पूर्ण सरसफाइलाई गुरुयोजना निर्माण गरी लागु गर्नुपर्छ : कार्यक्रम निर्देशक श्रेष्ठ

सोमबार सरसफाइ क्षेत्रको लागि मात्र नभई सिङ्गो मुलुककै लागि ऐतिहासिक दिन हुनेछ । भोलिको दिन इतिहासमा पुनः दोहोरिएर आउने छैन । न त यसअघि जस्तो अन्य जिल्लालाई खुला दिसामुक्त भनेर घोषणा गर्नु नै पर्छ । अब घोषणा भएछन् भने स्वच्छ र सफा क्षेत्र वा पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गरिनेछ ।

राष्ट्रलाई यो उचाईमा ल्याईपुर्‍याउन कयौं संघसंस्थाहरु मध्ये वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) को पनि ठूलो हात छ । सन् १९९० देखि नै वातावरण र जनस्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको एन्फोले दिगो सरसफाइमा लगानी बढाउन थालिसकेको छ । खुला दिसामुक्त नेपाल घोषणाको सन्दर्भ पारी वास खबरका चेतन राईले सरसफाइ सँग सम्बन्धित विविध विषयमा एन्फोका कार्यक्रम निर्देशक राजेन्द्र श्रेष्ठसँग कुराकानी गर्नुभएको छ ।

 

देश खुल्ला दिसामुक्त घोषणाको संघारमा छ । यस अभियानमा एन्फा लगायत अन्य संघसंस्थाले गरेको योगदानलाई कसरी सम्झिनुहुन्छ ?

एन्फोले मात्र नभई सबै निकाय र संघसंस्थाले पनि योगदान गरेका छन् । हामीले एउटा सहजीकरणको बाटो मार्फत जनतालाई सचेत गर्ने, सुसुचित गर्ने, क्षमता अभिबृद्धि गर्ने काम गरेको मात्र हो । उहाँहरुलाई चर्पी बनाउन सक्षम बनाउने तहमा मात्र ल्याएकोे हो । तर उनीहरु चर्पी आफैले बनाएका हुन् । योगदान सबैको छ । नेपाल सरकारदेखि लिएर सबै स्थानीय तह, दातृ निकाय, संघसंस्था र नेपाली जनता सबैको उत्तिकै लगाव र योगदान छ ।

सबैको सामुहिक प्रयासले नै दक्षिण एसियाको पहिलो खुल्ला दिसामुक्त घोषित राष्ट्रको रुपमा चिनिन गइरहेको छ । त्यसैले हामी सबै गौरवान्वित छौ, हुनुपर्छ । योगदानको कुरा गर्दा सन् १९९० सालमा स्थापना भएदेखि एन्फोले पनि यस क्षेत्रमै काम गरिरहेका छौं । खानेपानी, स्वच्छता र सरसफाइको क्षेत्रमा एन्फोले निरन्तर काम गरिरहेको छ । हामीले विभिन्न प्रक्रिया मार्फत काम गरिरहेका छौ । एन्फोले सन् २००३ सालदेखि भने घरेलु चर्पी बनाउन थालेको हो ।

सन् २००७ सालसम्म आईपुग्दा काठमाडौंको तत्कालीन सिद्धीपुर गाविसलाई जिल्लाकै पहिलो खुल्लामुक्त क्षेत्र घोषणा गरेका थियौं । त्यसपछि हामीले विभिन्न संस्थाको सहकार्यमा नेपालका ६२ वटा गाविसमा चर्पी बनाउन लगाएर खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्न सफल भयौ र जिल्ला घोषणामा पनि हाम्रो योगदान रह्यो । हामीले पनि यसमा आफ्नो क्षमताले भ्याएसम्म योगदान गरेको जस्तो लाग्छ । साथै हामीले सरसफाइका लागि योगदान दिईरहेका छौं ।

खुल्ला दिसामुक्त क्षेत्र घोषणाको काम गर्दै गर्दा के – कस्ता अप्ठ्याराहरु आउँदो रहेछ ?

विभिन्न स्थानमा काम गर्दा जुन सामुदायको संस्कार र स्थानीय बस्तुस्थितिमा भर पर्छ । एक स्थानमा सफल भएको विधि अर्काे स्थानमा उपयुक्त नहुन पनि सक्छ । त्यसैले स्थानीयहरु वातावरण अनुसार अवधारणा परिमार्जित गर्दै काम गर्‍यौं । चुनौती नभएको होइन । सुरु सुरुमा धेरै चुनौतीको सामना गर्नु पर्‍यो । काठमाडौं क्षेत्रमै चर्पी बनाउन तयार गर्न धेरै मेहनत लाग्यो । हामीलाई धेरै गाह्रो भयो । एउटा त माहोल त्यस्तै थियो ।

हामीले मात्र चर्पी किन बनाउने ? सबैले बाहिर नै शौच गर्दा हामीले बाहिर शौच गर्दा के हुन्छ ? चर्पी नभएपनि भइहाल्छ नि जस्ता मानसिकता थियो । त्यो बानी व्यवहार परिवर्तन गराउन समस्या भएको थियो । चर्पी बनाउनका लागि तीन प्रकारको चुनौतीको सामना गर्नु प¥यो । बानीको विकासको गर्न गाह्रो, कतै आर्थिक समस्या र ठाउँको समस्या थिए ।

उनीहरुलाई चेतना दिने काम आवश्यकता थियो । ज्ञानले मात्र तयारी हुन नसक्ने भएकोले चेतना विस्तारको काम पनि गर्‍यौ । यदि ज्ञान मात्र भएको भए अहिलेसम्म पनि चर्पी बन्न सक्दैनथ्यो भने नेपाललाई यति छिटो खुल्ला दिसामुक्त क्षेत्र बनाउन सकिदैनथ्यो ।

अब भोलि १३ गते बाट अहिलेजस्तो शौचालय बनाउन शक्ति खर्च गर्नु पर्दैन । अव पूर्ण सरसफाइ अभियानमा के खाँचो देख्नुहुन्छ ?

पूर्ण सरफाइका लागि आगामी दिनमा दुई वटा क्षेत्रमा केन्द्रित भएर काम गर्नुपर्छ । एउटा त ग्रे वाटर म्यानेज्मेन्टको काम गर्नुपर्छ भने अर्काे भनेको पशुपंक्षीको दिसा व्यवस्थापन पनि गर्नुपर्छ । पशुको दिसाले पनि वातावरण प्रदुषित हुन्छ । त्यसले पनि हाम्रो स्वास्थ्यमा हानी पुर्‍याउने र नानीहरु विरामी हुन्छ भन्ने कुरामा सचेत गराउनुपर्छ । भएका चर्पी सबैले प्रयोग गर्ने र उचित तरिकाले प्रयोग गर्ने तथा नियमित प्रयोग गर्न भुमिका निर्वाह गर्नुपर्छ ।

घरबाट ढल मार्फत दिसा जत्ति सीधै खोलामा गइरहेको छ भने खुल्ला दिसामुक्त घोषणाको कुनै औचित्य हुँदैन । मान्छेले त खुल्ला रुपमा कसैले पनि दिसा गर्दैन तर खुल्ला रुपमा दिसा छोडिने भएकोले त्यसलाई व्यवस्थित नगर्ने हो भने खुल्लादिसा मुक्त क्षेत्र घोषणाको कुनै अर्थ रहँदैन ।

सबैको घरमा चर्पी छ तर खोलामा नै दिसा जान्छ भने वातावरण त्यति नै प्रदुषित बनाउँछ र स्वास्थ्यको हिसावले उत्तिकै जोखिम रहन्छ । त्यसैले त्यसलाई व्यवस्थित गर्नैपर्छ । अव फोहोर प्रशोधन गर्ने प्रविधि र जनचेतना विस्तारमा बढी जोड दिनुपर्छ । त्यस्तै प्रविधिका बिषयमा जानकारी र जनचेतनाका कुराहरु पनि सँगसँगै अगाडि बढाउनुपर्छ ।

देशलाई खुला दिसामुक्त घोषणाको लागि त ‘सरसफाइ गुरुयोजना’ थियो । तर पूर्ण सरसफाइको लागि त त्यस्तो गुरुयोजना बनेको छैन, कसरी अगाडि बढ्नुहुन्छ ?

हिजोका दिनमा पनि सन् २०११ सम्म अन्यौेलकै बीचमा काम गरिएकै हो । तर त्यसभन्दा पहिलेदेखि नै काम भइरहेको थियो । ग्यापका बीच पहिले पनि काम गरिएको हो । अहिले पनि निर्देशिका तथा नीतिको आधारमा काम गर्न सकिन्छ । अव पूर्ण सरसफाइलाई पनि तिव्र बनाउने हो भने यसका लागि पनि हामीले ढिला नगरीकन गुरुयोजना निर्माण गरी लागु गर्नुपर्छ । त्यसको व्यवस्थाका लागि नेपाल सरकार लागि परेको मेरो जानकारीमा छ । त्यसो हुन सक्यो भने व्यापक काम गर्न सकिन्छ र निर्धारित समयमै पूर्ण सरसफाइको उपलब्धी हासिल गर्न सकिन्छ ।

अन्त्यमा, देश नै खुल्ला दिसामुक्त हुँदै गर्दा यस क्षेत्रमा अहोरात्र खटेका सरोकारवालालाई केही भन्नु छ ?

यो हर्षको क्षणमा सबै नेपालीलाई बधाई छ । हर्षाेल्लासको माहोलमा हामीले अत्यन्तै सफलताका साथ यो घोषणालाई मनाऔं । सबै सहभागी बनौं । अर्काे कुरा यो सरसफाइको पहिलो खुड्किला मात्रै हो । यो प्रारम्भिक चरण पार गरेका छौ ।

हामीले किन खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्दैछौ ? अभियानमा किन लाग्यौं भने जनस्वास्थ्य र वातावरणको सुरक्षणको लागि हो । अवका दिनमा यसको प्रयोगमा व्यापकता ल्याउने र भएको चर्पीलाई दिगो बनाउने र दिगो सरसफाइको लागि सबैले सहकार्य गरेर अगाडि बढ्नुपर्छ । यसरी अगाडि बढ्ने हो भने पूर्ण सरफाइलाई अगाडि बढाउन गाह्रो नहोला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार