भ्रमण खर्च कटाएर स्वास्थ्य आमा समूहले किने फिल्टर

लम्जुङ : लमजुङको मध्यनेपाल नगरपालिका ३ सूर्यपाल (साविक सूर्यपाल २) को स्वास्थ्य आमा समूहले भ्रमण खर्च कटाएर फिल्टर खरिद गरेका छन् । गाउँमा सरसफाइको अभियान सञ्चालन भइरहँदा आमा समूहले पानी शुद्धिकरण गरी पिउन फिल्टर खरिद गरेका हुन् ।

स्वास्थ्य आमा समूहका अध्यक्ष संगिता सांखीका अनुसार भ्रमण जानुको सट्टा फिल्टर किनेमा स्वच्छ पानी पिउन पाउने भएकाले फिल्टर खरिद गरिएको हो । १७ घरधुरीका लागि फिल्टर किनेर वितरण गरेको उहाँले बताउनुभयो । स्वास्थ्य आमा समूहका अध्यक्ष संगिता साँखीको अध्यक्षता तथा वडाध्यक्ष नेत्रबहादुर बस्नेतको प्रमुख आतिथ्यमा १७ घरपरिवारलाई फिल्टर वितरण गरिएको हो ।

 

अध्यक्ष साँखीले भ्रमण खर्च कटाएर फिल्टरमा लगानी गर्नु राम्रो कुरा रहेको भन्दै यसले पूर्ण सरसफाइको कार्यक्रममा सघाउ पुग्ने बताउनुभयो । कार्यक्रममा जिल्ला सुआहारा सरसफाइ अधिकृत रोशन चौलागाई, ग्रामीण सामुदायिक विकास केन्द्र (आर.सी.डी.सी.)/सुआहारा फिल्ड सुपरभाइजर रघुनाथ अधिकारीको विशेष उपस्थिति थियो । अधिकारीले स्वास्थ्य आमा समूहको बैठकमा युएसएआईडी सुआहाराको आर्थिक सहयोगमा सहजीकरण हुँदै आएको बताउनुभयो ।

सचेतनाका कार्यक्रम सञ्चालनपछि आमा समूह स्वास्थ्यप्रति सचेत हुन थालेको उहाँले बताउनुभयो । सरसफाइ अधिकृत चौलागाई र फिल्ड सुपरभाइजर अधिकारीले पूर्ण सरसफाइका सूचकहरु मध्ये फिल्टर प्रयोग तथा महत्वको बारेमा चर्चा गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार