‘ खानेपानी बन्यो,….. र त कुँडेभरी दुध छ’

काभ्रे : काभ्रेको मण्डनदेउपुर ९ जीतपोखरीकी सावित्रा रम्तेलको थाप्लोमा नाम्लो टुटेको त्यत्ति धेरै भइसकेको छैन । झिसमिसेमै डोकोमा गाग्री हालेर कुवा र खोला धाउने सावित्राको आँगनमै पानी आउन थालेपछि हिजो आज पानीकै लागि डोको र नाम्लोको सहारा लिनु परेको छैन ।

‘यो पानीले त भन्नै नसक्ने सुख दिएको छ, चार ठाउँ विसाएर खोलाबाट पानी ल्याउँदा कम्मर दुख्थ्यो, दुःखका कहानी सुनाई साध्य छैन, अहिले त स्वर्ग जस्तै भएको छ’ धारो खोल्दै सावित्राले सुखको सास तान्नुभयो ।

पानी खान दिन नसकेर गाई पालिएको थिएन, दुध खान त देख्न पनि पाईदैनथ्यो, तर अहिले त गाई पालेकोले घरमा कुँडेभरी दुध हुन्छ ।’

गाउँमा भएको एउटा मुहान २०७२ सालको भूकम्प सँगै भासियो । त्यसपछि सुरु भयो जीतपोखरीबासीको दुःखको दिन । ‘पानी लिन एक घण्टा हिँडेर ईन्द्रावती झर्नुप-र्यो । दिनभर अरुको मेलापात गर्यो, साँझ परेपछि पानी लिन तलतिर । पानी लिएर आउँदा रात छिप्पिसक्थ्यो । सावित्राले पीडा सुनाउनुभयो ।’

 

पानी लिएर घरमा आईपुग्दा छोराछोरी भोकै निदाएका कयौं दिनहरु सम्झिनुहुन्छ सावित्रा । ‘कहिले त घरमा एक अम्खोरा पानी पनि हुन्थेन, अरुसँग खानेपानी सापटी मागेर काम चलाउ भने छिमेकीको हालत पनि उही थियो ।’

साबित्राले पानी नहुँदाको पीडा कहँदै गर्दा कालिका रम्तेल प्याच्च थपिहाल्नुभयो ‘धारा बनेपछि त हाम्रो दुःख सकिएको छ । पानी खान दिन नसकेर गाई पालिएको थिएन, दुध खान त देख्न पनि पाईदैनथ्यो, तर अहिले त गाई पालेकोले घरमा कुँडेभरी दुध हुन्छ ।’, घर छेवैमा बाँधेको खसी देखाउँदै भन्नुभयो, ‘उ त्यो दशैंलाई अर्को चाहिं बेचेर खर्च गर्ने’, उन्मुक्त हाँसोले अनुहारमा खुशीको भाव प्रष्टै झल्किन्थ्यो ।

मण्डनदेउपुर ९ को ५५ घरधुरीका लागि लिफ्ट प्रविधिबाट खानेपानी वितरण गरेपछि साबित्रा रम्तेल र कालिका रम्तेल जस्ता दिदी बहिनी तथा दाजुभाइको जीवनमा खुसी छाएको हो ।

विश्वबैंक सँगको सहकार्यमा ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्डबोर्ड) ले त्यहाँ खानेपानी योजना संचालन गरेको हो ।
ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फन्ड बोर्ड) को आर्थिक सहयोगमा शान्ति जनआदर्श सेवा केन्द्रको समन्वयमा ५५ घरमा खानेपानीको धारा निर्माण भएपछि २ सय ३८ जना लाभान्वित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार