बाझोगरा खानेपानीमा अब समुदायको हक

 

धादिङ : धादिङको ज्वालामूखी गाउँपालिकाको वडा नं. ४ बाझोगरामा निर्मित खानेपानी योजना समुदायलाई हस्तान्तरण गरिएको छ । बाझोगरा खानेपानी, सरसफाइ तथा स्वच्छता योजनाको सार्वजनिक सुनुवाई, उदघाटन तथा हस्तान्तरण कार्यक्रमको आयोजना गरी खानेपानी योजना समुदायलाई हस्तान्तरण गरिएको शान्ति नेपालका अनुगमन मुल्याङ्कन सहायक अधिकृत सुरेश सिग्देलले जानकारी दिनुभयो ।

सिग्देलका अनुसार खानेपानी योजनाबाट १२ घरधुरीका ४७ जना लाभान्वित भएका छन् । हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि एंवम् गाउँपालिका अध्यक्ष विनोद राज तिमल्सिनाले वडा नं. ४ कै पिछडिएको र कुनै संस्थाको प्राथमिकतामा नपरेको गाउँमा शान्ति नेपाल संस्थाले खानेपानी समस्याको पहिचान गरी योजना सञ्चालन गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

शान्ति नेपाल र वडा नं. ४ को साझेदारीमा वडा नंं. ४ को बाझोगरामा एक घर एक धारा निर्माण गरिएको हो । शान्ति नेपालको .२ लाख ४२ हजार ५८२ रुपैयाँ, वडा कार्यालयको ३ लाख रुपैयाँ समुदायको ४२ हजार ६ सय नगद र १ लाख ३३ हजार एक सय रुपैयाँ बराबरको श्रमदान गरी ७ लाख १८ हजार २ सय ८२ रुपैयाँमा योजना सम्पन्न भएको हो ।

खानेपानी आयोजना निर्माणमा सहयोग पु¥याउने संस्था शान्ति नेपाललाई धन्यवाद दिंदै वडा अध्यक्ष कृष्णबहादुर गुरुङले खानेपानी योजनाको संरक्षणमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो । उहाँले प्रत्येक घरमा एक धारा सँगसँगै स्वच्छ गाउँको सूचकहरु शौचालयको उचित प्रयोग, भाँडा सुकाउने मचानको व्यवस्था, सुधारिएको चुलोको प्रयोग, फोहोर व्यवस्थापनका लागि बोराको प्रयोग गर्ने गरेको देख्न पाउँदा खुशी व्यक्त गर्दै सरसफाइको दोस्रो चरणमा प्रवेश गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रमका विशेष अतिथि शान्ति नेपालका परियोजना संयोजक विष्णु भट्टले सुरक्षित खानेपानीको सुनिश्चितता र आयोजनाको दिगोपनाका लागि बेलाबेलामा खानेपानीको गुणस्तर जाँच गर्नुपर्ने र मर्मत सम्भार कोषको व्यवस्था गर्न सुझाव दिनुभयो ।

खानेपानी योजना हस्तान्तरण कार्यक्रम बाझोगरा खानेपानी उपभोक्ता समितिका अध्यक्ष फत्तबहादुर भट्टको अध्यक्षतामा सम्पन्न भएको शान्ति नेपालका अनुगमन मुल्याङ्कन सहायक अधिकृत सुरेश सिग्देलले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार