
जनकपुर : प्रदेश २ को खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (P-WASH CC) ले हालै बाढी र डुबानले खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा पु-याएको क्षतिको अवस्था हेरी प्रदेश सरकारको तर्फबाट तुरुन्त गर्न सकिने कामहरु गर्ने लगायत महत्वपूर्ण ६ वटा निर्णय गरेको छ ।
पिवास सिसिका अध्यक्ष एवं प्रदेशका प्रमुख सचिव दिपक सुवेदीको अध्यक्षतामा मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले प्रदेश सरकारको तर्फबाट खानेपानी योजनाहरुको मर्मत सम्भार, पानी शुद्धिकरण, औषधी खरिद, स्वच्छता सामग्री गरिद तथा ट्यूबेलको सरसफाइ गर्ने निर्णय गरिएको हो ।
प्रदेश २ का सबै जिल्लाहरुलाई भाद्रभित्रै खुला दिसामुक्त घोषणा गर्ने निर्णय भएको समिति सदस्य गोविन्द सुवेदीले जानकारी दिनुभयो । ‘देशलाई नै खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य २०७६ असोज १३ भित्रलाई बाधा नपुग्ने गरी त्यस अघि नै प्रदेश २ का सबै जिल्लाहरुलाई खुला दिसामुक्त घोषणा गर्ने र त्यसका लागि समस्याको रुपमा देखिएका गाउँपालिका तथा नगरपालिकाहरुमा पिवास सिसिको टोली पुगी पहल गर्ने निर्णय भएको छ’ उहाँले भन्नुभयो ।
बैठकले प्रदेश २ मा खानेपानी र सरसफाइको क्षेत्रमा कार्यरत संघसंस्थाले विपदमा वितरण गर्न सक्ने सामग्री, जनशक्ति, आर्थिक क्षमता आदि पक्षलाई समेटेर स्रोत नक्साङ्कन समेत गर्ने भएको छ । यस्तै आगामी दिनमा हुन सक्ने विपद व्यवस्थापनको तयारीका लागि खानेपानी, सरसफाइ र स्वच्छता सामग्रीको व्यवस्था, -यापिड रेस्पोन्स टिमी गठन गरी तालिम दिने र पिवास सिसि अन्तर्गत विपद व्यवस्थापन टोली गठन गर्ने निर्णय समेत गरिएको पिवास सिसि सदस्य सुवेदीले जानकारी दिनुभयो ।
बैठकमा अघिल्लो बैठकमा भएको निर्णयको समेत समीक्षा गरिएको छ ।

फोटोहरु : गोविन्द सुवेदीको फेसबुकबाट ।


1359 पटक हेरिएको 

