
कपिलवस्तु : प्रदेश ५ को खुला दिसामुक्त घोषणा गर्न बाँकी एक मात्र जिल्ला कपिलवस्तुलाई खुला दिसामुक्त घोषणा गरिएको छ ।तौलिहवामा भएको खुला दिसामुक्त घोषणा सभाका प्रमुख अतिथि प्रदेश ५ का प्रदेश प्रमुख उमाकान्त झाले कपिलवस्तु खुला दिसामुक्त भएको घोषणा गर्नुभयो ।
प्रदेश प्रमुख झाले जिल्ला खुला दिसामुक्त भएसँगै अब पूर्ण सरसफाइका लागि कार्यक्रम सञ्चालन गर्न जोड दिनुभयो । मानिसका आनीबानी परिवर्तनमा सुधार नआएसम्म यसले पूर्णता पाउन नसक्ने बताउनुभयो ।
खुला दिसामुक्त घोषणा गर्न बाँकी दुई नगरपालिका कृष्णनगर नगरपालिका र कपिलवस्तु नगरपालिकालाई खुला दिसामुक्त घोषणा गरेपछि सिङ्गो जिल्लालाई नै खुला दिसामुक्त घोषणा गरिएको हो । कपिलवस्तुमा १० स्थानीय तह छन् ।
जिल्ला समन्वय समितिका प्रमुख नारायण खनालले सबैको सहयोगले जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न सफल भएको बताउनुभयो । अझै पनि पूर्ण रुपमा शौचालय निर्माण नभएको र बनेका शौचालय पनि प्रयोगमा नआएको भन्दै उहाँले उक्त समस्या पूर्ण सरसफाइको क्रममा समेट्दै लगिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कपिलवस्तुमा खुला दिसामुक्त अभियान २०६७ साल देखि सुरु भएको थियो । जिल्लालाई पटक पटक खुला दिसामुक्त घोषणा गर्ने मिति तोकिए पनि घोषणा हुन सकेके थिएन । कार्यक्रममा बोल्ने अधिकांश बक्ताले जिल्ला खुला दिसामुक्त भएसँगै अब पूर्ण सरसफाइ तर्फ जानुपर्नेमा जोड दिएका दिए ।


1343 पटक हेरिएको 

