तपाई हामीले उपभोग गर्ने मःमः, छोइला, सेकुवा, सुकुटी जस्ता मासुजन्य पदार्थ उत्पादनका लागि दैनिक ८ सय राँगाभैंसी, १५ सय खसीबोका, ७० हजार किलो कुखुरा, २ सय सुँगुर र ७ हजार किलो माछा खपत हुन्छ, काठमाडौमा । राँगाभैंसीको जिउँदो तौलबाट करिब ३०–३२५ मात्र मासु निस्किन्छ । ३०० किलोको राँगाबाट करिब १०० किलो मासु, २६ किलो छाला, ४० किलो हड्डी, १०–१२ लिटर रगत, १०–२२ किलो बोसो र ४० – ५० किलो लादी निस्किन्छ ।
काठमाडौमा बध गरिने राँगाभैंसी सबैजसो तरार्ईबाटै ल्याइन्छ । ३०० किलोको राँगालाई ट्रकमा उभ्याएर ल्याइन्छ जसमध्ये १०० किलो प्रयोगमा आउँछ । बाँकी करिब ७५ किलो छाला र हड्डी फर्काएर उतै लगिन्छ भने लादी जत्ति खोलामा फालिन्छ ।
१०–१२ किलो बोसोको केही भाग तरार्ईमै लगिन्छ र केही भाग मःमः को मासुमा मिसाइन्छ । फोक्सो लगायतका केही मासुको भाग पनि फालिन्छ । एउटा चौपायाको करिब १०० किलो फोहोर फाल्दा काठमाडौँमा दैनिक ५० टन फोहोरमैलाको भार पर्दछ । काठमाडौको नदीनाला स्वच्छ बनाउने हो भने पशु बध गर्दा उत्पादन हुने दैनिक ५० टन फोहोरको विस्थापनको अर्को विकल्प छैन ।
तराईको दक्षिणी भेगमा बधशाला सञ्चालन गरौं
२०५७ सालमा काठमाडौँ महानगरपालिकाले आधुनिक पशु वधशाला निर्माणका लागि गतिलो पहलकदमी लिएको थियो । तर उपत्यका भित्रका कुनै पनि टोल र स्थानका नव संभ्रान्त वासिन्दाले आफ्नो नजिकै ठूलो स्केलको वधशाला निर्माण गर्न स्वीकृति नै दिएन । उपत्यका भित्र न्यूनतम ५/६ लाख प्रति आना भन्दा सस्तो जग्गा प्लटिंग नभएको ठाउँ नै बाँकी छैन । यस्तो अवस्थामा काठमाडौमा बधशाला निर्माण पूर्णरुपमा असम्भव नै देखिन्छ ।
दैनिक ३ सय देखि ५ सय राँगाभैंसी काट्ने स्थलभन्दा १ किलोमिटर वरपर कोही वस्न चाहँदैन । उपत्यका बाहिर राजमार्गको छेऊ छाउमा पनि बस्तीविहीन क्षेत्र भेटिदैन । सबै खोलानाला कुनै न कुनै धार्मिक दृष्टिले महत्वपूर्ण दोभानमा पुग्छ अथवा छठपर्वको पूजा गर्ने स्थानमा पुग्छ जसमा रगत वा लादीको संसोधित भाग पनि मिसाउनु हुँदैन ।
काठमाडौ उपत्यका नजिकैका जिल्लाहरु धादिंग, नुवाकोट, गोरखा वा चितवनमा पनि वधशाला निर्माण र सञ्चालन गर्न सम्भव छैन । वातावरणीय र सामाजिक/सांस्कृतिक प्रभाव मूल्याङकनकै चरण पार गर्न सक्दैन । पृथ्वी राजमार्गको आसपासको सबै पानी देवघाटमा पुग्छ जसको चहलपहल र धार्मिक महत्व बढ्दै गएको छ ।
उपत्यकाको करिब ५० लाख जनसंख्याको लागि आवश्यक बधशाला तरार्ईको पनि दक्षिणी भागमा मात्र सञ्चालन गर्न सकिन्छ जहाँबाट वगेको पानी बीचमा बस्तीलाई नछिचोलिकन सीमाना पार गर्दछ ।
मासु पसल सुधारको मापदण्ड संसोधन गरौं
काठमाडौ उपत्यकामा बसोबास गर्ने जनसंख्याको ठूलो हिस्साले राँगाभैंसीको मासु प्रयोग गर्दैनन् । कतिपय धार्मिक आस्था राख्ने समुदायले त मासु बध गरेको दृश्य र गन्ध पनि आपत्तिजनक मान्छन् तर यस्ता दृश्यबाट भाग्ने ठाउँ छैन ।
बाटोमा हिड्दा यत्रतत्र मासु खुल्लै ओसारिएको, छरपष्ट पारेर बेच्न राखिएको र रगत बाटो सम्म तप तप चुहिएको देख्न सकिन्छ, यस्तो अवस्था नेपाल बाहिर कुनै पनि देशको राजधानीमा छैन ।
गुणस्तर र स्वास्थ्यको कु्रा त टाढाको कुरा हो । बाग्मती, विष्णुमती र मनहराकै फोहोरपानी प्रयोग गरेर तयार गरिएको मासुको गुणस्तर मापन गर्न सकिदैन । पसलमा देखिने गरी फिजाएर राख्ने प्रचलन छ । राँगा÷भैसीको मासु पसल पुरानै ढाँचाका छन् । यसका कारण महानगर नै कुरुप देखिन्छ । यसका लागि मासु पसल सुधारको मापदण्ड संसोधन गरी कडाइका साथ लागु गर्नुपर्ने देखिन्छ ।
नदी किनारको मासु उद्योग हटाऔं
सबै जनावर तराईबाट ल्याएर उपत्यकाका नदीखोलाको बगरमा वध गरिन्छ र छरिएर रहेका पसलहरूमा पुर्याइन्छ । राँगाभैंसी ट्रकमा लोड गरेर काठमाडौँ सम्म ल्याउने सार्वजनिक स्थानमा बध गर्ने र खुल्ला रूपमा पसलमा पुर्याउने प्रक्रिया अवैज्ञानिक र स्वास्थ्यलाई प्रतिकुल असर पार्ने खालको छ ।
पशु बध गर्दा उत्पादित दैनिक ५० टन फोहोरलाई एकत्रित गरेर Rendering मेशिनमा हाल्ने हो भने कुखुराको दानाको लागि आवश्यक MBM बनाउन सकिन्छ जुन तरार्ईमा मात्र सम्भव छ । हड्डी मीलबाट दुर्गन्ध आउने र रेन्डरिंग प्लान्टका लागि प्रशस्त पानी चाहिने कारण काठमाडौमा यो काम सम्भव छैन ।
उपत्यकाको खोलानालाको छेउछाउमा बाटो बनाउने, हरियाली सहितको पार्क बनाउने र खोलालाई स्वच्छ राख्ने सरकारको नीति कार्यान्वयनमा गईसकेकोले राँगाभैंसीको बध गरी मासु तयार गर्ने ठाउँको विकल्प यथाशीघ्र खोजी गरिहाल्नु पर्छ । नदी किनारको मासु उद्योग नहटाई सरकारका धेरै परियोजना अगाडि बढाउनै सकिदैन ।
काठमाडौमा तयारी मासु मात्र बेचौं
तराईमा नै बध गरी तयारी मासु ल्याउँदा दुवानी मुल्य सस्तो पर्छ भने चिस्याएको स्वस्थ मासु मात्र काठमाडौमा आइपुग्छ । दैनिक ५० टन फोहरबाट काठमाडौले मुक्ति पाउँछ । जनावरलाई कम दुःख हुन्छ र उपत्यकाले सभ्यताको परिचय दिन्छ ।
नेपालका तराईमा पूर्वमा सुनसरीदेखि पश्चिममा बर्दिया सम्ममा रहेका आधा दर्जन बधशालाबाट भेटेरेनरी डाक्टरबाट निरिक्षण गरिएको स्वस्थ मासु मात्र काठमाडौ भित्रिनेछ । अहिले भन्दा सस्तो मूल्यमा उच्च गुणस्तर र स्वस्थ मासु पाइनेछ । खोला किनार, बाटो, पसल, टेम्पो आदिमा असरल्ल मासु देखिने छैन ।
वधशालाबाट चिस्यानयुक्त ट्रकमा काठमाडौँ ल्याई पुनः चिस्यान केन्द्रबाटै पसलहरूलाई वितरण गरिनेछ । पुख्र्यौली मासुको पेशा अँगाल्दै आएका व्यक्ति, परिवारलाई मात्र मासु विक्रीमा सहभागी गराइनेछ ।
उपभोक्ताले स्वस्थ, स्वच्छ र गुणस्तरीय मासुको उपभोग गर्न पाउनेछन् । साथै सरकारलाई मासु जाँच ऐन लागु गर्न पनि सजिलो पर्नेछ ।
(काठमाडौबाट पशु बधस्थल हटाएर तयारी मासु मात्र विक्री गर्ने काठमाडौ महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठको विस्तृत कार्ययोजना सहितको सामग्री अर्को अंकमा प्रकाशन गर्नेछौं, हेर्न नछुटाउनुहोला – सम्पादक )