कास्कीलाई नेपालको पहिलो खुल्ला दिसामुक्त जिल्ला बनाउँदा

 

सूर्य थापा/विनोद शर्मा

संयुक्त राष्ट्र संघको सन् २०१५ सम्ममा नेपालका ५३ प्रतिशत जनतालाई सरसफाइ सुविधा पुर्‍याउने सहस्राव्दी विकास लक्ष्यभन्दा पनि एक कदम अगाडि बढेर नेपाल सरकारले सन् २०१७ सम्ममा सबै जनतालाई आधारभूत सरसफाइ सुविधामा पहुँच पुर्‍याउने राष्ट्रिय लक्ष्य निर्धारण गर्‍यो ।

सो राष्ट्रिय लक्ष्यलाई सफलिभूत पार्नु हामी सबैको साझा लक्ष्य र दायित्व थियो । त्यसैले, तत्कालीन जिल्ला विकास समितिको अगुवाइमा कास्की जिल्लामा रहेका सम्पूर्ण संघसंस्था, निकाय, निजी क्षेत्र, व्यवसायिक संघसंस्था, सञ्चार क्षेत्र सबैले जिल्लालाई खुल्ला दिसामुक्त अवस्थामा पुर्‍याउनु आफ्नो प्रमुख दायित्वको रुपमा लिएका थियौं ।

तत्कालीन जिल्ला विकास समिति कास्कीको २०६४ सालमा सम्पन्न जिल्ला परिषदले कास्की जिल्लालाई वि.सं. २०६७ सालभित्र खुल्ला दिसामुक्त घोषणा गर्ने योजना अघि सार्‍यो । सो पन्ध्रौं जिल्ला परिषद्मा जिल्लाका सबै घरमा व्यवस्थित चर्पी बनाई प्रयोग गर्न लगाउनुका साथै आम नागरिकमा जोखिमपूर्ण अवस्था (Critical Time) मा हात धुने वानीको विकास गराइ सरसफाइ आनिवानीमा परिवर्तन ल्याउने लक्ष्यका साथ खुला दिसा मुक्त जिल्ला बनाउने अभियान सञ्चालन गर्ने योजना पारित गरिएको थियो ।

यस योजनालाई सफल बनाई कास्की जिल्लालाई नेपालकै पहिलो खुल्ला दिसामुक्त जिल्लाको रुपमा पहिचान बनाउन हामी सबै आतुर थियौं । हामी केही दिनमात्र ढिलो हुँदा पनि चितवन जिल्ला पहिलो खुल्ला दिसामुक्त जिल्ला बन्न सक्ने अवस्था थियो । त्यसैले पनि, कास्कीवासी र कास्कीमा क्रियाशील हामी संघसंस्था एवम् निकायहरु कास्कीलाई जुनकुनै बल लगाएर पनि पहिलो खुल्ला दिसामुक्त जिल्ला बनाउन चाहन्थ्यौं ।

यसरी सबै क्षेत्रको व्यापक सहयोग र कास्कीका जनताको सक्रिय सहभागिताका कारण पूर्व निर्धारित समयभन्दा केही पछाडि २०६८ असार १० का दिन सम्मानीय प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा नेपालको पहिलो खुलामुक्त जिल्ला कास्की घोषणा गर्न सफल भयौं ।

यो हामीले हाम्रो जिल्लाका लागि बनाएको पहिलो र सबैभन्दा महान् पहिचान थियो । सरसफाइ गुरुयोजना २०६८ सार्वजनिक नहुँदै गरिएको जिल्ला खुल्ला दिसामुक्त घोषणा नेपालमा त सबैका लागि नौलो थियो नै, अगुवाका रुपमा हामीले धेरै मान्यताहरु स्थापित गर्नुपर्ने अवस्था हामीसामु थियो ।

 

कठिन, तर अत्यावश्यक र सम्भव अभियान

कास्की जिल्लालाई वि.सं. २०६७ सालभित्र खुल्ला दिसामुक्त घोषणा गर्ने कार्य करिब साढे दुई वर्षसम्म रफ्तारका साथ अघि बढ्न सकेन । सरसफाइमा अनुदानमुखी पद्धतिका कारण सम्पन्नहरुले समेत चर्पीका लागि अनुदान पर्खिने वानीका कारण अभियान सञ्चालनको थालनीको वर्षमा अपेक्षित उपलब्धी हासिल हुन थिएन ।

कास्की जिल्लाका सन्दर्भमा, धेरै पहिलेदेखि सरकारी एवम् गैरसरकारी क्षेत्रबाट खानेपानीसँगै सरसफाइलाई समेत समावेश गरिएको भए पनि अभियानकै रुपमा कार्यक्रम अगाडि नलगेसम्म लक्ष्यमा पुग्न नसकिने निस्कर्ष निकाली जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले वृहत् अभियान सञ्चालन गर्ने निधो गर्‍यो । झ्वाट्ट हेर्दा महत्वाकांक्षी जस्तो लाग्ने यस अभियान अन्ततः सफल भैछाड्यो ।

२०६६ सालमा जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले गहन छलफलपछि खुल्ला दिसामुक्त घोषणा गर्न बाँकी विभिन्न गाउँ विकास समितिहरुको जिम्मेवारी निश्चित संघसंस्था तथा निकायहरुलाई प्रदान गर्ने निर्णय गर्‍यो ।

सोही निर्णयलाई शिरोधार्य गर्दै लेखनाथ नगरपालिका, वर्ल्ड भिजन इण्टरनेशनल, नेष्ट पोखरा, माछापुछ्रे विकास संघ, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, असल छिमेकी सहयोग संघ, नौलो घुम्ती नेपाल, कोपिला नेपाल, बाल हितकारी परियोजना, आई.एन.एफ. नेपाल लगायतका संघसंस्था एवम् कार्यालयहरु मुख्य साझेदारका रुपमा क्रियाशील रहे ।

यसमध्ये नेष्ट पोखराले तीन गाउँ विकास समितिमा खुल्ला दिसामुक्त अभियान सहजीकरण गर्नुका साथै संस्थागत रुपमा जिल्ला खुल्ला दिसामुक्त घोषणाका लागि आर्थिक रकम समेत उपलब्ध गरायो । यस क्रममा खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रमा क्रियाशील कास्कीमा रहेका सम्पूर्ण गैरसरकारी संस्थाहरुले कुनै परियोजनाविना र दाताको सहयोग विना नै खुल्ला दिसामुक्त अभियानका लागि आर्थिक सहयोग समेत गरे ।

जिल्लामा स्थानीय सहयोग संयन्त्र बनाउन र परिचालन गर्नका लागि गरिएको यस किसिमको श्रोत व्यवस्थापनले “विकासका लागि बाह्य दाता नै चाहिन्छ” भन्ने मान्यतालाई चिर्न समेत निकै ठूलो सहयोग पुग्यो ।

हामीले अपनाएको बाटो

सरसफाइ गुरुयोजना पारित भै सार्वजनिक नभएको भए पनि, त्यसका मर्म र मूलभूत मान्यताहरुलाई कास्की जिल्ला खुल्ला दिसामुक्त अभियानको क्रममा अवलम्वन गरिएको थियो । स्थानीयको अगुवाइ र शून्य अनुदानमा खुल्ला दिसामुक्त अभियान अघि बढ्नुपर्छ भन्ने मान्यतालाई अवलम्वन गरी आमपरिचालनको नीतिलाई अंगीकार गरियो ।

 

विद्यालय सेवा क्षेत्रमा विद्यालयको अगुवाइ त साविकका गाविसलाई एक न्यूनतम इकाइको रुपमा लिई गाविस स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको अगुवाइ र गाविसस्तरीय कार्ययोजना निर्माण गरी अभियानलाई अघि बढाइएको थियो ।
खानेपानी तथा सरसफाइको क्षेत्रमा करिब तीन दशकको संस्थागत अनुभवको आधारमा होशियारीपूर्वक अभियानलाई अगाडि बढाइरहेका थियौं । पूर्ण सरसफाइ कायम गर्नका लागि शौचालय सबैभन्दा पहिले व्यक्तिको मस्तिष्कमा बन्नुपर्छ भन्ने मान्यतामा राख्थ्यौं हामी । त्यसैले तालिमको सिलसिलामा नै जागृतिमूलक क्रियाकलाप सञ्चालन गरिएको थियो ।

यसपश्चात् पनि निरन्तर रुपमा सञ्चालन गरिएका औपचारिक अनौपचारिक जागृतिमूलक क्रियाकलापको नतिजास्वरुप शौचालय निर्माणको अभियान नै सञ्चालन भयो, त्यो पनि समुदायकै अगुवाइमा । तालिम पश्चात समुदायमा आएको चर्पी बनाउने लहरमा प्राविधिक सुपरिवेक्षण र समुदायलाई अझै परिचालन गर्ने कार्यमा निरन्तर रुपमा सहजीकरण गरिरह्यौं ।

पूर्ण सरसफाइ अभियानको सम्बन्ध मानव जीवनका विभिन्न पक्षसँग हुने भएकोले यसका अन्य साझेदारहरुको पहिचान र परिचालनमा समेत हामी उत्तिकै सजकताका साथ लागिरह्यौं । सो अभियानलाई गोबर ग्याँस कम्पनीहरुसँग समेत समन्वयत्मक रुपमा सञ्चालन गरेर पक्की चर्पी सहितको गोबरग्याँस प्लाण्ट निर्माण गरिएका थिए ।

अनुदान होइन, अभियानमा साझेदारी

जिल्लाभित्र रहेका कुनै पनि सरकारी, गैरसरकारी, निजी तथा सामाजिक संघसंस्था एवम् निकायहरु खुल्ला दिसामुक्त अभियानभन्दा बाहिर रहेनन् । सबैले आफ्नो क्षमता, क्षेत्र र अवस्था अनुसार अभियानमा साझेदारी गरे ।

समुदायको अगुवाइमा सञ्चालन हुने सरसफाइ पद्धतिका मूलभूत मान्यतालाई अवलम्वन गर्दै अनुदानमुखी पद्धतिको सट्टा अभियानमा साझेदारीको मान्यतालाई अवलम्वन गरियो । आफ्नो लगानीमा चर्पी बनाउन सक्नेहरुले चर्पी बनाइसकेपछि चर्पी बनाउन बाँकी घरहरुलाई समुदायले नै पहिचान गरी, जिल्ला तह एवम् स्थानीय तहमा गठन गरिएका स्थानीय सहयोग संयन्त्र मार्फत शौचालय निर्माणका लागि आंशिक सहयोग गरियो ।

जिल्लाभित्र रहेका कुनै पनि सरकारी, गैरसरकारी, निजी तथा सामाजिक संघसंस्था एवम् निकायहरु खुल्ला दिसामुक्त अभियानभन्दा बाहिर रहेनन् । सबैले आफ्नो क्षमता, क्षेत्र र अवस्था अनुसार अभियानमा साझेदारी गरे । यो भन्दा पनि रोचक पक्ष त, जिल्लाका सम्पूर्ण घरधुरी, कार्यालय, संघसंस्था, निकाय, राजनीतिक दल, सञ्चार क्षेत्र सबै नै यसका सरोकारवाला र जिम्मेवार साझेदारको रुपमा क्रियाशील रहे ।

खुल्ला दिसामुक्त घोषणा समारोहमा देखिएको उत्साह

खुल्ला दिसामुक्त घोषणा समारोहस्थलमा हात धुने स्थल निर्माण गरी सबै सहभागीले साबुन पानीले हात धोएर मात्र समारोहमा सहभागिता जनाउने प्रवन्धले सहभागीहरुमा साबुन पानीले हात धुने वानीको विकास गराउन सहयोगी बन्यो ।

तत्कालीन प्रधानमन्त्री झलनाथ खनालज्यूको प्रमुख आतिथ्यतामा वि.सं. २०६८ आषाढ १० गते आयोजना गरिएको कास्की जिल्ला खुल्ला दिसामुक्त घोषणा समारोहमा कास्की जिल्लाका सम्पूर्ण स्थानीय तहहरुबाट झाँकी र ब्यानरसहित सहभागिता रह्यो ।

यसैगरी सम्पूर्ण साँस्कृतिक समूह, प्रतिष्ठान, सम्पूर्ण संघसंस्था, शैक्षिक संस्था एवम् प्रतिष्ठानहरुबाट सहभागिता रह्यो । विशाल पोखरा सभागृह समेत खुल्ला दिसामुक्त घोषणा समारोहका लागि अपर्याप्त भयो ।

खुल्ला दिसामुक्त घोषणा समारोहस्थलमा हात धुने स्थल निर्माण गरी सबै सहभागीले साबुन पानीले हात धोएर मात्र समारोहमा सहभागिता जनाउने प्रवन्धले सहभागीहरुमा साबुन पानीले हात धुने वानीको विकास गराउन सहयोगी बन्यो । समारोहमा गरिएको प्रतिवद्धताले सबैलाई वानी व्यवहार परिवर्तनका लागि प्रतिवद्ध बनायो भने सहयोगीहरुलाई गरिएको सम्मानले सामाजिक रुपान्तरणको अभियानमा सामेल हुन सबैलाई प्रेरित बनायो ।

कास्कीमा रहेका अखबार र एफ. एम. रेडियोहरुले खेलेको सक्रिय र नेतृत्वदायी भूमिकाका कारण जिल्लाभर नै सूचना प्रवाह गर्न निकै सहज भयो । हामीलाई गौरव छ : हाम्रै बलबुता र हाम्रै ल्याकतले हामी नेपालको पहिलो खुल्ला दिसामुक्त जिल्ला बन्न सफल भयौं, सबैभन्दा बढी जनसहभागितामा सम्पन्न भएको सामाजिक रुपान्तरणको अगुवा जिल्ला ।

नेपाल खुल्ला दिसामुक्त घोषणा सन्दर्भमा

कास्की जिल्ला खुल्ला दिसामुक्त घोषणाको आठ वर्षपछि अहिले नेपालका सम्पूर्ण जिल्लाहरु खुल्ला दिसामुक्त घोषणा भै यही असोज १३ गते राष्ट्र नै खुल्ला दिसामुक्त घोषणा हुँदैछ । नेपाल सरकारका सम्माननीय प्रधानमन्त्रीज्यूको प्रमुख आतिथ्यतामा राष्ट्र खुल्ला दिसामुक्त घोषणा गर्ने तयारी भैरहेको छ ।

सरसफाइ अभियानको पहिलो पाइला पूरा गरी दोस्रो पाइलामा प्रवेश गर्दैछ नेपाल, राष्ट्र खुल्ला दिसामुक्त घोषणासँगै । सरसफाइलाई व्यक्तिको जीवनपद्धति, संस्थाको दायित्व, स्थानीय तहको नीति कार्यक्रम र राज्यको प्राथमिकताको विषय बनाउन नसकेसम्म यसले गति लिन सक्तैन ।

त्यसैले जसरी, राष्ट्रिय सरसफाइ गुरुयोजनाले खुल्ला दिसामुक्त अभियानलाई निश्चित दिशा र गति दियो, त्यसैगरी राष्ट्र खुल्ला दिसामुक्त घोषणासँगै पूर्ण सरसफाइ गुरुयोजनासमेत सार्वजनिक गर्न सकेमापूर्ण सरसफाइ अभियान समेत प्रभावकारी बन्न सक्नेछ ।
जसरी, जिल्ला खुल्ला दिसामुक्त घोषणामा सम्पूर्ण स्थानीय तहहरुको सार्थक सहभागिता आवश्यक हुन्छ, त्यसैगरी राष्ट्र खुल्ला दिसामुक्त घोषणामा समेत स्थानीय सरकारको रुपमा रहेका सबै स्थानीय तह र अनुगमन एवम् संयोजनको भूमिका खेल्ने जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिहरुको सहभागितालाई सुनिश्चित गर्न सक्नृुपर्छ । स्थानीय सरकारको सहभागिताविनाको घोषणाले पहिलो पाइला सफल बनेको सन्देश त देला, तर पूर्ण सरसफाइ अभियानको पाइला आशातीत गतिमा अघि बढ्न सक्तैन ।

राष्ट्र खुल्ला दिसामुक्त घोषणा सम्पूर्ण सरसफाइ अभियानकर्मीहरुको राष्ट्रिय महाउत्सव हो । देशभर नै खुल्ला दिसामुक्त अभियान सहजीकरण गरेका विकास सहजकर्ता (सहजीकरण गर्ने निकाय) हरुको सहभागितालाई यस अवसरमा सुनिश्चित गर्न छुटाउनु हुँदैन ।
दिलोज्यान दिएर खुल्ला दिसामुक्त अभियान सफल बनाउन क्रियाशील सहजकर्ता एवम् अभियानकर्ताहरुको सहभागिता जति बढाउन सक्यो, त्यसले पूर्ण सरसफाइ अभियानको गतिशीलतालाई बढावा दिन्छ ।

नेपाल सरसफाइ अभियानमार्फत सामाजिक रुपान्तरणको दोस्रो चरणमा प्रवेश गर्दैछ । खुल्ला दिसामुक्त अभियानमा विश्वमा नै प्रभावकारी बनेको नेपालको सरसफाइ अभियान पूर्ण सरसफाइ अभियानको चरणमा समेत उदाहरणीय बन्न सकोस्, सतत् कामना ।

(नेष्ट पोखराको खानेपानी तथा सरसफाइ शाखाका तत्कालीन संयोजक सूर्य थापा र तत्कालीन कार्यक्रम अधिकृत विनोद शर्माद्वारा लिखित एवम् नेष्ट अन्तरदृष्टिको २०६८ असोजको अंकमा प्रकाशित लेखलाई राष्ट्र खुल्ला दिसामुक्त घोषणाका सन्दर्भमा आवश्यक परिमार्जन सहित प्रकाशन गरिएको छ )

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार