खुल्ला ठाउँमा नहग्नुस् मेरो चर्पीमा स्वागत छ !

 विनोद शर्मा, सिन्धुपाल्चोक ।


नेपाललाई नैं यहि असोज १३ गते खुल्ला दिसामुक्त राष्ट्र घोषणा गरिँदैछ । मेरो र हामी जस्तै सबै परिवारमा चर्पी बनेर प्रयोगमा आइसकेपछि खुल्ला दिसामुक्त घोषणा गर्न लागिएको हो । स्वच्छ सफा हाम्रो देश नयाँ युगमा भयो प्रवेश भने झैं घोषणापछि साँच्चै नेपालले पूर्ण सरसफाइ तर्फको यात्रा गर्नेछ ।

सिन्धुपाल्चोक जिल्ला पनि भदौ २० गते ६८ औं जिल्लाका रुपमा खुल्ला दिसामुक्त जिल्ला घोषणा भयो । घोषणा समारोहमा १३ बुँदे आचरसंहिता निर्माण गरी पालना गर्ने प्रतिवद्धता

समेत गरिएको छ । आचारसंहिता कार्यान्वयन गर्ने भनेर समारोहका प्रमुख अतिथि खानेपानी मन्त्री, सांसद, गाउँपालिका नगरपालिका प्रमुख लगायतका अतिथिहरुले हस्ताक्षर समेत गर्नु भएको छ । उक्त आचारसंहिताको पहिलो बुँदामा सिन्धुपाल्चोक जिल्ला खुल्ला दिसामुक्त जिल्ला हो, यस खुल्ला दिसामुक्त क्षेत्रमा कसैले खुल्ला दिसा गर्न पाउने छैन लेखिएको छ ।

३ नम्बर बुँदामा यो जिल्लामा पाल्नुहुने सम्पूर्ण अतिथि महानुभावहरुलाई दिसापिसाब गर्नु परेमा समुदायमा रहेका चर्पी वा व्यक्तिको प्रयोग गर्न सक्नुहुनेछ भनि उल्लेख गरिएको छ । यहि बुँदासँग सम्बन्धित मेरो सानो अनुभव यहाँ उल्लेख गर्दैछु । हुन त बुँदा नम्बर ९ मा जिल्लाभित्र धेरै मानिसहरु जमघट हुने अवस्था, साँस्कृतिक मेलापर्वमा अस्थायी चर्पी निर्माण गरी प्रयोग गर्ने गराउनेछौं पनि भनिएको छ । आचारसंहिता कार्यान्वयन भन्दा पनि हाम्रो संकुचित मानसिकताका बारेमा केहि लेख्न खोजेको छु ।

घोषणा कार्यक्रममा सहभागी भएर भोलीपल्ट म मेलम्ची फर्कनु पर्ने थियो । २१ गते विहान चौतारा बसपार्कबाट मेलम्चीका लागि बस चढें । साँगाचोकनिर पुगेपछि पेट कटक्क काट्यो । चर्पी जानु पर्ने भयो । साँगाचोक बजारसम्म पुगें । तर त्योभन्दा अगाडी जानसक्ने आँट भएन । जिरोकिलोसम्मका लागि पैसा तिरे पनि झर्नु पर्ने भयो । बसका सहचालकलाई केहि नभनी झरें र चर्पीको खोजिमा लागें । साँगाचोकमा सार्वजनिक चर्पी रहेनछ । नजिकैको एउटा पसल सहितको घरमा पसें ।

पेट दुखेर गाह्रो भएको छ तपाईको चर्पी प्रयोग गर्न सक्छु भनि अनुरोध गरें । पसलेले चर्पी बन्द छ भनेर अन्तै जान आग्रह गरे । जिल्लास्तरको प्रतिवद्धता सुनाएर ती पसलवालासँग बहस गर्ने मन थियो । हग्न हतार भएका कारण पसलवालासँग बहस गर्नु भन्दा चर्पी खोज्नु पहिलो प्राथमिकतामा प¥यो । खुल्ला दिसा नगर्ने प्रतिवद्धता गरेको मलाई अब फसाद प¥यो । अरु घरमा गएर बिन्ति बिसाउने की खुल्ला ठाउँमैं हगेर आफ्नो समस्या समाधान गर्ने भन्ने भयो । मैंले दोस्रो बिकल्प रोजें ।

मैंले गल्ती गर्दैछु भन्ने महशुस गर्दा गर्दै पनि मसँग बिकल्प थिएन । न वरिपरी सार्वजनिक चर्पी थियो । न अरु घरमा गएर छलफल गर्ने समय नैं । बिकल्प सकिएपछि अन्ततः खुल्ला ठाउँमा हगें । चर्पीमा हगेको भए दिसा गरें भनेर गर्वका साथ भन्थेंहोला । मैंले आफैंले भोगेको भएर यी कुराहरु लेखिरहेको छु । सायद मलाइ नपरेको भए आजै यति कुराहरु लेख्दिन थिएँ होला ।

चौतारा नगरपालिका वडा नम्बर ४ कुबिण्डेमा मेरो घर पनि बाटोको छेउमा छ । चर्पी पनि बाटोको छेउमैं छ । मेरो बुबा आमाले चर्पीमा कहिल्यै ताल्चा लगाउने गर्नु भएको छैन । बाटो हिड्दा कसैलाई अप्ठेरो पर्दा काम लाग्छ भन्ने संस्कार मैंले पनि सिकेको छु । मुलबाटो भएर ओहोर दोहोर गर्ने सबैका लागि हाम्रो चर्पीको ढोका सधैं खुल्ला छ ।

गाउँमा यस्तो समस्या अलि कम छ । किनभने उनीहरु स्वार्थी भैसकेका छैनन् । शहर वा शहरउन्मुख क्षेत्रमा बसोबास गर्नेहरु अलि पढेलेखेका पनि छन् । घर चर्पी पनि चिटिक्क परेको बनाएका छन् । तर मानवीयता भने कम हुँदै गएको छ । बरु म चर्पी प्रयोग गरेपछि सफा गर्न तयार थिएँ । त्यो मौका मैंले पाइन । मजस्ता अरु धेरैले यो समस्या भोगि सक्नु भएको छ । शहरी क्षेत्रका व्यक्तिहरुमा पानी हाल्न र सफा गर्न लगाएरै भए पनि चर्पी प्रयोग गर्न दिने मानसिकता विकास हुन बाँकी छ । अप्ठेरोमा परेको भएरै उसले सहयोग मागेको हो भनेर बुझ्ने क्षमता शिक्षित मानिसमा त झन् हुनु पर्ने हो ।

तपाईको घरमा चर्पी प्रयोग गर्न माग्ने मान्छे कि अरु घरमा पुग्ला नभए नजिकैको खुल्ला ठाउँमैं हग्ने हो । मानिसको एक ग्राम दिसामा एक करोड भाइरस, दश लाख व्याक्टेरिया, एक हजार परजिवी र एक सय वटा जुकाको फुल हुन्छन् । एक जनाले एक पटकमा औसतमा २ सय ५० ग्राम दिसा गर्छ भनिन्छ । एक जनाले एक पटक गरेको दिसाबाट कति जनालाई रोग लाग्न सक्ने रहेछ भनेर यसबाट सहजै अनुमान लगाउन सकिन्छ । आफ्नो घरमा चर्पी छ भन्दैमा सुरक्षित छु भन्ने भ्रमलाई सबैले त्याग्नु पर्छ की । हाम्रो घर छेउमा गरेको खुल्ला दिसाका कारण हामी नैं बढी जोखिममा रहन्छौं ।

आफ्नो चर्पी अरुलाई प्रयोग गर्न दिन्न भन्न पाइन्छ । यसमा अरुले हस्तक्षप गर्ने कुरा हुँदैन । तर अप्ठेरोमा परेको व्यक्तिलाई सहयोग गर्नुपर्ने कर्तव्य पनि भुल्नुहुँदैन । सिन्धुपाल्चोक जिल्ला खुल्ला दिसामुक्त घोषणा भएर पूर्ण सरसफाइको एउटा सूचक पुरा भएको छ । तर शहरी क्षेत्र तथा केहि विद्यालयामा गु लुकाउने व्यबस्था गर्न अझै बाँकी छ । शहरी क्षेत्र, बसपार्क, बस बिसौनी, हाटबजार लाग्ने ठाउँहरुमा सार्वजनिक चर्पी र पानीको उपलब्धता गराउनु जरुरी छ ।

चर्पी बनाएर प्रयोग गरीरहेका घरधनीलाई पनि पूर्ण सरसफाइयुक्त राष्ट्र घोषणाका लागि उनीहरुको कर्तव्य वा उनीहरुले गर्न सक्ने योगदानका बारेमा अभिमुखिकरण गर्नुपर्छ । गु लुकाउने अभियानमा उनीहरुको योगदानका लागि प्रोत्साहन पनि गर्नुपर्छ । जिल्लामा गरिएको प्रतिवद्धतासँगै मेरो थप प्रतिवद्धता छ, खुल्ला ठाउँमा नहग्नुस् हाम्रो चर्पीमा स्वागत छ । सबै परिवारले यहि प्रतिवद्धता गरेर कार्यान्वयन गर्ने हो भने नेपाललाई खुल्ला दिसामुक्त मात्रै होइन छिट्टै पूर्ण सरसफाइयुक्त राष्ट्र समेत घोषणा गर्न सकिन्छ ।

sharmabinod2043@gmail.com

नोट : यो लेखकको निजी बिचार हो । यसमा सम्पादक जवाफदेही हुनेछैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार