सरसफाइका माध्यमबाट सामाजिक परिवर्तनको साक्षी बन्दा

 विनोद शर्मा 

पश्चिमको बाजुरा र कालिकोटदेखि सुदूर पूर्वको झापासम्म सरसफाइ प्रबर्धनको माध्यमबाट सामाजिक परिवर्तनसँग जोडिने सौभाग्य पाएँ, एक कर्ताको रुपमा रहने अवसर प्राप्त गरें र आफूलाई प्रत्येक परिवर्तनको साक्षीको रुपमा उभ्याउने मौका पाएँ ।

बाह्र वर्षमा खोलो पनि फर्किन्छ, सत्य डुग्रिदै हिड्न थाल्छ र प्रत्येक दश वर्षमा केही न केही सामाजिक/राजनीतिक परिवर्तन भैरहेको हुन्छ भनिन्छ । वितेको बाह्र तेह्र वर्ष, मेरा लागि सरसफाइ र स्वच्छताको माध्यमबाट सामाजिक परिवर्तनलाई नजिकबाट नियाल्ने एक स्वर्णिम समय बन्यो ।

समाजशास्त्रको विद्यार्थीका नाताले समाज परिवर्तनका सिद्धान्त पढ्ने लाखौं साथीहरुको बीचमा केही थोरै भाग्यमानी मध्येको एक ठान्छु आफूलाई, जसले पश्चिमको बाजुरा र कालिकोटदेखि सुदूर पूर्वको झापासम्म सरसफाइ प्रबर्धनको माध्यमबाट सामाजिक परिवर्तनसँग जोडिने सौभाग्य पाएँ, एक कर्ताको रुपमा रहने अवसर प्राप्त गरें र आफूलाई प्रत्येक परिवर्तनको साक्षीको रुपमा उभ्याउने मौका पाएँ ।

वि.सं. २०६३ सालमा स्याङ्जा जिल्लाको मल्याङकोटमा पुगेर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका पदाधिकारीहरुका लागि सञ्चालन गरिएको सरसफाइ प्रबर्धन तालिम मेरो लागि पहिलो प्रशिक्षणको अवसर थियो । त्यसअघि स्कूलहरुमा केही वर्ष वातावरण, स्वास्थ्य तथा शारीरिक शिक्षा अध्यापन गरेको भए पनि तालिमको रुपमा यो पहिलो हुन पुग्यो । त्यस पश्चात्को लामो कालखण्ड सीप हस्तान्तरणद्वारा सशक्तीकरण (नेष्ट) पोखरामा आवद्ध भै मध्यपश्चिम र सुदूरपश्चिमका बस्तीहरुमा खानेपानी, सरसफाइ र स्वच्छता प्रवद्र्धन सम्बन्धी विभिन्न तालिम प्याकेज तयारी र सञ्चालनमा बित्यो ।

 

पश्चिमको लोभलाग्दो जाँगर

अछामको माष्टमण्डौमा भेला भएका युवाहरुको जोस र बाजुराका प्रकाश साहजस्ता सञ्चारकर्मीहरुले पश्चिमलाई जुरुक्कै बोक्ने आँट गरे ।

भौगोलिक रुपमा विकट भए पनि मध्यपश्चिम र सुदूरपश्चिम (जसलाई मैले समग्रमा यस आलेखमा पश्चिम भनेको छु) निकै लोभलाग्दो जाँगर भएको क्षेत्रको रुपमा मैले पाएको छु । २०६४ सालको थालनीताका सुर्खेतमा सरसफाइ प्रवद्र्धनसम्बन्धी तालिम सञ्चालन गर्दा सहभागीहरु रातको १२ बजेसम्म बसेर भोलिपल्टको तयारी गरेको क्षण अहिले पनि झल्झली आइरहन्छ ।

दैलेख जिल्लाको विकट कुसापानी गाउँमा स्थानीय समुदायलले गाउँलाई सफा राख्न गरेका प्रयास मेरा मानसपटलमा ताजै छन् । कालिकोटमा पूर्ण सरसफाइ प्रवद्र्धन प्रशिक्षक प्रशिक्षण कार्यक्रमका सहभागीले बनाएका कार्ययोजनाले कालिकोटलाई खुल्ला दिसामुक्त बनाउन धेरै हदसम्म बल पु¥याएको छ ।

जाजरकोटमा झाडापखालाले बस्ती नै उजाड पारिरहेको समयमा जुम्लाका युवाहरुले गरेको प्रतिवद्धताले जुम्ला जिल्लालाई अघि बढ्नका लागि प्रेरित गरेको छ । अछामको माष्टमण्डौमा भेला भएका युवाहरुको जोस र बाजुराका प्रकाश साहजस्ता सञ्चारकर्मीहरुले पश्चिमलाई जुरुक्कै बोक्ने आँट गरे ।

 

डडेल्धुराको पोखरा गाउँका कैनी समुदायको सौहाद्र्धतामा रहने मौका मिलेको छ, सरसफाइ अभियानकै क्रममा । बर्दियाको सरसफाइ अभियानका सफलता र असफलताको लेखाजोखा गरेको छु, सरसफाइ अभियानकै क्रममा ।

कास्कीदेखि अर्घाखाँचीसम्म

सरसफाइ अभियानका दौरान देशलाई जति फन्को मारे पनि, कास्की र अर्घाखाँची मेरा लागि निकै अविष्मरणीय जिल्ला बनेका छन् । कास्कीमा रहेर अभियान व्यवस्थापन, प्रज्वलन, आमपरिचालन, समूह प्रज्वलन लगायतका विषयमा अनुभव बटुल्ने अवसर प्राप्त गरेको छु । नेष्टको तर्फबाट जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति र क्षेत्रीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिमा सदस्यको रुपमा प्रतिनिधित्व गर्दा धेरै व्यवहारिक सिकाइ भएको छ ।

प्रज्वलनका क्रममा खुकुरी देखाउने गाउँहरुमा खुल्ला दिसामुक्त घोषणा हुँदा कति सम्मान पाइँदोरहेछ भन्ने गतिलो भोगाइ सार्दिखोलामा भोगेको छु । राष्ट्रिय सरसफाइ गुरुयोजना नै सार्वजनिक नहुँदै जिल्लालाई खुल्ला दिसामुक्तको अवस्थासम्म पुर्‍याउन के कस्ता रणनीति अपनाउनुपर्ने रहेछ भन्ने कुरा, कास्कीका तत्कालीन स्थानीय विकास अधिकारी गुरु सुवेदीसँगको सामिप्यतामा सिक्ने मौका पाएको छु ।

सिक्ने मौका मात्र मिलेन, सामाजिक परिवर्तन कसरी हुँदोरहेछ र सामाजिक रुपान्तरणका कर्ताहरुले कसरी काम गर्दारहेछन् भन्ने कुराको व्यवहारिक भोगाइ समेत भयो ।

अर्घाखाँची मेरा लागि चुनौति र सम्भावना दुबै बोकेको जिल्लाका रुपमा रहे । कास्की कामका हिसावले गृहजिल्ला समेत भएको हुनाले काम गर्न तुलनात्मक रुपमा सहज थियो । तथापि, खुल्ला दिसामुक्त अभियानको बारेमा बुझाइको स्पष्टता, अभियान व्यवस्थापन सीप, अनुगमन प्रणाली, मानव संसाधन विकास र परिचालन, अभियान सञ्चालन लगायतका विषयमा कास्की जिल्लामा नै कार्यरत रहँदा सिक्ने मौका मिल्यो ।

नेपालको पहिलो खुल्ला दिसामुक्त जिल्ला भएको हुनाले कास्की जिल्लामा खुल्ला दिसामुक्त अभियान सहजीकरण र सञ्चालन गर्दा हाम्रा लागि सबै चिज नौला थिए, हाम्रासामु कतिपय उदाहरण समेत थिएनन् ।

 

ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमको सहयोगमा सीप हस्तान्तरणद्वारा सशक्तीकरण (नेष्ट) को तर्फबाट अर्घाखाँचीमा रहेर खुल्ला दिसामुक्त अभियान सहजीकरण गर्दा अभियान व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी आफैमाथि पर्नुका साथै आफ्नो रैथाने ठाउँ नभएकोले धेरै चुनौतिहरु भोग्नुपर्‍यो । यिनै चुनौति, कठिनाइ, कामको व्यस्तता र नयाँ ठाउँमा काम गर्दा अझै धेरै कुरा सिक्ने मौका मिल्यो ।

सिक्ने मौका मात्र मिलेन, सामाजिक परिवर्तन कसरी हुँदोरहेछ र सामाजिक रुपान्तरणका कर्ताहरुले कसरी काम गर्दारहेछन् भन्ने कुराको व्यवहारिक भोगाइ समेत भयो ।

अहिलेसम्म पनि नेपालमा दलित, गरिब, विपन्न र भूमिहिनहरुलाई सरसफाइका वाधकको रुपमा लिने मानसिकता बाँकी रहेको सन्दर्भमा नेपालमा सबैभन्दा बढी पहाडी दलितको बसोबास रहेको कालिकोट जिल्लालाई नेपालको आठौं खुल्ला दिसामुक्त जिल्ला बनाउने क्रममा स्थानीय साझेदारहरुले कुन रणनीति अपनाउनुभयो र त्यहाँ कसरी काम भयो भन्ने कुरा मेरो जीवनको अर्को ठूलो सिकाइ मध्येको एक रहेको छ ।

 

यसैगरी म आफै अभियानको जिल्ला संयोजकको रुपमा काम गरेको अर्घाखाँचीमा सबैभन्दा बढी दलित रहेको साविक खन गाविसलाई जिल्लाको छैठौं खुल्ला दिसामुक्त गाविस बनाउने क्रममा विपन्नहरुको परिचालन, समाज परिवर्तनप्रति उनीहरुको लगाव र तत्परतालाई नजिकबाट नियाल्न पाएँ । राजनीतिक क्षेत्र, सामाजिक क्षेत्र र सरकारी क्षेत्र : तीन पक्षको सहकार्य र सहयात्रा प्रभावकारी बन्न सकेमा कुनै पनि सामाजिक परिवर्तनका अभियान कतिसम्म द्रुततर गतिमा अघि बढ्न सक्छन् भन्ने उदाहरण अर्घाखाँचीले राम्ररी सिकायो ।

चुनौतीको चाङ बोकेको तराई मधेश

जति समुदायको सहभागिता बढ्दै गयो, त्यति नै अभियानप्रति समुदायको अपनत्व समेत बढ्दै गयो, कठिनाइ कम हुँदै गए । 

नेपालमा सामाजिक परिवर्तनको सवालमा मध्य तराई मधेश क्षेत्रलाई सधैंभरि चुनौति नै चुनौतिको चाङ बोकेको क्षेत्रको रुपमा चित्रित गर्ने गरिन्थ्यो । ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमको जिल्ला संयोजकको रुपमा सन् २०१४ मा धनुषा प्रवेश गर्दा मेरा सामु दुईवटा मुख्य चुनौति थिए : एक जना पहाडी सहजकर्ताले तराई मधेशमा कसरी प्रभावकारी सहजीकरण गर्ने, र चुनौतिहरुको विश्लेषण गरेर कसरी सामाजिक अभियान सञ्चालन गर्ने ।

 

धनुषाको सुदूरपूर्वको इनर्वादेखि दक्षिणको लग्मा गढागुठी र नगराइनसम्मको विश्लेषण गर्दा एउटा निस्कर्ष निस्कियो : यहाँ विकास सहजकर्ता र स्थानीय समुदायबीच अन्तरक्रियाको कमी छ । यो कमीलाई कम गर्न सकियो भने खुल्ला दिसामुक्त अभियानलाई प्रभावकारी रुपमा अघि बढाउन सकिन्छ भन्ने लाग्यो ।

सोही अनुसार रणनीति तय गरेर अघि बढ्ने क्रममा कुनै गाउँमा जाँदा समुदायले गाविसको कार्यालयमा थुनेर पनि छोडे । कुनै समुदायमा स्थानीय अगुवाहरुले समुदायसँग छलफल र अन्तरक्रिया गर्न बन्देज लगाए । भिन्न भिन्न रणनीति, कौशल र शैली अपनाएर गरिएको निरन्तरको सहजीकरणपछि समुदायको सहभागिता बढ्न थाल्यो ।

जति समुदायको सहभागिता बढ्दै गयो, त्यति नै अभियानप्रति समुदायको अपनत्व समेत बढ्दै गयो, कठिनाइ कम हुँदै गए । मूलतः स्थानीय समुदायको सहभागिता वृद्धि गर्नका लागि रणनीतिक परिचालन गर्दागर्दै सिंगै मध्यतराई अहिले सम्भावनाको खानी बनेर उदायो ।

धनुषा र महोत्तरीबाट झापा आउँदा कसरी स्थानीय अगुवाहरुमा इख जगाउनुपर्छ र सञ्चार क्षेत्रसँग कसरी रणनीतिक सहकार्य गर्नुपर्छ भन्ने कुराको अभ्यास गर्ने मौका मिल्यो । अभियान थालनी भएको १८ महिनाको अवधिमा ३९ हजारभन्दा बढी घरमा चर्पी बनाएर झापा जिल्ला खुल्ला दिसामुक्त घोषणा भयो ।

 

वास्तवमा, झापा जिल्लामा खुल्ला दिसामुक्त अभियान अघि बढाउँदा समुदायमा रहेका सम्पूर्ण अवयवहरुलाई कसरी सँगसँगै लिएर जाने भन्ने विषयको सैद्धान्तिक सिकाइलाई व्यवहारिक रुपमा प्रयोग गर्ने मौका मिल्यो । सञ्चार क्षेत्रले चाह्यो भने छोटो समयमा विशाल सामाजिक परिवर्तनको अगुवाइ गर्न सक्छ भन्ने उदाहरण झापाको सञ्चार क्षेत्रले प्रमाणित गरेर देखायो । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाले जिल्ला खुल्ला दिसामुक्त घोषणाको अवसरमा मलाई प्रदान गरेको “सरसफाइ योद्धा” सम्मानबाट योगदानको कदर हुनेरहेछ भन्ने कुराले सन्तोष दिलायो ।

 

पहिलो चरणका सिकाइहरु

 

नेपालको पहिलो खुल्ला दिसामुक्त जिल्ला कास्कीदेखि अर्घाखाँची, धनुषा, महोत्तरी, झापा, मोरङ र पूर्ण सरसफाइ अभियानमा सुनसरीसम्म सहजीकरण गर्ने क्रममा सामाजिक परिवर्तनका ज्यामी भनेका समुदायका मध्यम र तल्लो वर्ग नै हुन् भन्ने कुरामा कुनै दुईमत छैन ।

नेपाल खुल्ला दिसामुक्त घोषणाको पूर्वसन्ध्यामा छ । अबको पाँच दिनमा राष्ट्र नै खुल्ला दिसामुक्त घोषणा हुँदैछ । यो सरसफाइ अभियानको पहिलो खुट्किलोमात्र हो । सरसफाइ अभियानको दोस्रो चरणको औपचारिक थालनी अब हुँदैछ, र अबको चरणमा झनै आमपरिचालनको आवश्यकता छ भन्ने कुराको बुझाइ आमसमुदायमा अहिले पनि देखिदैन ।

जति जनसहभागिता वृद्धि हुँदै जान्छ, सामाजिक रुपान्तरण त्यति नै छिटो हुन्छ भन्ने कुराको पहिलो र गतिलो उदाहरण नेपालमा खुल्ला दिसामुक्त अभियान बनेको छ । सामाजिक रुपान्तरणमा गरिब, दलित, विपन्न र सुकुम्बासी होइन, केही बुझेका र अलिकति हुनेखानेहरुले कहिलेकाहीं समस्या सृजना गर्छन् भन्ने आम बुझाइ छ । यसलाई न्यूनीकरणका लागि अभियानका सबै चरणहरुमा समुदायको सार्थक सहभागिताको सुनिश्चितता गर्न सक्नुपर्छ भन्ने सिकाइ भएको छ ।

 

भूकम्पपश्चात् दोलखा जिल्लामा समेत रहेर काम गर्ने मौका मिल्यो । भूकम्पले घर र चर्पीसँगसँगै भत्काइदियो । तर, दोलखाबासी आफू त्रिपालमा बसेर पनि पहिलो प्राथमिकता सुरक्षित चर्पीलाई दिएको देख्दा लाग्यो ः सामाजिक परिवर्तनका सवालहरुलाई जनताको सवालको रुपमा स्थापित गर्न सकेमा हामी विकास साझेदार र विकास सहजकर्ताहरुले ठूलो पापड बोल्नु नै पर्दैन सामाजिक परिवर्तनका लागि ।

 

नेपालको पहिलो खुल्ला दिसामुक्त जिल्ला कास्कीदेखि अर्घाखाँची, धनुषा, महोत्तरी, झापा, मोरङ र पूर्ण सरसफाइ अभियानमा सुनसरीसम्म सहजीकरण गर्दा, अनि सहजीकरणका विभिन्न चरणमा कालिकोट, बाँकी, भोजपूर, दैलेख, सुर्खेत, बाजुरा, बर्दियामा अन्तरक्रिया गर्ने क्रममा सामाजिक परिवर्तनका ज्यामी भनेका समुदायका मध्यम र तल्लो वर्ग नै हुन् भन्ने कुरामा कुनै दुईमत छैन ।

समाजको माथिल्लो वर्ग स्वार्थबाट बढी प्रेरित हुन्छ, तर विपन्न वर्गका स्वार्थ नै ठूला हुँदैनन्, उनीहरुलाई नीतिनियम र कानुन मिच्न डर लाग्छ, र सामाजिक परिवर्तनको अभियानमा सहभागी हुन्छन्, पूर्ण सकारात्मक रुपमा ।

अर्कोतर्फ, सामाजिक अभियानमा सहभागी हुँदा विपन्न र वञ्चितीमा पारिएका वर्गको आत्मसम्मान, प्रतिष्ठा र स्वाभिमान बढ्नुका साथै सामाजिक सीपहरुको समेत वृद्धि हुँदै जाने रहेछ । खुल्ला दिसामुक्त अभियानले कसरी समुदायमा रहेका विपन्न, दलित, गरिब र असहायहरुको सोचाइ, धारणा र व्यवहारमा परिवर्तन ल्याएको छ भन्ने विषयमा क्रमशः लेख्दै जानेछु ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार