
काठमाडौ : संघीय राजधानी काठमाडौलाई खुला दिसामुक्त घोषणा गरिएको छ । काठमाडौ जिल्लाका सबै नगरपालिकाहरु खुला दिसामुक्त घोषणा भएपछि काठमाडौ जिल्लालाई नै खुला दिसामुक्त घोषणा गरिएको हो । काठमाडौ महानगरपालिकालाई गत २४ गते मात्र खुला दिसामुक्त घोषणा गरिएको थियो ।

खुला दिसामुक्त घोषणा समारोहमा विकास साझेदारहरुको प्रतिनिधित्व गर्दै विश्व स्वास्थ्य संगठनका सुदन पन्थीले अब खुला दिसामुक्त घोषणा गरेर मात्र सरसफाइको दिगो लक्ष्य पूरा नहुने भएकाले अब यसको सुरक्षित विसर्जनमा ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले सरकारको नेतृत्वमा विकास साझेदार संस्थाहरु पूर्ण सरसफाइ सम्बन्धी क्रियाकलापलाई अगाडि बढाउन कटिबद्ध रहेको समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यस्तै खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालका अध्यक्ष राजेन्द्र अर्यालले खुला दिसामुक्त क्षेत्रलाई दिगोपना दिलाउन काठमाडौमा सार्वजनिक शौचालयहरु व्यवस्थित हुनुपर्ने र अतिक्रमित बस्तीहरुमा पनि सरसफाइ सुविधा हुनुपर्ने बताउनुभयो ।
घोषणा समारोहमा खानेपानी तथा ढल व्यवस्थापन विभागकी उपमहानिर्देशक मीना श्रेष्ठले सरकारको नीति तथा कार्यक्रममा समेत राष्ट्रलाई चालु आर्थिक बर्षभित्रै खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रम रहेकाले यही असोज १३ गते भव्य रुपमा खुला दिसामुक्त घोषणा गरिने बताउनुभयो ।

उहाँले खुला दिसामुक्त अवस्थालाई दिगो रुपमा कायम गर्न सार्वजनिक शौचालयहरु प्रयोगमैत्री हुनुपर्ने बताउनुभयो । ‘सार्वजनिक शौचालयहरु प्रयोगमैत्री नभएसम्म खुला दिसा गर्ने सम्भावना धेरै हुन्छ, त्यसैले शौचालयहरु अपाङ्गतामैत्री, महिलामैत्री हुनुपर्छ, अब बनाईने शौचालयहरुमा महिनावारी भएको समयमा प्याड फेर्न मिल्ने सुविधा सहितको शौचालय बनाउनुपर्छ’ उहाँले भन्नुभयो ।
उहाँले दिसाजन्य लेदो जथाभावी विसर्जन नगरी यसको प्रशोधन गरेर सुरक्षित तरिकाले मात्र विसर्जन गर्न सबै नगरपालिकाहरुलाई आग्रह गर्नुभयो ।
ओडिएफ सभ्यतासँग जोडिएको बिषय हो : प्रदेश सांसद सिलवाल
प्रदेश सभा सांसद नारायण सिलवालले खुला दिसामुक्त घोषणा गर्ने काम हाम्रो सभ्यतासँग जोडिएको बिषय भएकाले यसमा गर्व गर्नुपर्ने बताउनुभयो । उहाँले काठमाडौलाई खुला दिसामुक्त अवस्था कायम राख्न धेरै जटिल भएपनि यो अभिभारा सबैले पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।

‘सार्वजनिक शौचालयलाई व्यवस्थित नगरेसम्म काठमाडौलाई खुला दिसामुक्त घोषणा कायम राख्ने काम निक्कै जटिल काम हो, यसलाई तपाई हामी मिलेर पूरा गर्नुपर्छ, यो अभिभारा हामी सबैको हो’ उहाँले भन्नुभयो ।
खुला दिसामुक्त घोषणा समारोहका काठमाडौ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले खुला दिसामुक्त घोषणा, घोषणामा मात्र सीमित नहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । उहाँले धेरै कार्यक्रमहरु घोषणामा मात्र सीमित रहेकाले खुला दिसामुक्त कार्यक्रम त्यस्तो हुना नमिल्ने बताउनुभयो ।
‘सार्वजनिक शौचालयहरुमा छिर्दा बेकारमा छिरेछु भन्ने खालका छन्, यहाँ आफना्े घरको शौचालयलाई मात्र ध्यान दिन्छौं, यहाँ ७७ जिल्लाकै मान्छे आउने भएकाले बाहिरी जिल्ला र विदेशीलाई समेत उपयुक्त हुने शौचालय निर्माण गर्नुपर्छ’ उहाँले भन्नुभयो ।

घोषणा सभाका सभापति एवं जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससीसी) का अध्यक्ष शिवसुन्दर राजवैद्यले काठमाडौ जिल्लालाई खुला दिसामुक्त अवस्था कायम राख्न डिवाससीसीले अनुगमन गर्ने बताउनुभयो । उहाँले दिसाजन्य लेदो व्यवस्थापनका लागि काठमाडौ जिल्लाभित्रका सबै नगरपालिकाहरुको एकीकृत प्रयास आवश्यक रहेको बताउनुभयो ।
‘काठमाडौ जिल्ला ७७ औं जिल्ला हुने हो कि भन्ने डर थियो, तर ७५औं मा भए पनि खुला दिसामुक्त घोषणा गर्न सफल भयौं, अब यसको स्वच्छता कायम राख्ने अभिभारा तपाई हाम्रै काँधमा आएको छ’ उहाँले भन्नुभयो ।
घोषणा सभामा सरसफाइ अभियानमा टेवा पु¥याउने सरकारी कर्मचारीहरुलाई पुरस्कृत गरिएको थियो ।




1613 पटक हेरिएको 

