वास क्षेत्रका खम्बा : जसले गुरुयोजना बन्नु अघि नै ओडिएफ घोषणा गरेका थिए

 

खानेपानी, सरसफाइ र स्वच्छता (वास) को क्षेत्रमा परिचित नाम हो बोध नारायण श्रेष्ठ । सरसफाइ गुरुयोजना २०६८ लागु भएपछि सरसफाइ अभियानमा हजारौले योगदान पुर्‍याएका छन् । तर बोध नारायण श्रेष्ठ यस्ता व्यक्ति हुनुहुन्छ जो सरसफाइ अभियान सुरु हुनु अघि नै वास सेक्टरमा क्रियाशील हुनुहुन्थ्यो र आज पर्यन्त यही क्षेत्रमा हुनुहुन्छ ।

सन् १९९८ देखि नेपाल रेडक्रस सोसाइटी धादिङ शाखामा रहेर खानेपानी र सरसफाइको क्षेत्रमा प्रवेश गर्नुभएका श्रेष्ठले सन् २००५ देखि नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखामा युनिसेफ नेपालको सहयोगमा सञ्चालित विद्यालय सरसफाइ कार्यक्रममा सल्लाहकारको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँले युनिसेफ नेपाल मध्य तथा पश्चिमाञ्चल क्षेत्रीय कार्यालय भरतपुरमा सन् २००९ देखि २०१२ सम्म खानेपानी तथा सरसफाइ परामर्शदाताको रुपमा काम गर्नुभयो । परामर्शदाता रहँदा कास्की, तनहुँ, चितवन, नवलपरासी लगायत जिल्लामा काम गरिसक्नुभएका श्रेष्ठ सन् २०१३ देखि युनिसेफ नेपालको फिल्ड कार्यालय जनकपुरमा खानेपानी तथा सरसफाइ अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ । सरसफाइ अधिकृत श्रेष्ठसँग सरसफाइको उतारचढावका बिषयमा वास खबरले गरेको कुराकानीको सम्पादित अंश ।

 

सरसफाइ गुरुयोजना लागु हुनुभन्दा पहिले नै कसरी काम गर्नुभयो ? त्यो बेला त चर्पी बनाउन लगाउने काम अहिले जस्तो सजिलो पक्कै थिएन होला ?

म सन् १९९८ देखि विद्यालय सरसफाइ कार्यक्रम, सन् २००५ देखि विद्यालयको अगुवाइमा पूर्ण सरसफाइ कार्यक्रम र सन् २००८ देखि समुदायमा पनि सरसफाइ कार्यक्रम सञ्चालनमा आवद्ध भए । मलाई कहिल्यै नविर्सने याद छ, तनहुँको जामुनेमा चर्पी बनाउन सम्झाउन जाँदा एकजना हलो जोत्दै गरेको मानिसले लखेटेको । विशेष गरी सरसफाइ आरम्भ गर्दाका दिनमा भोगेका समस्या, पढे लेखेका मानिसहरुले चर्पी नबनाउन गरेका बहानाबाजी, तिमीहरुका जागीरका लागि हामीले सित्तैमा चर्पी बनाउन पर्ने ? भन्ने जस्ता प्रश्नहरुको सामना गर्न परेका दिन । यहाँ खुला दिसामुक्त अभियान सम्भव छैन भन्ने उच्च तहका भनिने ब्यक्तिहरुको भनाईले पटक पटक आफ्नो आत्म विश्वासलाई हल्लाइदिन्थ्यो । मैले जति जिल्लामा काम गरे, मुख्य भुमिकामै रहेर काम गर्ने अवसर पाएँ ।

अभियानको ओझ बढाउन र नीति, कार्यक्रम वजेट भित्र परोस् भनेर उच्च तहमा रहेका ब्यक्तिहरुलाई समावेश गराउन पहलहरु गर्ने र गाउँगाउँमा रातदिन काम गर्ने प्रज्वलक र स्वयंसेवकहरुलाई ज्यादै माया र सम्मान गर्ने गरेको छु ।

यो सफलता कोही एक व्यक्तिको कारणले सम्भव भएको होइन । यसमा आम व्यक्ति, विद्यालय, विद्यार्थी र संघसंस्थाहरुको अहं भूमिका छ । मेरो व्यक्तिगत कुरा गर्दा मुख्यत मैले ५ वटा कुरामा ध्यान दिए । पहिलो कुरा सानो समुदायमा काम गरेर सफलता प्रस्तुत गर्ने । यसको उदाहरण वि.सं. २०६३ साल जेष्ठ महिनामा तनहुँ जिल्लाको ब्यास नगरपालिकाको वडा नं. ४ को सुन्धाराको ३२ घरलाई विद्यालयको अगुवाइमा पूर्ण सरसफाइ विधिबाट खुला दिसामुक्त घोषणा गरियो । त्यो समयमा उक्त ३२ घरलाई खुला दिसामुक्त गर्दा अहिले पालिकालाई खुला दिसामुक्त गर्दा भन्दा ठूलो उपलब्धी भएजस्तो लागेको थियो ।

दोस्रो रणनीति भनेको त्यो उपलब्धीलाई प्रचार गर्ने, जिल्ला तहमा ल्याउने र तत्कालीन जिल्ला विकासको नेतृत्वमा जिल्ला तहमा योजना बनाउन पहल गर्ने र त्यसलाई तत्कालीन गाउँ विकास समितिहरुमा लागु गर्न भूमिका निर्वाह गरें । तेस्रो कुरा जनशक्ति विकास, परिचालन, समुदाय तहमा महिला र बालबालिकाहरुको सहभागिता र नेतृत्व, विशेष गरी नयाँ नौला र सिर्जनशील कार्यहरुमा जोड दिने कार्यहरु जस्तै स्थानीय प्रज्वलनका विधिहरु ट्रिपल टी (टी. भी., टेलिफोन र ट्वाइलेट (TTT) विकास गर्ने र कार्यान्वयन गर्ने कार्य गरियो ।

चौथो रणनीतिको रुपमा म जहाँ काम गरेको भएपनि यस सरसफाइ अभियानमा सधैं सरकारको नेतृत्व स्थापित गर्न कोसिस गरें, गफ गरिन काम गरे, सघाएँ । कहिल्यै जागीरको चिन्ता गरिन काम र नतिजाको चिन्ता गरे । यस अभियानमा भिजेका अभियान्ताहरु म मात्र होइन सबैले जागीर भन्दा माथि उठेर काम गर्नु भएको छ । त्यसैले त आज हामी नेपालको सरसफाइको सफलताको खुशीयाली मनाउन लागि रहेका छौ । पाँचौं कुरा तराइको सम्बन्धमा छ ।

मैले तराइमा समस्या नै समस्या छ भन्ने ब्यक्तिहरुको सोचाइ परिवर्तन गर्न सकेमा तराइमा फरक खालका सम्भावना देख्न सकिन्छ भन्ने हिसावले अभियानमा सहभागी भएँ । मेरा शुरुका सरसफाइ सभा, सम्मेलन, गोष्ठीमा यसै प्रकारका प्रस्तुतिहरु राख्ने गरेको थिए । यसले मानिसमा आश र आत्मसम्मान जगायो भन्ने लाग्छ ।

सरसफाइ गुरुयोजना लागु हुनुभन्दा ५ बर्ष अघि नै तनहुँको एउटा गाउँलाई खुला दिसामुक्त घोषणा गर्नुभएछ, त्यस यता आफू संलग्न भएर खुला दिसामुक्त घोषणा भएका कति जिल्ला छन् ? याद गर्नुभएको छ ?

खुला दिसामुक्त एकल प्रयासले मात्र सम्भव हुनै सक्दैन । खुला दिसामुक्त अभियान भन्ने वित्तिकै यो साझा पहल भनेर बुझिन्छ । नेपाल रेडक्रस सोसाइटी र युनिसेफ नेपालमा रहेर मैले नेपालको पहिलो, दोस्रो, तेस्रो, चौथो खुला दिसामुक्त जिल्लाहरु क्रमशः कास्की, चितवन, तनहुँ र मकवानपुरका साथै त्यसपछि नवलपरासी, काभ्रे, रौतहट, पर्सा, बारा, सर्लाही, धनुषा, महोत्तरी र आफ्नै जिल्ला धादिङमा काम गरें । जे होस, जिल्ला र क्षेत्रीय तहमा काम गरेर अभियानको आरम्भ र झण्डै अन्त्य सम्मको अनुभव लिने भाग्यमानी ब्यक्ति मध्ये म एक हुँ जस्तो लाग्छ । संयोग भनौ नेपालको पहिलो खुला दिसामुक्त जिल्ला कास्कीको घोषणा तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले गर्नु भएको थियो भने नेपाल खुला दिसामुक्त अभियान सफलताको घोषणा पनि प्रधानमन्त्रीबाटै हुँदैछ ।

सरसफाइ क्षेत्रकै साथीहरु भन्नुहुन्छ, बोधनारायण जी ले जुन जिल्ला टेक्नुहुन्छ ? त्यो जिल्ला ओडिएफ भएरै छाड्छ । यहीको संलग्नताले पनि त्यही देखायो । खासमा के जादु चलाउनुहुन्थ्यो त्यस्तो ?

खुला दिसामुक्त अभियान कोही पनि एक्लो ब्यक्तिले सफल बनाउन सम्भव छैन । जे होस म जहाँ गएँ त्यहाँ सरसफाइ अभियानले राम्रो गति लिएको र सफल भएको छ । म नितान्त ब्यक्ति भन्दा पनि युनिसेफ नेपाल तथा काम गरेको संस्थाको प्रतिनिधित्व गर्ने ब्यक्ति हो भनेर लिन आवश्यक छ । यद्यपि सबै ब्यक्ति वा जागीरेहरुको आफ्नै कार्यशैली, स्वभाव र क्षमता पनि हुन्छ । म एक्लै काम गर्दिन, समूहमा काम गर्छु । एक्लै जस लिने कोसिस कहिल्यै गर्दिन, जस बाँड्ने गर्छु ।

जिल्लाको सिकाई र जिल्लाहरुले अवलम्बन गरेका राम्रा नीति, रणनीति र संरचना स्वरुपहरु समेटिएका छन् । त्यसैले मलाई लाग्छ नेपालको सरसफाइ गुरुयोजना गाउँगाउँको गर्भबाट निस्केको हो ।

असफलता र विग्रेको काममा जिम्मेवारी सहस्र रुपमा लिन्छु । चुनौतीपूर्ण कामहरु गर्न आनन्द आउँछ । सधै सरकारको नेतृत्व र प्रणाली स्थापित गराउन कोसिस गरें । यस अभियानको ओझ बढाउन र नीति, कार्यक्रम वजेट भित्र परोस् भनेर उच्च तहमा रहेका ब्यक्तिहरुलाई समावेश गराउन पहलहरु गर्ने र गाउँगाउँमा रातदिन काम गर्ने प्रज्वलक र स्वयंसेवकहरुलाई ज्यादै माया र सम्मान गर्ने गरेको छु ।

उनीहरुमा उत्साह र अदम्य साहस पैदा हुने रहेछ यसले । अभियान सफल पार्न मैलै सधै नयाँ प्रकारका रणनीतिहरु सिर्जना गर्न कोशिस गरे । मैले काम गरेको जिल्ला जसले नेपालमा सबैभन्दा पहिला सरसफाइ बास्केट फण्ड रणनीति ल्याएको थियो । यो क्षेत्रमा मैले तीव्र ईच्छा शक्तिका साथ प्रतिवद्ध भएर काम गरे । मेरो सरसफाइको गुरु नमस्तेलाल श्रेष्ठबाट यही सिके ।

नेपालको सरसफाइ गुरुयोजना यो सफलताको कोशेढुंगा हो । अन्य क्षेत्रमा यस्ता योजना आएपछि काम हुन्छ तर सरसफाइ गुरुयोजना कास्की, चितवन र तनहुँ जिल्ला खुला दिसामुक्त भएपछि आएको छ । यसमा जिल्लाको सिकाई र जिल्लाहरुले अवलम्बन गरेका राम्रा नीति, रणनीति र संरचना स्वरुपहरु समेटिएका छन् । त्यसैले मलाई लाग्छ नेपालको सरसफाइ गुरुयोजना गाउँगाउँको गर्भबाट निस्केको हो ।

अन्य जिल्लाको तुलनामा तराईलाई खुला दिसामुक्त घोषणा गर्नु पक्कै चुनौतीपूर्ण थियो । तर पछिल्लो दुई तीन महिनाको अन्तरालमा तराई जुरुक्कै उठ्यो र ओडिएफ भयो, यो कसरी सम्भव भयो ?

नेपाललाई नै खुला दिसामुक्त गर्ने मिति जारी भएपछि सबैमा बढी नैतिक दवाव सिर्जना भयो । प्रमुख जिल्ला अधिकारी, पत्रकार, सुरक्षा निकायको भूमिका असाध्यै प्रशंसनीय भयो । सबैको पहल र जोडबलले उठिरहेको तराई मधेश दौडन सफल भयो र आजको यो सफलता प्राप्त भयो ।

आधार पहिल्यै बनेको थियो तराइमा । संघीयताको क्रममा नेपाल सरकारको विभिन्न निकायहरुको भुमिका स्पष्ट नभएकोले अभियान केही सुस्ताएको थियो । यो सुस्तता धेरै सरसफाइ अभियन्ताहरुलाई भयो । त्यसपछि फेरी केन्द्र पनि तात्यो, प्रदेश र स्थानीय तहलाई पनि तताउन लाग्यो । मन्त्रालयहरुबाट निर्देशनहरु आउन थाले तल्ला निकायहरुमा । यस क्षेत्रमा काम गर्ने संघसंस्थाहरु त फिल्डमा अभियान सञ्चालन गरिरहेका नै थिए ।

प्रदेश स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति गठन भयो । मुख्यमन्त्री स्वच्छता अभियान अवसर बन्यो । स्वयं मुख्य मन्त्रीनै सरसफाइ सम्मेलनहरुमा संलग्न हुनुभयो । देशका प्रायः सबै जिल्लाहरु खुला दिसामुक्त भए तर तराइ मधेश हुन सकेको छैन भन्ने जानकारी पछि जनप्रतिनिधहरुमा पनि थप जागरण र प्रतिवद्धता आयो । अझै नेपाललाई नै खुला दिसामुक्त गर्ने मिति जारी भएपछि सबैमा बढी नैतिक दवाव सिर्जना भयो । प्रमुख जिल्ला अधिकारी, पत्रकार, सुरक्षा निकायको भूमिका असाध्यै प्रशंसनीय भयो । सबैको पहल र जोडबलले उठिरहेको तराई मधेश दौडन सफल भयो र आजको यो सफलता प्राप्त भयो । केही कमीकमजोरी सबैले महसुस गर्नु भएको छ । अवश्य सुधार गरिन्छ ।

देश ओडिएफको पूर्व सन्ध्यामा छ । भोलि (सोमबार) पछिको यात्रा पूर्ण सरसफाइ तिर अग्रसर नेपाल हुनेछ । अबको दिनमा कसरी अगाडि बढ्नुपर्ला ?

विगतमा खुला दिसामुक्त गरिएका धेरै स्थानीय तह र जिल्लाहरुमा पूर्ण सरसफाइ तर्फका अभियानहरु प्रभावकारी रुपमा सञ्चालन हुन सकेका छैनन । अब त्यस्तो हुन दिनु हँुदैन । अन्तर्राष्ट्रिय समुदायको नजर छ, यो अभियानमा । मुख्य गरी अबका चर्पीहरुलाई आराम घर बनाउनु पर्छ, सार्वजनिक शौचालयको ब्यबस्थापन र आवश्यक स्थानमा निर्माण गर्ने, पेट्रोल पम्पहरुलाई सार्वजनिक शौचालयको रुपमा विकास गर्ने, विद्यालयको, स्वास्थ्य संस्था र सबै कार्यालयको खानेपानी र सरसफाइ सुविधाको हिसावले नमूना बनाउने, खानेपानी सुविधामा पहुँच र पानीको गुणस्तर जाँच सुरक्षित पानीको उपलब्ध गराउने, निजी क्षेत्रको सहभागितामा दिसाजन्य लेदोको ब्यबस्थापन, ब्यक्तिगत सरसफाइ अभियान, फोहोर ब्यबस्थापन जस्ता कार्यहरु अगाडि बढाउन जरुरी छ । यसका लागि सबै स्थानीय तहमा कम्तीमा ५ वर्षीय खानेपानी र सरसफाइ योजना तयार गरी कार्यान्वयन गर्नपर्छ । यो कार्यक्रम सञ्चालनका लागि केन्द्र, प्रदेश र स्थानीय तहमा जनशक्ति तयार गरी परिचालन गर्न आवश्यक छ ।

८ बर्ष अघि ओडिएफ भएको नेपालकै पहिलो खुलादिसामुक्त जिल्ला कास्कीले समेत कुनै पनि स्थानीय तहलाई सफा र स्वच्छ क्षेत्र घोषणा गर्न सकेको छैन । अब खुला दिसामुक्त अभियानलाई जस्तै पूर्ण सरसफाइलाई पनि सामाजिक आन्दोलनको रुपमा कसरी अगाडि लैजान सकिएला ?

खुला दिसामुक्त घोषणा पछि अभियान सञ्चालन गर्ने संस्थाहरु यत्रतत्र भए होला तर समुदायले केही न केही गरिरहेको छ । केही समुदाय र साविकका गाविसहरु पूर्ण सरसफाइमा निकै अगाडि पनि बढेका छन् । पूर्ण सरसफाइ तर्फको अभियान अगाडि बढाउन अहिले राम्रो अवसर छ । स्थानीय तहमा साधन र स्रोत पुगेको छ । विनियोजित वजेट खर्च हुन सकिरहेको अवस्था छैन । जनप्रतिनिधिहरुलाई आफैले खुला दिसामुक्त घोषणा गरेको समुदायको अवस्था पनि राम्रो जानकारी छ । यो अवस्थालाई अझै सुधार गर्न चाहनुहुन्छ जनप्रतिनिधिहरु ।

यसको लागि विकास साझेदार संस्थाहरुले जनशक्ति उपलब्ध गराउने, योजना बनाउन सहयोग गर्ने, केन्द्र र प्रदेश सरकारले संरचना व्यबस्थालाई चलायमान बनाउने, नीति, रणनीति बनाउन सहयोग र नियमित वजेट विनियोजन गर्ने काम गर्नुपर्छ भने स्थानीय संघसंस्था, वडा कार्यालय र समुदायहरुले सरसफाइ सम्बन्धी आचारसंहिता निर्माण गरी कार्यान्वयन गर्नुपर्छ । व्यबहार परिवर्तन गराउने कार्य निक्कै कठीन कार्य हो, जो ठीक अभियानबाट मात्र सम्भव छ । पूर्ण सरसफाइ तर्फको यात्रामा पनि सामाजिक अभियानले निरन्तरता पाउनुपर्छ ।

अन्तिममा जागीर बाहेकको एउटा कुरा भन्न मन लाग्यो । २०६३ सालतिर हामी एउटा युवाहरुको टीमले सोलारबाट तलको पानी माथि तान्ने सिर्जनशील प्रस्ताव लेख्यौं । जापान सरकारले सहयोग गर्‍यो । ५ वटा योजना धादिङ्ग जिल्लाकोे असाध्यै पानीको दुःख भएको मैदी गाउँमा निर्माण गरियो । आज घरघरमा पानी लगिएको छ । यसै कारणले मेरो आमा बुबाले बसाई सर्नु भएको छैन । अन्यत्र जान पनि मान्नु हुन्न ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार