महानगरपालिका ओडिएफ अभियान : एकैदिन तीन वटा वडाको अनुगमन

 

 

काठमाडौ : काठमाडौ महानगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्न महानगरपालिकाले अनुगमनलाई तीब्रता दिएको छ । महानगरपालिकाले आज एकैदिन तीन वटा वडामा रहेको अव्यवस्थित बस्तीको सरसफाइको अवस्था अनुगमन गरिएको हो ।

काठमाडौ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठ, वातावरण प्रशासन महाशाखा प्रमुख सरस्वती पोखरेल, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुरका प्रमुख हरिदत्त पौडेल, इन्जिनियर कुलप्रसाद शर्मा, गुठी संस्थाका प्राविधिक सल्लाहकार प्रकाश अमात्य सहितको टोली काठमाडौ महानगरपालिकाको वडा नं. ११ मा रहेको थापाथली, १० नंं वडामा रहेको गैरीगाउँ तथा वडा नं. १४ को बल्खुको अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा खुला दिसा नदेखिएको र हरेक घरमा शौचालय नभएपनि शौचालय नभएको घरले संयुक्त शौचालय प्रयोग गर्दै आएको भेटिएको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो । आफूले सुकुम्बासी बस्तीमा यत्ति व्यवस्थित सरसफाइ होला भन्ने कल्पना पनि नगरेको र अनुगमनका क्रममा सरसफाइका हिसाबले निक्कै सचेत रहेको पाइएको उहाँले बताउनुभयो । टोलीले शौचालय नभएको घर पहिचान गरी ती घरलाई समेत अस्थायी भएपनि शौचालय बनाउन आग्रह गरिएको छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुरका प्रमुख हरिदत्त पौडेलले भने अनुगमनका क्रममा सुकुम्बासी बस्तीमा सरसफाइको न्यूनतम पूर्वाधार भेटिएको बताउनुभयो । उहाँले जत्ति शौचालय छन् ती प्रयोगमा रहेको र सरसफाइमा समेत ध्यान पुर्‍याउने गरिएको पाइएको बताउनुभयो । यद्यपि अनुगमन टोलीमा भने सम्बन्धित वडाका वडा अध्यक्ष वा जनप्रतिनिधि सम्मिलित हुनुपर्ने बताउनुभयो ।

काठमाडौमा रहेको तीन वटा अव्यवस्थित बस्तीको अनुगमन पछि गुठी संस्थाका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले सरसफाइमा अति कमजोर हुन सक्ने अनुमान गरिएको बस्तीमै शौचालय र फोहोरमैलाको व्यवस्थापन राम्रो ढंगबाट भईरहेकाले काठमाडौमा खुला दिसा नरहेको बताउनुभयो ।

भोलि काठमाडौको १२, १३ र १५ नं. वडामा रहेका अव्यवस्थित बस्तीको सरसफाइको अवस्थाको अनुगमन गर्ने भएको छ । ती वडाहरुमा भने सम्बन्धित वडाका जनप्रतिनिधीलाई समेत सामेल गराइने वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार