
काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभाग, ढल व्यवस्थापन तथा वातावरणीय सरसफाइ शाखाले प्रकाशन गर्दै आएको सरसफाइ सन्देश सार्वजनिक गरिएको छ । शाखाले प्रकाशन गरेको पत्रिकाको जेठ र असारको संयुक्त अंक राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष एवं खानेपानी मन्त्रालयका सहसचिव चन्द्र बहादुर केसीले सार्वजनिक गर्नुभयो ।
सोमबार ललितपुरमा आयोजित पूर्ण सरसफाइ सम्बन्धी राष्ट्रिय कार्यशाला तयारीका लागि परामर्श कार्यक्रममा उहाँले सरसफाइ सन्देशको १७ औं र १८ अंक सार्वजनिक गर्नुभएको हो । ढल व्यवस्थापन तथा वातावरणीय सरसफाइ शाखाले बिगत ८ बर्षदेखि मासिक रुपमा सरसफाइ सन्देश प्रकाशन गर्दै आएको छ ।
२० पृष्ठमा समेटिएको सरसफाइ सन्देशमा ओडिएफका लागि अन्तिम धक्का शीर्षकको सम्पादकीय छापिएको छ । नेपालमा सरसफाइको अवस्था र २० औं राष्ट्रिय सरसफाइ सप्ताह – २०७६ लाई मुख्य समाचार बनाएको छ । यस्तै नेपालमा महिनावारी स्वच्छता व्यवस्थापन, वास योजनाको अपरिहार्यता, स्वमित्व र दिगोपना : एक अवसर र प्रयोग शीर्षकमा वेल्ट हङगर हिल्फेका पदम लम्सालको लेख, एक घर एक धारा : जातिय विभेदीकरण समाधानको आधार बन्दै शीर्षकमा किर्डाक नेपालका धन बहादुर केसी र नबीन कुमार शाहीको लेख पनि पत्रिकामा छापिएको छ ।
सरसफाइमा छलाङ मारेको बाजुरा, सरसफाइ र स्वच्छता क्षेत्रमा संगालेको अनुभव तथा सिकाइहरु, हाम्रा शहर सफा हुनु अघि, पहिला खुला दिसामुक्त र त्यसपछिको यात्रा : अविरल लगायत लेखहरु पनि छापिएका छन् । पत्रिकाको अन्तिम पृष्ठमा हालसम्म खुला दिसामुक्त घोषणा भएका जिल्लाहरुको नाम र घोषणा गरिएको मिति समेत प्रकाशन गरिएको छ ।
पत्रिकाको सम्पादन सि.डि.ई. रमेश सुवेदी, समाजशास्त्री कमल अधिकारी र समाजशास्त्री भोजेन्द्र अर्यालले गर्नुभएको हो ।


1053 पटक हेरिएको 

