सरसफाइमा सोलुखुम्बु : ‘बारा’ भन्दा पनि पछाडि

सोलुखुम्बु : सोलुखुम्बु पर्वतारोहण, दृश्यावलोकन र पदयात्राका लागि विश्वकै उत्कृष्ट पर्यटकीय जिल्ला हो । हरेक बर्ष ५० हजार भन्दा बढी विदेशी पर्यटकले सोलुखुम्बुलाई गन्तव्य बनाउँदै आएका छन् । पर्यटनसँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाले गरेको अध्ययनमा समेत सोलुखुम्बुको सगरमाथा क्षेत्र उत्कृष्ट गन्तव्यको रुपमा सूचीकृत हुँदै आएको छ ।

विश्वकै मानिसहरु भेला हुने जिल्ला सोलुखुम्बु, सरसफाइमा सबैभन्दा पछाडि रहेको कुरा सुन्दा तपाईलाई विश्वास नलाग्ला ? तर सत्य हो कि हिमाली तथा पर्यटकीय जिल्ला सोलुखुम्बु सरसफाइमा सबैभन्दा पछाडि परेको छ ।

यसकारण सोलुखुम्बु सरसफाइमा कमजोर

सरसफाइ अभियन्ताले पनि प्रदेश २ को बारा जिल्लालाई सरसफाइमा पछाडि परेको जिल्ला भनेर चिनाउँदै आयौं । देशकै सरसफाइको आँकडाले पनि बारालाई नै सरसफाइमा कमजोर देखायो ।

चर्पी भएको घरको प्रतिशतलाई मात्र आधार मान्दा त्यो केही हद सम्म ठिकै होला तर समग्र सामाजिक, परम्परागत, सामाजिक मूल्य मान्यता र संस्कारगत कारणहरु केलाउने हो भने सोलुखुम्बुको तुलनामा सरसफाइमा सबैभन्दा पछाडि परेको भनिएको बाराले धेरै प्रगति गरेको छ ।

सोलुमा १२ हजार चर्पी बन्दा बारामा ६० हजार बने

 

सरसफाइ गुरुयोजना लागु भएको बर्ष सन् २०११ मै सोलुखुम्बुको ४९.९ प्रतिशत घरमा शौचालय निर्माण भइसकेको थियो । करिब २४ हजार घरधुरी रहेको सोलुखुम्बुमा ८ बर्ष अर्थात सन् २०११ देखि २०१९ को बीचमा १२ हजार घरमा मात्र चर्पी बनेको देखिन्छ ।

सन् २०११ मा ३० प्रतिशत नागरिकको घरमा मात्र चर्पी बनेको बारामा भने ८ बर्षको अवधिमा ६० हजार १५२ वटा चर्पी बनेका छन् । सन् २०११ मा ३१ हजार ११२ घरमा मात्र शौचालय रहेको बारामा अहिले ९१ हजार २६४ घरमा चर्पी निर्माण भइसकेका छन् । सोलुखुम्बुमा भन्दा चार गुणा बढी घरपरिवार रहेको बाराको १ लाख ३ हजार ७०९ घरधुरी मध्ये अब १२ हजार घरमा मात्र चर्पी बनाउन बाँकी छ ।

सरसफाइ गुरुयोजना २०६८ ले सोलुखुम्बुमा सन् २०१५/०१६ मै ८५ प्रतिशत चर्पी निर्माण गरी सन् २०१७ मा सत प्रतिशत घरमा चर्पी निर्माण गर्ने लक्ष्य राखेको थियो । तर १०० प्रतिशत सरसफाइ कभरेज पु-याएको महिनौं बितिसक्दा समेत सोलुखुम्बु खुला दिसामुक्त घोषणा हुन सकेको छैन ।

चितवन, कास्की जस्ता जनघनत्व बढी भएका जिल्लाहरु सरसफाइ अभियानको सुरुवातका बर्षमै खुला दिसामुक्त भए । सरसफाइको पुछारमा रहेका कालिकोट जिल्ला, राजधानीबाट अति टाढा रहेको हुम्ला, मुगु र जुम्ला समेत खुला दिसामुक्त घोषणा हुँदा पनि सोलुखुम्बुले खुला दिसामुक्त जिल्लाको पहिचान बनाउन सकेन ।

सिरहा, सप्तरी, रौतहट जस्ता जिल्ला, जहाँ खुला ठाउँमा दिसा गर्नुलाई संस्कारगत छुट हुने मान्यता राख्ने जिल्लाले समेत खुला दिसामुक्त घोषणाको झण्डा फहराउँदा पनि सोलुखुम्बु मस्त निंद्रामा छ । अझ सोलुखुम्बुको सदरमुकाममा रहेका सबै घरमा सेफ्टी ट्याङ्क बनाएर मात्र जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने अडान लिएर बसिरहेको छ ।

खुला दिसामुक्त भनेको दिसा लुकाउने अभियान हो । जुन काम विगत लामो समयदेखि जिल्लाबासीले गर्दै आएका छन् । दिसाजन्य लेदो व्यवस्थापन र फोहोरपानीलाई प्रशोधन गरेर मात्र बिसर्जन गर्ने काम पूर्ण सरसफाइ (सफा र स्वच्छ) अभियानले क्रमशः समेट्दै लैजाने हो ।

बर्षौ अघि निर्माण गरेका शौचालयको स्तरोन्नति, सुरक्षित चर्पी, सुरक्षित पानी, सुरक्षित खाना, साबुन पानीले हात धुने, सफा र स्वच्छ वातावरण कायम राख्ने काम पनि पूर्ण सरसफाइकै क्रममा समेट्दै लगिने भएकाले अहिले नै सबै सूचकहरु पूरा गरेर मात्र खुला दिसामुक्त जिल्ला घोषणा गर्ने भन्ने शर्त राम्रो भएपनि समग्र राष्ट्रलाई नै खुलादिसामुक्त घोषणा गर्ने अभियानमा भने बाधक हुन सक्छ । यसले पर्यटकीय जिल्ला सोलुखुम्बु सरसफाइमा निक्कै पछाडि छ भन्ने गलत सन्देश समेत प्रवाह हुने भएकाले १०० प्रतिशत घरमै शौचालय निर्माण भइसकेको सोलुखुम्बुलाई खुला दिसामुक्त घोषणा गर्नु बिलम्ब गर्नुहुँदैन ।

सरकारले चालु आर्थिक बर्षभित्रै सबै जिल्लालाई खुला दिसामुक्त घोषणा गरी राष्ट्रलाई नै सरसफाइयुक्त देश घोषणा गर्ने लक्ष्य राखेको छ । यो लक्ष्य प्राप्तिमा सहयोगी बन्न र जिल्लाको साख बचाउन पनि जिल्लालाई खुला दिसामुक्त घोषणा गर्नैपर्छ । यसमै छ सोलुखुम्बुको पहिचान, इज्जत र गौरव ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार