फोहोरमैला व्यवस्थापनबारे संसदीय समितिमा छलफल

 

काठमाडौ : आर्थिक र राजनीति चलखेलले उपत्यकाको फोहोर व्यवस्थापन गर्न नसकिएको सांसदले बताएका छन् । संसद्को विकास तथा प्रविधि समितिको आइतबार बसेको बैठकमा अधिकांश सांसदले केही नेताले फोहोरमाथि राजनीति गरेकै कारणले समस्या विकराल बन्दै गएको आरोप लगाए ।

उपत्यकाको फोहोर २०६२ सालदेखि नुवाकोटको सिसडोलमा फाल्ने गरिएको छ । नुवाकोटको बन्चरेडाँडा ल्यान्डफिल साइट नबनेसम्म २ वर्षका लागि भनेर सिसडोलमा फोहोर फ्याँक्न थालिएको थियो । सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले समस्याको दीर्घकालीन समाधान गर्न फोहोरमाथि हुने गरेको राजनीति अन्त्य गर्नुपर्ने बताएको खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।

‘फोहोरमा केहीले राजनीति गरिरहेका छन्,’ उनले भने । नेता टोपबहादुर रायमाझीले पनि फोहोरमैला व्यवस्थापनसम्बन्धी १४ वर्षदेखि निरन्तर उच्चस्तरीय छलफल हुँदै आए पनि समस्या जस्ताको तस्तै हुनुका पछाडि फोहोरमाथि हुने गरेको राजनीति नै भएको बताए । ‘यसमा राष्ट्रिय अन्तर्राष्ट्रिय गिरोह सक्रिय छन्,’ उनले भने, ‘राजनीति अन्त्य नभएसम्म समस्या समाधान गर्न सकिँदैन ।’

फोहोर व्यवस्थापनसम्बन्धी गुरुयोजना बनेको छैन । मेसिन खरिद गर्ने भनेका छन् । यो कमिसन खाने पहिलो बाटो भएको भन्दै नुवाकोटका सांसद बहादुरसिंह तामाङले जिम्मेवारी बाँडफाँट नगरी कुनै पनि सामान खरिद नगर्न समितिका सभापतिमार्फत सरकारको ध्यानाकर्षण गराए ।

विकास समिति सदस्य जिप छिरिङ लामाले भने यस विषयलाई राजनीतीकरण नगर्न आग्रह गरे । उनले भने, ‘समितिसँग विकास गर्ने अधिकार छैन । निर्देशन र सुझाव मात्र दिने हो ।’ नुवाकोटका सांसद हितबहादुर तामाङले चुनावमा फोहोर एजेन्डा नबनाएको बताए । ‘राजनीतिको विषय बनाउन हुँदैन भनेका छौं,’ उनले भने ।

अहिले ककनी गाउँपालिका र धुनीबेंसी नगरपालिकाका प्रमुखले महँगा गाडी चढ्न थालेकोमा सांसद सञ्जय गौतमले शंका व्यक्त गरे । उनले यी गाडी काठमाडौं महानगरपालिकाले खरिद गरिदिएको भन्ने कुरा बाहिर आएकोसुनाए । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले फोहोर व्यवस्थापनबारे छलफल भएको तर हल्ला भएका कुनै पनि कार्य सत्य नभएको बताए । सहरी विकास मन्त्रालयका सचिव मधुसूदन अधिकारीले शंकाको दृष्टिकोणबाट नहेर्न आग्रह गरे । नुवाकोटका सांसद नारायण खतिवडाले फोहोरमा राजनीति नगर भन्ने तर कसैले जिम्मेवारी नलिने प्रवृत्तिले गर्दाबिग्रेको सुनाए ।

बोर्डले आर्थिक चलखेल गरेको आरोपबैठकमा ककनी गाउँपालिकाका–२ का वडाध्यक्ष केदार पौडेलले फोहोरमैला निजी क्षेत्रलाई जिम्मा दिने नाममा लगानी बोर्डले अर्बौं रुपैयाँ चलखेल गरेको आरोप लगाए । उनले फोहोरमैला व्यवस्थापन गर्न नसक्नुका पछाडि बोर्डको चलखेल मुख्य रहेको भन्दै आक्रोश पोखे । विकास समिति सभापति कल्याणीकुमारी खड्काले बोर्डको भूमिका शंकास्पद देखिएको बताइन् । ‘काठमाडौं महानगर र बोर्डको भूमिका के हो रु,’ उनले बोर्डका प्रतिनिधिलाई लक्ष्य गरेर प्रश्न गरिन्, ‘बोर्डले निजी कम्पनीलाई फोहोर संकलन गर्न दिएको सम्झौता लुकाउनुपर्ने कारण के हो रु’

प्रत्युत्तरमा बोर्डका सहसचिव बलराम रिजालले स्पष्ट रूपमा जानकारी दिन सकेनन् । उनले काठमाडौं महानगरपालिकालगायत १० वटा नगरपालिकाको फोहोर संकलन गर्न ल्यान्डफिल बेस नेपाली संस्थासँग सम्झौता गर्ने तयारीमा रहेको बताए । ‘ललितपुरमा फोहोर संकलन गर्न ललितपुर महानगरमा कागजात पठाइसकेका छौं,’ उनले भने, ‘निजी क्षेत्रले काम गर्न चाहेमा सार्वजनिक निजी साझेदारी मोडेलअन्तर्गत सम्झौता गर्न चाहेमा गर्ने बोर्डको जिम्मेवारी हो ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार