न गरेका थिए ।


महिनावारी स्वच्छता व्यवस्थापन सञ्जालमा महिनावारी स्वच्छता व्यवस्थापनको क्षेत्रमा कार्यरत ५० भन्दा बढी संघसंस्था आबद्ध छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार