काठमाडौ : सांसदहरुले खानेपानी तथा सरसफाइ विधेयकमाथि १४५ बढी संशोधन प्रस्ताव दर्ता गराएका छन् । संघीय संसद सचिवालयको विधेयक शाखाले तोकेको समयभित्र सांसदहरुले १४५ भन्दा बढी संशोधन प्रस्ताव दर्ता गराएका हुन् । सचिवालयले संशोधन पेश गर्न चाहने सांसदहरुका लागि साउन २५ गते शनिबार सम्मको समय उपलब्ध गराएको थियो ।
प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आजको बैठकमा सांसदहरु ले खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०७६ माथि सुझाव पेश गर्दै सांसदहरुले खानेपानीको मुहान संरक्षण गर्न, भूमिगत पानीको दोहन रोक्न र खानेपानीको पहुँच सबै जनतामा पु¥याउन जोड दिएका छन् ।
संविधानमा खानेपानी तथा सरसफाइ मौलिक अधिकारको रुपमा रहेको छ । मौलिक अधिकार कार्यान्वयनमा सरकारले पहिलो पटक सो विधेयक तयार गरी संसद्मा प्रस्तुत गरेको हो ।
खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले स्वच्छ, गुणस्तरीय खानेपानी तथा सरसफाइको पहुँचमा सबै जनतालाई ल्याउन विधेयक आएको स्पष्ट पार्दै विधेयकले खानेपानीको सस्थागत विकास हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “पानीको स्रोत, मुहान संरक्षण र व्यवस्थापन गर्दै सामान वितरण गर्न विधेयकले जोड दिएको छ । विधेयक कार्यान्वयमुखी रहेको छ ।”
समितिका सदस्य गणेश पहाडीले भूकम्पका कारण पहाडी जिल्लामा पानीका मुहान सुकेका छन्, सुकेका मुहानबाट पुनःपानी आउने वातावरण सरकारले गर्नुपर्छ भन्नुभयो । समितिका सदस्य राजेन्द्रकुमार केसी र बहादुरसिंह लामाले पानीलाई आयआर्जनको माध्यमका रुपमा विकसित गर्न आवश्यक रहेकोमा जोड दिँदै छिटो विधेयक पारित गर्न आग्रहसमेत गर्नुभयो ।
समितिका सदस्य दामोदर भण्डारी, बीनाकुमारी श्रेष्ठ, जिपछिरिङ लामा महेन्द्र रायले मौलिक अधिकारलाई कार्यान्वयन विधेयकलाई सत्ता र प्रतिपक्ष नभनी पारित गर्न जोड दिनुभयो । समितिका सभापति कल्याणी खड्काले झोलामा खानेपानीका स्रोत राख्ने प्रवृत्ति बढ्दै गएको भन्दै यसलाई अन्त्य गर्न आवश्यक रहेको छ भन्नुभयो । बैठकमा विधेयकमाथि सैद्धान्तिक छलफल समेत शुरु भएको छ ।


941 पटक हेरिएको 

