काठमाडौ : सरकारले खानेपानी र सरसफाइका लागि ४३ अर्ब ४६ करोड विनियोजन गरेको छ । आगामी बर्ष ९२ प्रतिशत जनतालाई स्वच्छ खानेपानी सेवा पु-याउने लक्ष्य सहित नयाँ आयोजना सुरु गर्ने, अधुरा आयोजना सम्पन्न गर्ने, गुणस्तर सुधारका आयोजनाहरु अघि बढाउने गरी बजेट विनियोजन गरिएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताउनुभयो ।
मेलम्ची खानेपानी आयोजना आगामी आर्थिक बर्ष सम्पन्न गर्नका लागि सरकारले ७ अर्ब ३९ करोड विनियोजन गरेको छ । त्यसैगरी श्रम तथा रोजगारी श्रृजनालाई बजेटमा प्राथमिकता दिईएको छ । श्रम र रोजगारमा ७ अर्ब १४ करोड रुपैया विनियोजन गरिएको छ ।
आफ्नो गाउँ आफै बनाऔं भन्ने भावना अनुसार विकास निर्माण गर्ने तथा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउदै लैजानका लागि ५ अर्ब १ करोड विनियोजन गरिएको छ । बाल संरक्षण अनुदानमा १ अर्ब ६४ करोड विनियोजन गरिएको छ । यस कार्यक्रमबाट ३ लाख ५० हजार बालबालिका लाभान्वित हुने अनुमान गरिएको छ ।
नेपालमा कोही भोकै पर्दैन भोकले कोही मर्दैन भन्ने प्रतिवद्धता पुरा गर्ने कार्यक्रमहरु संचालन गर्ने गरि बजेट विनियोजन गरिएको छ ।
योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमका लागि ६४ अर्ब ५० करोड विनियोजन गरिएको छ ।
आगामी आर्थिक बर्षलाई युवा परिचालनको बर्षको रुपमा मनाउने गरि युवा लक्षित कार्यक्रम गरिने भएको छ । अर्थमन्त्री खतिवडाले आगामी बर्ष युवा बैज्ञानिक सम्मेलन आयोजना गरिने बताउनुभयो ।
राष्ट्रपति महिला उत्थान कार्यक्रमका लागि २२ करोड विनियोजन गर्नुको साथै महिला विरुद्धका हिंसा विरुद्ध कार्यक्रम सहित वादी महिलाहरुको लागि आवास विकास योजना संचालन गरिने भएको छ । त्यसैगरी बालगृह सुधार र स्थापनाका लागि पनि बजेट विनियोजन गरिएको छ ।
महिला बालबालिका र ज्येष्ठ नागरिक तर्फ ७८ करोड बजेट विनियोजन भएको छ ।


1201 पटक हेरिएको 

