सरसफाइ र स्वच्छता प्रबर्धनका १२ वटा बाधक तत्वहरु

पी.टी.लोप्चन

केही दिन अघि खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा कार्यरत संघसंस्थाहरुको अनुभव आदानप्रदान कार्यक्रम भइरहेको थियो । खानेपानी तथा ढल व्यवस्थापन विभागका समाजशास्त्री कमल अधिकारीले एउटा बढो चाखलाग्दो घटना सुनाउनुभयो ।

भएको के रहेछ भने सन् २००० मा जाइका प्रोजेक्ट मार्फत तालिम लिएका व्यक्तिहरु अहिले के काम गर्दैछन् भनेर जापानिजहरु खानेपानी विभाग पुगेछन् । जापानिजको यस्तो कुरा सुनेर समाजशास्त्री अधिकारी र विभागका उपमहानिर्देशकलाई उत्तर दिन पनि आच्छु आच्छु भएछ ।

 

एकछिन मनमनै सोचेपछि ……‘तालिम लिएको झण्डै २० बर्षै हुन लागेकाले कहाँ कहाँ छन् भन्ने सबै एकीन नभएपनि उनीहरुले तालिमपछि आफूले जानेको कुरा अरुलाई पनि सिकाएका छन्, तालिम साह्रै प्रभावकारी भएको भन्ने बुझेका छौ’ बनावटी जवाफ दिएर जापानिजहरुलाई फर्काउनु भएछ ।

यो घटनाले जापानिजहरु अर्थात बाहिरी मुलुकमा तालिम लिएका व्यक्तिहरु के गरिरहेका छन् भनेर खोजी गरिरहन्छन् । जुन जापानले खोज्यो । तर नेपालमा भने यस्तो प्रणाली छँदै छैन । आज तालिम लियो, प्रशंसा वा प्रमाणपत्र लिएर फर्केपछि तालिम पछिको अनुगमन पिटिक्कै छँदैछैन ।

वास सेक्टरको अनुभव आदानप्रदान कार्यक्रममा विभागमा समाजशास्त्री अधिकारी खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रको अवरोधक वा बाधक तत्वका बिषयमा सहजीकरण गर्दै हुनुहुन्थ्यो । उहाँका अनुसार वास क्षेत्रमा यी र यस्ता थुप्रै बाधकतत्वहरु छन् । जसले सरसफाइको गति जुन रफ्तारमा अघि बढ्नु पर्थ्यो त्यो रफ्तारमा कुद्न दिएको छैन ।

१. क्षमता अभिबृद्धि नहुनु

सन् २०१४ मा जाइका र खानेपानी तथा ढल व्यवस्थापन विभागको तालिम केन्द्रले वास सेक्टरमा तालिमको आवश्यकता पहिचान सम्बन्धी एउटा रिसर्च गरेको थियो । उक्त रिसर्चले वास क्षेत्रमा कार्यरत कर्मचारीहरुको क्षमता बृद्धि हुन नसकेको कुरा औल्याएको थियो ।

२. तालिममा एक रुपता नभएको

नेपालमा सरसफाइ र स्वच्छता सम्बन्धी एउटै खाले तालिमका पनि फरक फरक बिषयबस्तु र स्टाइल छ छन् । तालिमको स्टान्डर्ट अभाव छ । तालिम कस्तो हुनुपर्छ भन्ने मानक छैन ।

३. फलाक्नमै मात्र सीमित

तालिम छन् । दिइएका पनि छन् । तर तालिममा सीप सिकाउने काम भन्दा पनि प्रवचन दिने काम बढी भईरहेको छ । तालिम पनि पाइरहेका छन्, तर भाषण जस्तो । यस्तो गर्ने, उस्तो गर्ने भन्ने मात्र ।

 

४. बहुक्षेत्रिय सहभागिता नहुनु

वास सेक्टरमा जत्ति तालिम हुन्छन्, त्यहाँ वास सेक्टरकै मात्रै सहभागी हुन्छन् । ती तालिमहरुमा बन क्षेत्रमा कार्यरत, शिक्षा, स्वास्थ्य क्षेत्रमा कार्यरत निकायका मानिसहरु खै त ? समाजशास्त्री अधिकारी भन्नुहुन्छ ‘हामीले उद्योग बाणिज्य क्षेत्रका मानिसहरुलाई समेट्न सक्यौं ? यदि उनीहरुलाई पनि समेट्न सकेको भए सरसफाइलाई व्यापारिक कोणबाट हेर्ने कुरा पनि हुन्थ्यो कि ?’

५. आपूर्तिमा आधारित तालिम

यहाँ कसैले तालिम चाहियो भनेर होइन, तालिम दिनुप-यो भन्ने तरिकाले तालिम दिइन्छ । बजारमा कस्तो तालिमको माग छ होइन कि, यसबर्ष कस्तो तालिम डिजाइन गरौं भन्ने आधारमा तालिम दिइन्छ । यसले पनि आवश्यकता अनुसारको तालिमलाई सम्बोधन गर्न सकिरहेको छैन र तालिममा गरिने लगानी खेर गइरहेको छ ।

६. परम्परागत तालिम

समाजशास्त्री अधिकारीका अनुसार तालिम अहिले पनि पुरानै ढर्रामा चलिरहेको छ । नयाँ नयाँ तरिका अबलम्बन गर्नै सकेको छैन । ‘एउटा कोठा लिने, त्यहाँ सहभागीहरु बोलाउने, ल्यापटपमा पेन ड्राइभ, घुसाउने, भित्तामा देखाउने ताली बजाउने’ यो भन्दा अर्को तरिका हामीले अपनाएकै छैनौं । यहाँ तालिममा नयाँपन छैदैछैन ।

७. प्रायोजित तालिम

प्रायोजित तालिम पनि वास सेक्टरका लागि बाधक हो । सित्तै तालिम पाउने भएपछि फुर्सदिला मानिसहरु तालिम लिन इच्छुक हुन्छन् र हाई काढेर समय बिताउँछन् । तालिम सम्पन्न भएपछि त्यसको केही उपयोग हुँदैन ।

पैसा दिएर तालिम गराउने चलन हुन्जेल यस्तै हो । तालिम भने पछि एउटा कोर्स गरेबापत यत्ति तिर्नुपर्ने भन्ने हुनुपर्ने हो नि ? अनि पो बल्ल तालिमको उपयोगिता हुन्थ्यो त ?तालिममा आउनेलाई पैसा दिउञ्जेलसम्म यस्तै हो ।

 

८. विशेषज्ञ अभाव 

बजारमा चाहेजत्ति जनशक्ति छैनन् । भएका पनि असंगठित र आलाँकाचा छन् । एक दुईवटा तालिम लिएपछि के के न जानेको जस्तो फुर फुर गर्नेहरु पनि छन् । आलाकाँचाले प्रशिक्षकले वास सेक्टर बिगारेको छ । आलाकाँचा प्रशिक्षक भएपछि एउटालाई गलत सिकाउँछ, त्यसले अर्कोलाई गलत सिकाउँछ, यसले गलतै गलतको जमात तयार हुन्छ ।

९. तालिम व्यवस्थापन प्रणाली नहुनु

अरु सेक्टरको डाटा भएजस्तै नेपालमा तालिमसँग सम्बन्धित तथ्यांकको अभाव छ । आ आफ्नो प्रयोजनका लागि डाटा भएपनि समग्र वास सेक्टरकै डाटाको अभाव छ ।

१०. अन्तर्राष्टिय संघसंस्थासँग समन्वय अभाव

वास सेक्टरमा अन्तर्राष्टिय संघसंस्थासँग समन्वयको अभाव छ । यो पनि वास सेक्टरको एउटा कमजोरी हो । हामी खाली आफ्नै संसारमा रमाईरहेका छौं । उही कुवा भित्रको भ्यागुतोले संसार देखेजस्तो ।

११. प्रशिक्षकको मानक छैन

कति कुरा जानेपछि प्रशिक्षक ? अर्थात कस्तो कोर्स पूरा गरेपछि प्रशिक्षक ? यसको खडेरी छ । गुणस्तर व्यवस्थापनको कुरै छैन । यहाँ त सर्टिफिेकट पाएपछि तालिम प्रशिक्षक भईहाल्यो ।

१२. तालिम पछिको अनुगमन नहुनु

तालिम सकेपछि सबै काम सकियो । हामी फर्केरै हेर्दैनौं । तालिम लिएर थानकोट कटेपछि को ? के गरिरहेका छन् ? हामी खोजी गर्दैनौं । तालिम पश्चातको अनुगमनको अभाव, तालिमले पारेको प्रभावको लेखाजोखा नहुने लगायत कारणले पनि वास सेक्टरले चाहेजस्तो प्रगति हासिल गर्न सकेको छैन ।

– जनस्वास्थ्य र वातावरण संस्था एन्फोद्वारा आयोजित वास क्षेत्रमा कार्यरत संघसंस्थाबीच अनुभव आदानप्रदान कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागका समाजशास्त्री कमल अधिकारीले गर्नुभएको प्रशिक्षण कक्षमा आधारित ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार