दाङ : दाङको बराह क्षेत्र प्राथमिक विद्यालयका विद्यार्थी शौच गर्न जंगलमा जाने गरेका छन् भने खानेपानी पनि खोलाकै पिउन बाध्य छन् । जिल्ला खुला दिसामुक्त घोषणा भएको लामो समय भइसक्दा समेत घोराही उपमहानगरपालिका–५ बसेरी खोलामा रहेको बराह क्षेत्र प्राथमिक विद्यालयका विद्यार्थी जंगलमा दिसापिसाबसँ गै खोलाको पानी पिउन बाध्य भएका हुन् ।
विद्यालयमा पानीको व्यवस्था नहुँदा दिसापिसाब गर्न समेत जंगलमा जाने गरेको विद्यार्थीहरू बताउँछन् । विद्यालयमा पिउनका लागि पानीको प्रबन्ध नहुँदा करिब १५ देखि २० मिनेट लगाएर खोलामा खनिएको जरुवावाट पानी ल्याउनु पर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक इन्द्रिरा खड्काले बताउनुभयो । ट्याङ्कीमा पानी आउन छोडेपछि विद्यार्थीसँगै शिक्षक पनि खोलाकै पानी पिउन बाध्य छन् । विद्यालयसँग आर्थिक स्रोत नहुँदा बिग्रिएको खानेपानीको पाइप बनाउन समेत नसकेको विद्यालयले जनाएको छ ।
२७ जना विद्यार्थीले अध्ययन गर्ने विद्यालयमा पानी पर्दा पानी पिउन समेत समस्या हुने गरेको छ । पानी परेपछि खोलामा आउने भलका कारण जरुवा पुरिने वा पानी धमिलो हुने हुँदा समस्या हुने गरेको प्रअ खड्काले बताउनुभयो ।
विद्यालयमा पानीको व्यवस्था नहुँदा विद्यार्थी जंगलमा गएर दिसापिसाब गर्छन्। विद्यालयमा एउटा शौचालय छ तर पानीको अभावमा प्रयोगमा आएको छैन । विद्यालयमा शिक्षक–विद्यार्थीको सहजताका लागि बिग्रिएको खानेपानी ट्यांकी निर्माणमा व्यवस्थापन समितिले समेत पहल थालेको छैन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसीराम पुनले स्थानीय नजुट्दा बिग्रिएको खानेपानी ट्यांकीको पाइप बनाउन नसकेको बताउनुभयो ।
बिग्रिएको खानेपानीको पाइप एक्लै बनाउन नसकिने र गाउँलेलाई बोलाउँदा कोही नजुट्ने भएकाले ट्यांकीमा पानी आउन छाडेको बताउनुभयो। विद्यालयको आर्थिक स्रोत नहुँदा सात वर्ष पहिले निर्माण भएको दुईकोठे पक्की भवनको अहिलेसम्म झ्यालढोका समेत छैन ।


765 पटक हेरिएको 

