खानेपानी मन्त्रीको एक वर्षे कार्यकाल : बैदेशिक ऋण सम्झौतादेखि नीति बनाउनेसम्म

काठमाडौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको एक बर्ष पूरा भएको छ । तर मन्त्री बीना मगरले खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेको ११ महिना मात्र पुगेको छ ।

उहाँ २०७४ चैत २ गते खानेपानी मन्त्रीमा नियुक्त हुनु भएको थियो । खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेपछि उहाँले देशभर ठूला साना गरी ५ सय १८ वटा खानेपानी आयोजना सम्पन्न गरेको मन्त्री मगरको सचिवालयले जनाएको छ ।


मन्त्री मगरले ११ महिनाको अवधिमा निम्न कामहरु सम्पन्न गरेको दाबी उहाँको सचिवालयले गरेको छ ।


मेलम्चीको काममा ऐतिहासिक सफलता

मेलम्ची आयोजना राष्ट्रिय गौरवको आयोजना हो । यो ११ महिनाको अवधिमा मेलम्चीको काम धेरै अगाडि बढेको सचिवालयको दाबी छ । २७ वर्षदेखि सुरु भएको मेलम्ची आयोजनाको काम बितेको एघार महिनामा यति धेरै प्रगति होला भन्ने कसैले सोचेका थिएनन् । वर्षौ वर्ष लगाएर २७ किलोमिटर लामो सुरुङ खन्ने काम सकिएपछि यसको ढलान अर्थात् फिनिसिङ गर्ने काम अब १ किलो मिटर पनि छैन । २७ किमी लामो सुरुङको फिनिसिङ गर्ने काम गएको एघार महिनामा यति धेरै हुनु आफैंमा महत्वपूर्ण उपलब्धि हो । मेलम्ची आयोजनाको भौतिक प्रगति ९६ प्रतिशत सकिएको सचिवालयको दाबी छ ।


खानेपानी मन्त्रीमा उहाँ नियुक्त हुनुभएको २५ दिन पछि बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्ग खन्ने काम सकिएको थियो । २०७४ चैत २७ गते सुरुङ मार्गको ब्रेक थ्रु भएको हो ।


यद्यपि मुखैमा आएको मेलम्चीलाई अनिश्चितता तर्फ धकेलिनुमा मन्त्री मगर र खानेपानी सचिव गजेन्द्र ठाकुर नै मुख्य जिम्मेवार रहेको भन्दै सञ्चारमाध्यम सामाजिक सञ्जालमा उहाँको आलोचना हुँदै आएको छ ।


५ सय १८ वटा खानेपानी आयोजना सम्पन्न

अहिले सरकार गठन भएको एक वर्ष पुगेको छ । यो एक वर्षको अवधिमा मेलम्ची आयोजना बाहेक खानेपानी मन्त्रालय अन्तर्गतका निकायहरुले देशभरि नै साना ठूला गरी ५ सय १८ वटा खानेपानीका आयोजनाहरु सम्पन्न गरिसकेको मन्त्रालयको दाबी छ ।


खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत ७७ जिल्लामा सञ्चालित क्रमागत उच्च प्रविधियुक्त केन्द्रीय खानेपानी आयोजनाहरु मध्ये १ सय १० आयोजनाहरु सम्पन्न भईसकेका र यसबाट १ लाख ८३ हजार ४५५ जनसंख्या लाभान्वित भएको मन्त्रालयले जनाएको छ ।
विभाग अन्तर्गतकै खानेपानी तथा सरसफाई सहलगानी कार्यक्रमले ९ वटा र तेस्रो साना सहरी खानेपानी आयोजना कार्यालयले ४ वटा आयोजना सम्पन्न गरिसकेका छन् ।


सहलगानी अन्तर्गत नवलपरासीको अमरापुरी, मोरङको मानगढ, उर्लावारी, झापाको चन्द्रगढी, रुपन्देहीको प्रगतिनगर, नयाँगाउँ, चितवनको रत्ननगर, धनगढा र पर्सामा खानेपानी आयोजनाहरु सम्पन्न भईसकेका छन् । त्यसैगरी यो एक वर्षको अवधिमा तेस्रो साना सहरी खानेपानी आयोजना अन्तर्गत सल्यानको खलंगा शितलपाटी, झापाको चारआली, कैलालीको टिकापुर र सुनसरीको महेन्द्रनगरमा खानेपानी आयोजनाहरु सम्पन्न भईसकेको मन्त्रालयले जनाएको छ ।

३५ वटा सहरी तथा अर्ध सहरी खानेपानी आयोजना सम्पन्न


यो एक वर्षको अवधिमा ३५ वटा सहरी तथा अर्ध सहरी खानेपानी आयोजनाहरु सम्पन्न भई ३ लाख ८७ हजार ५ सय ८२ जनसंख्या उच्च तथा मध्यमस्तरको खानेपानी सेवाबाट लाभान्वित भएका छन् ।

उता भूकम्पबाट क्षतिग्रस्त भएका आयोजनाहरु मध्ये ३ सय ६० वटा आयोजनाहरुको पुननिर्माण तथा पुनस्थापना कार्य सम्पन्न भईसकेको छ । यी आयोजनाहरुबाट १ लाख ५२ हजार २१४ जनसंख्या लाभान्वित भएका छन् ।


एक वर्षमा १७ जिल्ला खुला दिसामुक्त घोषणा

गएको एक वर्षको अवधिमा मन्त्रालयले खानेपानी आयोजनाहरुको निर्माण बाहेक अन्य थुप्रै कार्यक्रम तथा योजनाहरु सम्पन्न गरेको मन्त्रालयको दाबी छ । जसमा एक वर्षमा १७ जिल्लाहरु खुला दिसा मुक्त घोषणा भई हालसम्म ६३ जिल्लाहरु खुला दिसामुक्त क्षेत्र घोषणा भएका छन् ।


त्यस्तै यो अवधिमा एसियाली विकास बैंकको सहयोगमा देशभरका विभिन्न २० वटा सहरहरुमा आयोजना निर्माण तथा खानेपानी तथा सरसफाइको दिगो व्यवस्थापनको लागि १७८ दशमलब ५ मिलियन अमेरिकी डलर बराबरको ऋण सम्झौता भएको छ ।

९ वटा पानीपोखरी निर्माण


काठमाडौं उपत्यकाका हकमा मन्त्रालयको निर्देशनअनुसार काठमाण्डौ उपत्यका भित्र ९ वटा पानीपोखरी निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । गुहेश्वरी स्थित फोहोरपानी प्रशोधन केन्द्रको भौतिक प्रगति यस अवधिमा २० प्रतिशत थप भइ करिब ८० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।


निर्माणाधीन मनोहरा, हनुमन्ते तथा खस्याङखुसुङ नदीहरुको दुवै किनारमा जम्मा ४५ किलोमिटर मध्ये ११ दशमलब ०९ कि मि ढल बिछ्याउने कार्य सम्पन्न भएको छ । ललितपुरको बालकुमारी (कोड्कु) स्थित १ करोड ७५ लाख लिटर प्रतिदिन क्षमताको फोहोर पानी प्रशोधन केन्द्र निर्माणको शिलान्यास समेत भएको मन्त्रालयले जनाएको छ ।


यस अवधिमा काठमाण्डौं उपत्यका भित्र चार हजार धारा वितरण गरी करिब ४० हजार जनसंख्या लाभान्वित भए । काठमाण्डौ उपत्यका भित्र खानेपानीको वितरण प्रणालीबाट वितरण हुन नसकेका स्थानहरुमा निशुल्क रुपमा ४ हजार ३ सय ३० ट्यांकर खानेपानी वितरण गरिएको छ ।


२४ सहरमा थप ६ हजार निजी धारा जडान


यस अवधिमा राजविराज, लाहान र नेपालगंजमा ४५० घन मिटर क्षमताको पानी पोखरीको निर्माण कार्य सम्पन्न भयो भने काठमाण्डौ उपत्यका बाहिरका २४ वटा सहरहरुमा थप ६ हजार निजी धारा वितरण गरी ३५ हजार जनसंख्या लाभान्वित भए ।


ढल नीति स्वीकृत, खानेपानी तथा सरसफाइ विधेयक तयार


खानेपानी मन्त्रालयले यस अवधिमा केही उल्लेखनीय कार्यहरु गरेको छ जस अन्तर्गत पहिलोपटक ढल नीति तयार भई स्वीकृत भईसकेको छ । यो ढल नीति अनुसार प्रशोधन गरेर मात्रै ढल मिसाउन पाईने र ढलको प्रशोधन अनिवार्य गर्नुपर्ने उल्लेख छ ।


खानेपानी तथा सरसफाइको क्षेत्रमा पहिलो पटक मुल विधेयक तयार भएको छ । पहिलो पटक मन्त्रालयले खानेपानीको क्षेत्रमा मुल ऐन बनाएको हो । यो विधेयक स्वीकृत हुने अन्तिम तयारीमा रहेको छ ।


लगानी जुटाउन विदेशी कम्पनीहरुसँग छलफल


संघ अन्तर्गत राष्ट्रिय महत्वका ठूला खानेपानीका आयोजनाहरुमा लगानी जुटाउने विषयमा केही विदेशी कम्पनीहरुसँग छलफल र परामर्श भएका छन् ।

भक्तपुरको महादेवखोला ईम्पाउन्डिङ रिजर्भवायर खानेपानी आयोजना, दाङको पातुखोला, सुर्खेत भ्याली बृहत खानेपानी आयोजना, बबई थोक वितरण र नारायणी थोक वितरण खानेपानी आयोजनाहरुमा लगानी जुटाउने सन्दर्भमा मोडालिटीको विषयमा प्रधानमन्त्री कार्यालयले ऐन बनाउने तयारी गरिरहेको छ ।


२०७२ सालमा नयाँ संविधान जारी भएपछि तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले खानेपानी तथा सरसफाइ मन्त्रालय गठन गरेको थियो । यो मन्त्रालय गठन भएको ३ वर्ष पुरा भईसकेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार