जनकपुर : प्रदेश २ सरकारले बारा र पर्सामा हुरीबतासले बास गुमाएकालाई शौचालय सहितको चारकोठे घर बनाइदिने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले हावा हुरीका कारण बस्नै नमिल्ने गरी भत्किएका घरहरु प्रदेश सरकारले बनाईदिने बताउनुभयो ।
बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मन्त्री यादवले शौचालय सहितको चार कोठे घर चार महिनाभित्रै बनाइसक्ने दाबी गर्नुभयो । प्रदेश सरकारले बनाउने घरमा शौचालय सहित भान्सा कोठा र अन्य ३ वटा कोठा हुनेछन् ।
त्रिपालमुनी रहेका हावाहुरी प्रभावितलाई गर्मीका कारण समस्या भइरहेकाले केही दिनभित्रै टेन्टभित्र सारिने उहाँले बताउनुभयो । प्रभावित क्षेत्रमा लामखुट्टेको प्रकोप अत्यधिक देखिएकाले झुल पठाइ सकिएको उहाँले प्रदेससभालाई जानकारी गराउनुभयो ।
आन्तरिक मामिला मन्त्री यादवका अनुसार बारामा ९ सय ५८ परिवारको घर पूर्ण रुपले भत्किएका छन् भने ९ सय २२ को आंशिक रुपले क्षति भएको छ । यस्तै पर्सामा १ सय २२ घर पूर्ण रुपले र ३ सय ८७ घर आंशिक रुपले क्षतिग्रस्त भएको छ ।
हरेक वस्तीमा ट्युवेल
प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री यादवले हावाहुरीका कारण प्रभावित क्षेत्रमा बत्तिको समस्या भएको भन्दै तीन दिनभित्र बत्ति बाल्ने काम सम्पन्न गर्ने गरी काम भइरहेको जानकारी दिनुभयो । यसका निम्ति वैकल्पिक उर्जाको क्षेत्रमा काम गर्नेहरुसँग कुरा भइसकेको उहाँले बताउनुभयो ।
प्रभावित वस्तीमा खानेपानीको अभाव हुन नदिन प्रभावित वस्तीमा ट्युववेलको व्यवस्था गरिएको उहाँले जानकारुी गराउनुभयो । नाए । ‘हरेक वस्तीमा दुई वटा ट्युववेल जडान गरिएको छ’ उहाँले भन्नुभयो ।


966 पटक हेरिएको 

