काठमाडौ : महिला अधिकारकर्मी एवं छाउपडी प्रथा विरुद्धका अभियन्ताहरु छाउगोठ भत्काउन तल्लीन छन् । कर्णाली तथा सुदुरपश्चिम प्रदेशका कतिपय जिल्लामा छाउगोठमुक्त गाउँपालिका, वडा तथा गाउँ घोषणा भएका छन् र यो अभियान अहिले पनि चलिरहेको छ ।
छाउगोठ भत्काएपनि महिनावारी भएको समयमा ओढार तथा घरबाहिर पाल टाँगेर बसेका कयौं घटनाहरु सार्वजनिक भएका छन् । यी घटनाहरुले पनि छाउगोठ भत्काएर मात्र छाउपडी प्रथा हट्दै जान्छ भन्ने धारणा गलत भएको र यसका लागि छाउपडी प्रथा बिरुद्धका सचेतना अभियान नै सञ्चालन गर्नुपर्छ भन्ने आवश्यकता बोध गराएको छ ।
तर स्वास्थ्य सेवा विभागको सामाजिक सुरक्षा शाखाका प्रमुख डा माधव लम्सालले भने ‘सामुदायिक छाउगोठ’ बनाउनुपर्ने प्रस्ताव गर्नुभएको छ । उहाँका अनुसार यो छाउपडीलाई संस्थागत गर्नका लागि होइन, बरु छाउपडी प्रथा विरुद्ध महिलाहरुमा जागरण ल्याउन र बिस्तारै छाउपडी प्रथा अन्त्य गर्नका लागि हो ।

‘कुनै एउटा गाउँपालिकामा सुविधा सम्पन्न राम्रो छाउगोठ बनाऔं, त्यहाँ महिनावारी भएको समयमा गाउँभरिका महिलाहरु बस्न आउन, त्यही बस्ने सुत्ने मात्र होइन, कपडा धुने, नुहाउने, तातोपानी, चिसो पानीको बन्दोबस्त भएको घर बनाऔं’ डा. लम्सालको प्रस्ताव छ ।
उहाँले सामुदायिक छाउगोठलाई बर्थिङ सेन्टरकै अवधारणामा लैजान आग्रह गर्नुभयो । ‘जसरी बर्थिङ सेन्टरमा बच्चा जन्माउँदा सुत्केरी र नवजात शिशुले आफू सुरक्षित रहेको महसुस गर्छन् सामुदायिक छाउगोठमा बस्न आउने महिलाले पनि त्यस्तै सुरक्षित महसुस गरुन्’ उहाँले भन्नुभयो ।
अहिलेसम्म यत्ति वटा छाउगोठ भत्काइए भनेर रिपोर्ट बनाउने काम मात्र भएको र यसले छाउप्रथा प्रतिको धारणा नहट्ने उहाँको भनाई थियो । ‘अब पुरानो ढर्राले चल्दैन, सरकारी तथा गैरसरकारी संस्थाको पहलमा एउटा गाउँमा सामुदायिक छाउगोठ बनाऔं, त्यहाँ कम्युनिटी नर्सको व्यवस्था गरौं, खाना पनि छाउ भएका महिलाहरुलाई नै पकाउन दिउँ, त्यही छाउगोठमै मन्दिर बनाऔं, बिहान बिहान मन्दिरमा पूजा गर्न पनि दिऔं’ डा. लम्सालले भन्नुभयो ‘सामुदायिक छाउगोठमा आफैले खाना पकाउँदा, मन्दिरमा पूजा गर्दा, पानी छुँदा केही हुँदैन भने घरमा गर्दा के असर गर्छ ? भनेर महिलाहरु आफ्नै घरमा पनि बस्न प्रेरि हुन्छन् ।’
महिनावारी स्वच्छता व्यवस्थापन सञ्जालले केही दिन अघि आयोजना गरेको कार्यक्रममा स्वास्थ्य सेवा विभागको सामाजिक सुरक्षा शाखाका प्रमुख डा. लम्सालले सामुदायिक छाउगोठ बनाउन जोड दिदै भन्नुभयो ‘कुनै एउटा गाउँपालिका छनौट गरौं, बनाऔं र त्यस गाउँपालिकालाई विभेदरहित गाउँ बनाऔं ।
यो सन्देश बिस्तारै अन्य गाउँपालिकामा पनि फैलिदै जानेछ । मलाई लाग्छ, महिनावारी प्रतिको गलत धारणामा कमी ल्याउन र छाउपडी प्रथा हटाउँदै लैजान यसले राम्रै प्रभाव पार्न सक्छ ।’


3439 पटक हेरिएको 

