सिसडोल ल्यान्डफिलमा संसदीय समिति

काठमाडौ : संसद्को विकास तथा प्रविधि समितिले नुवाकोटस्थित सिसडोल ल्यान्डफिल साइट र नयाँ बन्दै गरेको बन्चरे डाँडामा अनुगमन गरेको छ । नुवाकोटका सांसदले एक महिनाअघि समितिमा अनुगमन गर्न निवेदन दर्ता गरेका थिए ।

सिसडोल ल्याड फिल साइटमा फोहोर थेग्न नसकेर पहिरो गएपछि तीन महिनादेखि काठमाडौं आउने मूख्य सडक बन्द छ । सार्वजनिक यातायात, दुध र एम्बुलेन्सका गाडीसमेत आवतजावत ठप्प छन् । यसले नुवाकोट ककंनी गाउँपालिका र धार्दिङ धुनबेसी नगरपालिकाका ५ सय बढी घरधुरी मर्कामा परेका छन् ।

स्थानीयले सम्बन्धित निकायमा पटक पटक पहिरो पन्छाउन अनुरोध गर्दा पनि अटेर गरेको भन्दै तत्काल माग सुनुवाइ नगरेमा असोज १ बाट फोहोरका गाडी ठप्प पार्ने चेतावनी दिएका छन् । ‘सिसडोलमा ओभर लोडका कारण यस वर्ष मात्र नभई प्रत्येक वर्ष पहिरो लडेर बाटो अवरुद्ध हुने गरेको छ,’ नुवाकोटका सांसद नारायण खतिवडाले विकास समितिका सभापतिलाई लक्षित गरेर भने, ‘प्रत्येक वर्ष बिरामी बोकेर घण्टौं हिँडेर काठमाडौं लैजान बाध्य छन् । कतिपय समयमा उपचार नपाएर बाटोमा मृत्यु भएको समेत उदाहरण छ ।’

सरकारले २०६२ मा २ वर्षका लागि सिसडोलमा ल्यान्डफिल साइट बनाएर त्यसपछि बन्चरे डाँडामा व्यवस्थापन गर्ने गरि स्थानीयसँग सम्झौता गरेको थियो । तर, १४ वर्षसम्ममा पनि बन्चरे डाँडामा फोहोर विर्सजन गर्न व्यवस्था मिलाउन सकेको छैन । सिसडोलमा दिनभर फोहोर झारेपछि क्याविन ९माटो पुर्ने० र दुर्गन्ध नफैलियोस् भनेर औषधी हाल्ने सहमति थियो । तर, त्यसो गरिएको छैन ।

यसले वरपर अत्याधिक दुर्गन्ध फैलिने गरेको छ । ककनी गाउँपालिकामा झिँगा भन्केर बस्नै नसक्ने अवस्था छ । स्थानीय विश्वास ढुंगानाले यसबारेमा कर्मचारीलाई भन्दा उल्टो प्रहरी प्रशासन लगाएर दमन गर्ने गरेको बताए । ‘अत्यधिक भएपछि अस्ति एक पटक झगडा गरेर औषधि हाल्न लगाएँ,’ उनले भने ।

फोहोरबाट निस्कने विषादी झोल लिचेद सिधै कोल्पु खोलामा मिसाइएको छ । लिचेदले गर्दा धेरै गाईवस्तुको मृत्यु भइसकेको छ । स्थानीयका अनुसार लिचेदका कारण गाउँमा क्यान्सरका बिरामीसमेत बढ्न थालेका छन् । सिसडोल र बन्चरे डाँडा करिब २ किमि दूरीमा पर्छ । बन्चरे डाँडामा बनाउँदै गरेको ल्यान्डफिल्ड साइडमा ठेकेदार कम्पनीको नाम, ठेक्का रकम, सम्झौता र सम्पन्न मिति उल्लेख गरी बोर्ड राख्नुपर्ने हो, त्यो पनि राखिएको छैन ।

स्थानीय योजनाका बारेमा बेखबर छन् । ‘गाईवस्तु चराएपछि तिर्खा लागे खोलाको पानी खाने गरिर्न्थ्यो,’ ककनी गाउँपालिकाका वडाध्यक्ष धननाथ बजगाईंले भने, ‘हिजोआज खोलामा खुट्टामा घाउ हुनेहरू क्यान्सर लाग्ने डरले जान छाडेका छन् ।’ बन्चरे डाँडामा फोहोर झार्दा पनि लिचेद खोलामा मिसिएला भन्ने डर भएको उनले बताए ।

उनका अनुसार बन्चरे ल्यान्ड फिल्डसाइड कोल्पु खोलाबाट २ मिटर उचाइमा हुनुपर्छ । फोहोर विर्सजन गर्ने खाल्डोबाट १ लाख ५० हजार घनमिटर माटो बाहिर फाल्नुपर्छ । ‘तर, ठेकेदारले खाल्डोको माटो खाल्डोकै सम्याएर व्यवस्थापन गर्न थालेका छन्,’ उनले भने, ‘ल्यान्ड फिल्ड साइड बनाउनेप्रति हाम्रो विरोध होइन । तर, सिसडोलको जस्तो अस्तव्यस्त बनाउनु भएन भन्ने मात्र हो ।

यस्तै स्थिति भएमा असोज १ बाट फोहोर बोक्ने गाडी ठप्प पार्न बाध्य हुन्छौं ।’ अनुगमनमा काठमाडौं र ललितपुर महानगरपालिकाका जनप्रतिनिधि, सहरी विकास मन्त्रालयका प्रतिनिधिलगायत सरोकारवाला निकायलाई नबोलाइएको भन्दै स्थानीयले आक्रोश पोखेका छन् । विकास समितिका सदस्यले भने अनुगमनपश्चात् सरोकारवालालाई बोलाएर जवाफ माग गर्ने आश्वासन दिए ।

समिति सभापति कल्याणीकुमारी खड्काले यस विषयलाई गम्भीरतापूर्वक लिएको बताइन् । ‘पहिरो गएको स्थानमा पोल ढलेको छ । तार चुँढिएर अर्को अनर्थ नहोला भन्न सकिन्न । फोहोर बिर्सजन मात्र समस्या समाधान होइन,’ उनले भनिन्, ‘फोहोरबाट बिजुली, ग्यास निकाल्ने र रिसाइकिलिङ गर्नुपर्ने मुख्य कुरा हो ।’

उनले फोहोर समस्याको दीर्घकालीन उपाय निकाल्ने आवश्वासन दिइन् । ‘प्रतिवेदन टेबुलमा बसेर कपि पेस्ट मात्र गर्दैनौ,’ उनले भनिन्, ‘फेरि यही कुरा दोहोराएर गर्न नपर्ने गरी काम गछौं ।’ अहिलेको ल्यान्डफिल्ट साइटले धादिङ धुनिबेसी नगरपालिका–१ (लगभग ६ सय घरधुरी), ककनी गाउँपालिका– २ (३ सय घरधुरी) र काठमाडौंको तारकेश्वर नगरपालिका–३ (२ घरधुरी) प्रभावित छन् । उपत्यकामा दैनिक सात सय टनफोहोर उत्पादन हुन्छ ।

साभार : कान्तिपुर दैनिक ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार