‘मलेशियाको होटल मेरै बारीमा’

 

 भरत अधिकारी

धादिङ : उहाँसँग निकै वर्षसम्म काठमाडौं र पोखराका राम्रा होटलमा काम गरेको अनुभव थियो । त्यही अनुभवले उहाँले मलेशियाको नाम चलेको होटलमा काम पनि पाउनुभयो । काम राम्रो थियो, आम्दानी पनि सन्तोषजनक थियो । तर त्यहाँ साढे सात वर्षसम्म काम गरेका मदन मगरले दुई वर्ष अघि एका एक त्यो काम छाड्नुभयो । अब उहाँ विदेशको जागीर होइन, आफ्नै गाउँमा अर्ग्यानिक तरकारी खेती गर्ने अगुवा किसान बन्नु भएको छ ।

राम्रो कमाइ हुने विदेशको जागीर छाडेकोमा उहाँलाई कुनै गुनासो छैन, बरू आफ्नै गाउँ ठाउँमा इलम गरेर सबैको प्रशंसा पाउँदा उहाँ खुशी देखिनुहुन्छ ।

धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नं. ७, धारापानी कोटथोकका वासिन्दा मदनलाई विदेशमै रमाइरहेका बेला गाउँमै बसेर केही गर्न उत्प्रेरित गर्ने एउटै मात्र कारण हो गाउँमा खानेपानीको सुविधा उपलब्ध हुनु ।

अब फेरि कमाउनका लागि विदेश जानुहुन्छ ? भन्ने प्रश्नमा मदन हाँस्दै भन्नुहुन्छ “अब त किन जानु विदेश ? मलेशियाको होटलको जति आम्दानी त केही समय पछि मेरै बारीमा हुन थाल्छ ।”

बस्तीभन्दा माथि पानीको स्रोत नभएको यस ठाउँमा सदैव खानेपानीको ज्यादै ठूलो अभाव थियो । एक गाग्री पानी ओसार्नका लागि एक घण्टासम्म समय खर्चिनु यहाँका वासिन्दाका लागि नौलो कुरा थिएन । पानीकै अभावले कतिपय मानिसहरू धादिङवेंशी, चितवन, काठमाडौं लगायत बेंशीतिरका गाउँमा बसाईँ सरेको यहाँका वासिन्दाहरू बताउँछन्  । “अहिले पो यहाँका घर–घरमा पानी छताछुल्ल भयो, नत्र त घरका दुई जना मानिसको काम पानी ओसार्ने बाहेक केही पनि हुँदैनथ्यो” विगत सम्झँदै मदन भन्नुहुन्छ ।

गाउँकै विद्यालयबाट एसएलसी उत्तीर्ण गरेर कहिले पोखरा त कहिले काठमाडौंमा काममा व्यस्त रहेका मदन कामकै सिलसिलामा मलेशिया जाँदा सम्म गाउँमा पानीको दुःख जस्ताको तस्तै थियो । उहाँ मलेशिया भएकै बेला ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको आर्थिक सहयोग तथा स्थानीय सहयोगी संस्था फोकस नेपालको प्राविधिक सहयोग एवं सहजीकरणमा ‘चैनपुर, धारापानी, डाँडाथोक र कोटथोक खानेपानी तथा सरसफाइ आयोजना’ निर्माण गरी गाउँभन्दा तल रहेका खोल्साहरूबाट पानी पम्प गरेर तान्ने महत्वाकांक्षी योजना बन्यो ।

“धेरैलाई त यो डाँडामा पानी आइपुग्छ भनेर विश्वास लागेको थिएन” मदन भन्नुहुन्छ । भूकम्पका कारणले गर्दा यो आयोजना सम्पन्न हुन निर्धारित समयभन्दा बढी लागे तापनि वि.सं. २०७३ कार्तिकमा साँच्चै नै गाउँका घर–घरमा बनेका धाराबाट पानी आयो । त्यति बेला मलेशियाबाट मदन घर फर्किनुभएको थियो । उहाँकै शब्दमा त्यो दिन त सपना जस्तो लाग्यो ।

कोष विकास समिति लगायत तत्कालीन जिल्ला विकास समिति, धादिङ, तत्कालीन चैनपुर गाविस, आरन ढुंगा सामुदायिक वन, अँधेरी सामुदायिक वन आदिबाट पनि यस आयोजनालाई आर्थिक सहयोग मिलेको फोकस नेपालका अध्यक्ष हेमराज छतकुलीले बताउनुभयो । तीस लाख रूपैयाँ बराबरको खर्चमा तीन वटै पम्पका लागि नेपाल विद्युत प्राधिकरणले बिजुली लाइन तथा ट्रान्सफर्मर जडान गरिदिएको जानकारी दिनुभयो ।

शुरूमा यस आयोजना अन्तर्गत समुदायका १६१ घर परिवारका लागि ३२ वटा सामुदायिक धारा बनाउने गरी डिजाइन गरिएको थियो । तर ज्वालामुखी गाउँपालिकाको सीमानामा पर्ने गोरखा जिल्ला अन्तर्गतको प्रस्तावित बूढी गण्डकी बाँधको डुबान क्षेत्रका वासिन्दाहरूको यस समुदायमा हुन सक्ने पुनर्वासलाई समेत विचार गरी ट्याङ्की  र पाइपको क्षमता बढाउने गरी पुनः डिजाइन गरियो ।

स्रोतमा पानी पर्याप्त भएको र संरचनाहरूको पनि क्षमता बढाएकाले उपभोक्ताहरूको पहलमा समुदायका सबै घरमा मिटर सहितको धारा जोडियो । मुहानदेखि तीन तह गरी तीन वटा मोटरले पानी तानेपछि मात्रै पानी मुख्य वितरण ट्यांकीमा आइपुग्ने भएकाले यो आयोजनाको सञ्चालन खर्च पनि अरू सामान्य आयोजनाहरू भन्दा बढी छ ।

हाम्रो देशको सन्दर्भमा भने मानिसहरू बसाइँ सर्ने र विदेशिने एक प्रमुख कारण समुदायमा पानीको हाहाकार हुनु पनि हो । पानीको उपलब्धताले बसाईँ सर्ने प्रवृत्ति रोकिने मात्र नभई वैदेशिक रोजगारमा संलग्न युवाहरूलाई पनि घर फर्केर स्वावलम्बी जीवन यापन गर्ने अवसर प्रदान गर्ने रहेछ भन्ने उदाहरणीय पात्र बन्नु भएको छ मदन मगर ।

जे होस्, महँगो भए पनि यतिखेर घर घरमा पानीको सुविधा उपलब्ध भएको छ । पानीको उपलब्धताले मदनको सोचमा पनि एकाएक परिवर्तन आयो । यही पानीको सदुपयोग गरेर आफ्नो बारीमा तरकारी खेती गर्न सके त घरमै बसी बसी विदेशको जत्तिकै कमाई हुने रहेछ भन्ने उहाँले आंकलन गर्नुभयो । तर उहाँलाई तरकारी खेती सम्बन्धी केही अनुभव थिएन । यद्यपि, काम सिक्दै गर्ने मनस्थिति बनाइसकेकाले उहाँ फेरि विदेश फर्किनु भएन ।

गाउँमा आफ्नै करिव २५ रोपनी जमीन भएकाले मदनले कुखुरापालन र तरकारी खेती सँगसँगै गर्ने विचार गर्नुभयो । अनुभव र तालिमको अभावले गर्दा पहिलो पटक ल्याएका ६०० चल्लाहरू मध्ये आधाभन्दा बढी मरे । तर उहाँले हरेश खानुभएन । २०७३ असोजमा गाउँपालिकाले उहाँ लगायत गाउँका अरू केही किसानहरूलाई विभिन्न जिल्लामा कृषि अवलोकनका लागि पठायो । “त्यही भ्रमणले मलाई व्यावसायिक रूपले सफल किसान बनाउने काम गर्‍यो” मदन भन्नुहुन्छ ।

अवलोकन भ्रमणबाट फर्किए पछि उहाँले मापदण्ड अनुसारका खोर बनाएर कुखुरापालन शुरू गर्नुभयो ।  टनेल (छहारी), मल्चिङ प्रविधि (झार उम्रिन नदिन र चिस्यान कायम राख्न तरकारीको बोट वरपर प्लाष्टिकले छोप्ने जस्ता आधुनिक प्रविधि) अपनाएर खेती गरेकाले पहिलो वर्षमै तरकारीको उत्पादन निकै राम्रो भयो । “पहिले पहिले यहाँ बर्खामा मकै र हिउँदमा पानी पर्‍यो भने अलि अलि तोरी फल्थ्यो, अहिले त देखिहाल्नुभयो ।” बारीमा लहलह फलेका खुर्सानी र करेला देखाउँदै उहाँले भन्नुभयो ।

अहिलेसम्म मदनले तरकारी बेच्न बाहिर जानु परेको छैन । गाउँमै बिक्री भइरहेको छ । “तर अब गाउँमा अरूले पनि मनग्य तरकारी खेती गर्न थालेकाले हामीले बिचौलिया नभएको बजार खोज्नु पर्ने भएको छ, तर हामीलाई बजारको समस्या छैन” बेमौसमी तरकारीबाट बढी फाइदा हुने भएकाले अब मदन बेमौसमी तरकारी खेतीतर्फ लाग्नुभएको हो ।

हाल मदनले घरायसी प्रयोजन र तरकारी खेतीका लागि भनेर दुई वटा धारा जडान गर्नुभएको छ ।  एउटा धाराको न्यूनतम शुल्क प्रति महिना तीन सय रूपैयाँ निर्धारण गरिएको छ । तर मदन भने सुक्खा मौसममा खुशी साथ प्रति महिना १२ सय रूपैयाँ सम्म तिनुहुन्छ । तीन वटा पम्प चलाउनु पर्ने भएकाले बिजुलीको महशुल धेरै उठ्छ, जसले गर्दा खानेपानी महशुल पनि महँगो भएको बताउनुहुन्छ  खानेपानी उपभोक्ता समितिका अध्यक्ष चन्द्रप्रसाद छतकुली । “बिजुलीमा सिंचाइ सरह सहुलियत पाउने होे भने मानिसहरू अझ धक फुकाएर पानी प्रयोग गर्न पाउने थिए र यसबाट समुदायको आर्थिक अवस्थामा पनि टेवा पुग्ने थियो ।’’

पुर्खाले आर्जेको, आफ्नो पसिना सिञ्चेको ठाउँबाट मानिसहरू किन बसाईँ सर्ने गर्छन् भन्ने प्रश्नको उत्तर खोज्दै जाँदा विभिन्न उत्तरहरू भेटिएलान् । हाम्रो देशको सन्दर्भमा भने मानिसहरू बसाइँ सर्ने र विदेशिने एक प्रमुख कारण समुदायमा पानीको हाहाकार हुनु पनि हो । पानीको उपलब्धताले बसाईँ सर्ने प्रवृत्ति रोकिने मात्र नभई वैदेशिक रोजगारमा संलग्न युवाहरूलाई पनि घर फर्केर स्वावलम्बी जीवन यापन गर्ने अवसर प्रदान गर्ने रहेछ भन्ने उदाहरणीय पात्र बन्नु भएको छ मदन मगर । पानीको हाहाकारबाट आजित भएर बसाईँ सरेका मानिसहरू पानीको सुविधा भएपछि फेरि घर फर्कन थालेको जानकारी फोकस नेपालका अध्यक्ष हेमराज छतकुलीले बताउनुभयो ।

अब फेरि कमाउनका लागि विदेश जानुहुन्छ ? भन्ने प्रश्नमा मदन हाँस्दै भन्नुहुन्छ “अब त किन जानु विदेश ? मलेशियाको होटलको जति आम्दानी त केही समय पछि मेरै बारीमा हुन थाल्छ ।”

लेखक , ग्रामीण खानेपानीतथा सरसफाइ कोष विकास समितिमा सञ्चार तथा क्षमता विकास विज्ञ हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार