वडा अध्यक्ष सहितको टोलीद्वारा वडा नं. १५ को सरसफाइबारे अनुगमन

 

काठमाडौ : काठमाडौ महानगरपालिकाको वडा नं. १५ का अध्यक्ष ईश्वरमान डंगोल, जिल्ला स्तरीय अनुगमन समितिका संयोजक एवं खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुरका प्रमुख हरिदत्त पौडेल, गुठी संस्थाका प्राविधिक सल्लाहकार प्रकाश अमात्य सहितको टोलीले स्वयम्भू स्थित अव्यवस्थित बस्तीको अनुगमन गरिएको छ । काठमाडौ महानगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्नु अघि हरेक वडाको बस्तीमा शौचालय निर्माण भई प्रयोग भईरहेको सुनिश्चित गर्न टोलीले अनुगमन गरिएको हो ।

टोलीले अव्यवस्थित बस्तीको घरघरै पुगेर शौचालयको अवस्था, शौचालय प्रयोग भए नभएको, शौचालय भित्र बाल्टिन, पानी, ब्रस तथा साबुन लगायत सामग्रीको व्यवस्था भए नभएको, सेफ्टी ट्याङ्की भए नभएको समेत अनुगमन गरिएको हो । अव्यवस्थित बस्तीको हरेक घरले शौचालयको ढल आदेश्वर खोलामा मिसाइएकाले त्यसलाई हटाई घरघरमै सेफ्टी ट्याङ्की बनाउन टोलीले सुझाव दिएको छ ।

वडा अध्यक्ष ईश्वरमान डंगोलले आफ्नो वडा क्षेत्रभित्र शौचालय नभएको कुनै घर पनि नरहेको र कहींकतै टहरोमा बस्नेहरुले शौचालय नबनाएको भए बनाउन लगाइने बताउनुभयो । यस्तै अनुगमन टोलीका संयोजक हरिदत्त पौडेलले वडाका सबै घरमा शौचालय भएपनि अव्यवस्थित बस्तीको शौचालयको ढल सीधै खोलामा मिसाएकाले त्यो हटाउन लगाउनुपर्ने बताउनुभयो । यद्यपि यो खुला दिसामुक्त घोषणाका लागि भने बाधक नहुने बताउनुभयो ।

 

‘अव्यवस्थित बस्तीमा पनि शौचालय निर्माण गरेर प्रयोग गर्नु राम्रो हो । तर उनीहरुले शौचालयको ढल सीधै खोलामा मिसाएको पाइयो, यो खुला दिसामुक्त घोषणाका लागि बाधक भने होइन, यसलाई पूर्ण सरसफाइ अभियानमा अनिवार्य सुधार्न आवश्यक छ । त्यो हाम्रो टोली सम्बन्धित वडा तथा महानगरपालिकालाई सुझाव पनि दिन्छौं’ उहाँले भन्नुभयो ।

काठमाडौको ३२ वटै वडामा शौचालय भए नभएको बारे अहिले अनुगमन टोली तीब्रता पूर्वक अनुगमन गरिरहेको छ । टोलीले अनुगमन गर्दा शौचालय नभएको पाएमा अस्थायी शौचालय भए पनि बनाउन लगाएर आगामी भदौ २० गते भित्र काठमाडौ महानगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्ने योजना छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार