सबै जिल्ला ओडिएफ भएपछि पूर्व सदस्य सचिव श्रेष्ठको यस्तो सन्देश

 

काठमाडौ : देशको सबै जिल्ला खुला दिसामुक्त घोषणा भएपछि राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका पूर्व सदस्य सचिव प्रेम श्रेष्ठले एक मार्मिक सन्देश पोष्ट गर्नुभएको छ । प्रदेश १ को पहाडी जिल्ला भोजपुरलाई मुलुकको अन्तिम तथा ७७औं जिल्लाको रुपमा खुला दिसामुक्त घोषणा भएको केही घण्टाभित्रै उहाँले अव नेपाल प्राविधिक रुपमा एक घर एक शौचालय भएको देश भएको सन्देश प्रवाह गर्नुभएको छ ।

उहाँले खानेपानी तथा ढल व्यवस्थापन विभागको तत्कालीन वातावरणीय सरसफाइ शाखाको दुई बर्ष नेतृत्व गर्नुभएको थियो । खानेपानी तथा सरसफाइ क्षेत्रमा क्रियाशील संघसंस्थासँग प्रभावकारी समन्वय एवं सरसफाइ शाखाको कुशल नेतृत्व गर्नुभएका श्रेष्ठले पोष्ट गर्नुभएको सन्देश :

एक घर एक चर्पी : खुला दिसामुक्त अभियानवारे

भोजपूर जिल्ला ७७औँ खुला दिसामूक्त जिल्ला घोषणा भए पछि अव नेपाल प्राविधिक रुपमा एक घर एक शौचालय भएको देश भएको छ । नेपालको सरसफाइ अभियानको पहिलो र महत्वपूर्ण खुड्किलो पार भएको छ । यस अवसरमा नेपालको सरसफाइ अभियानमा बिभिन्न तह र स्थानमा बसी तन, मन, वचन र कर्मले लागेर काम गरेका हजारौं कार्यकर्ताहरु प्रति शीर झुकाई अभिवादन गर्दै वधाई तथा धन्यवाद अर्पण गर्न चाहन्छु ।

यसको लागि कुनै देश वा संस्था सँग ऋण लिइएको छैन । यसमा कुनै देशका विदेशी जनशक्तिको प्रयोग भएको छैन । यस अभियानबाट देशको पैसा बाहिर गएको छैन, बरु भित्रिएको छ ।

अभियानको शुरु शुरुमा नानाथरीका गाली, व्यङ्ग्य, कटाक्ष खाँदै, दुःख, पीडा व्यहोर्दै पनि अविचलित रुपमा लागेर यस अभियानलाई नेपालकै सवै भन्दा बढी जनसहभागिता भएको अभियानको रुपमा स्थापित गर्नुमा यस अभियानका अभियन्ताहरु र कार्यकर्ताहरुको मेहनत, त्याग र तपस्याकै भुमिका छ भन्नेमा कतै पनि द्धिविधा छैन । सरसफाइको लामो यात्राको पहिलो खुड्किलो, यस अभियानवारे भईरहेको केही टिका टिप्पणीवारे यस अभियानका एक साधारण कार्यकर्ताको हैसियतले केही कुरा राख्न चाहन्छु । सहमत असहमत हुने पूर्ण अधिकार यहाँहरुमा नै छ ।

१. सरसफाइ जस्तो अनन्त यात्राको पहिलो बिसौनी मात्र हो यो सफलता । अझै धेरै लामो वाटो तय गर्नुछ ।

२. अहिलेको अवस्थाले एक घर एक चर्पी अर्थात प्रत्येक नेपालीको घरमा कम्तिमा एक वटा न्युनतम सुविधा भएको र चालु अवस्थाको चर्पी रहेको भन्ने मात्र जनाउँछ । चर्पीको संख्या र स्तरमा वृद्धि गर्दै जाने, सवैले सँधै प्रयोग गर्ने वातावरणको सुनिश्चितता गर्दै जाने काम त बाँकी नै छ ।

३. यो नेपाल सरकारको नेतृत्वमा सरकारी, गैर सरकारी संस्थाहरु र करिव सवै जनताको सहभागितामा सञ्चालन भएको पूर्ण जनसहभागितामा सञ्चालित राष्ट्रिय अभियान हो ।

४. यसमा नेपाली जनता, नेपाल सरकार र केही देशवाट प्राप्त अनुदान रकमको मात्र लगानी भएको छ । यसको लागि कुनै देश वा संस्था सँग ऋण लिइएको छैन । यसमा कुनै देशका विदेशी जनशक्तिको प्रयोग भएको छैन । यस अभियानबाट देशको पैसा बाहिर गएको छैन, बरु भित्रिएको छ ।

५. घरायसी शौचालय निर्माणको लागि शुरु शुरुमा केही अनुदान दिने गरिए तापनि सरसफाइ गुरु योजनाको कार्यान्वयन पछि मूलतः शुन्य अनुदानमा काम गरिएको छ । हरेक घर धनीले आफ्नो शौचालय आफ्नै खर्चमा बनाएका छन् । अपवादको रुपमा केही स्थानिय तहहरुले गरिव परिवारलाई दिएका सामान्य सहयोग बाहेक ।

६. आफ्नो लागि आफ्नै खर्चमा आफैले बनाएको हुँदा बनेका करिव शत प्रतिशत चर्पीहरु प्रयोग गरिएका छन् । (अनुदानमा बनाइएका केही पूराना चर्पीहरु अपवादमा)

७. यस अभियानमा नेपालका सवै ७५३ स्थानिय सरकारको सहभागिता छ । (तत्कालिन सवै नगरपालिका र गाउँ विकास समितिहरु)

८. एक घर एक चर्पीको निश्चितता गर्न धेरै तहको अनुगमन र स्वीकृति अनिवार्य रहेको छ । सवै घरले चर्पी निर्माण गरेपछि त्यहाँको समुदायले अनुगमन गरी स्वीकृति प्रदान गर्ने, समुदायले भनेपछि वडा (तत्कालिन गाउँ विकास समिति) ले अनुगमन गरी स्वीकृति प्रदान गर्ने, वडाले भनेपछि पालिकाले अनुगमन गर्ने र स्वीकृति दिने, पालिकाले भने पछि जिल्लाले अनुगमन गरी स्वीकृति प्रदान गर्ने र जिल्लाले दाबी गरेपछि क्षेत्रले (प्रदेशले) अनुगमन गरी स्वीकृति प्रदान गर्ने । यसरी धेरै तहमा अनुगमन र जाँच गर्दै स्वीकृति लिनुपर्ने भएको हुँदा अन्यथा हुने सम्भावना न्युन रहन्छ ।

९. शौचालय निर्माण र सरसफाइलाई नै विकास भनेर परिभाषित गर्न सकिएला नसकिएला, तर सरसफाइ विकासको पूर्बाधार भने पक्कै हो । सरसफाइ विना विकास दिगो नहुन सक्छ भने विकास बिना सरसफाइ । सरसफाइ विकासको आधार मात्र हैन, विकासको सूचक पनि हो ।

१०. नेपालमा व्यापक जनसहभागिता सहित राष्ट्र व्यापी रुपमा सफल सञ्चालन भएका थोरै अभियानहरु मध्ये यो खुला दिसामुक्त अभियान पनि एक हो । यो अभियान विश्वका धेरै देशको लागि पनि अनुकरणीय उदाहरण बन्न पुगेको छ । छिमेकी देश भारत सहित संसारका धेरै देशका अभियन्ताहरुले नेपालको यस अभियानबाट सिकेर सफल प्रयोग समेत गरेका छन् ।

११. चर्पी निर्माण र प्रयोग केवल एक प्राकृतिक दैनिक क्रियाकलाप मात्र होइन, यसमा मान्छेको स्वतन्त्रता, स्वाभिमान, सुरक्षा, स्वास्थ्य, र सँस्कार पनि गाँसिएको हुन्छ । सफा रहन पाउनु, सवै नेपालीको मौलिक अधिकार हो भने यस प्रकारको वातावरण निर्माण गर्नु सरकारको दायित्व हो ।

१२. यस अभियानको सफलतालाई दिगो बनाउँदै जानु र पूर्ण सरसफाइ तर्फ दरिलो पाईला चाल्नु आजको आवश्यकता र चुनौती हो । सम्पूर्ण सरसफाइ अभियन्ता र कार्यकर्ताहरु (एक मित्रको भाषामा ‘सरसफाइ योद्धाहरु) मा अवका दिनहरुमा पूर्ण सरसफाइ अभियानको सफल कार्यान्वयनको लागि शुभकामना दिंदै एक घर एक शौचालयको सफलताको लागि वधाई तथा धन्यवाद !

राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका पूर्व सदस्य सचिव प्रेम श्रेष्ठको फेसबुकबाट 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार