‘खुला दिसामुक्त’ को भाष्य र अर्थराजनीति

 

जनार्दन थापा

 

 

नेपाल लगायतका अल्पविकसित देशमा दूषित पानीका कारण लाग्ने रोगहरू अहिले पनि एक महत्त्वपूर्ण जनस्वास्थ्य चुनौती हो । विश्व स्वास्थ्य संगठनका अनुसार दूषित पानीका कारण लाग्ने झाडापखालाले मात्र बर्सेनि पाँच लाख मान्छेले ज्यान गुमाउँछन् । यसबाट हुने प्रत्यक्ष र अप्रत्यक्ष शारीरिक र आर्थिक नोक्सानीको मात्रा धेरै ठूलो छ । नेपालमा केही दशकयता सुरक्षित खानेपानी र सरसफाइका क्षेत्रमा निकै सुधार भएको छ ।

भर्खरै नेपाल सरकारले निकै उत्साहका साथ नेपाललाई ‘खुला दिसामुक्त’ देश घोषणा गरेको छ । यस सम्बन्धमा मुख्यतया पूर्वाधार पूरा नगरी घोषणा गरियो भन्ने आलोचना भएको छ । कुरा पूर्वाधारको मात्र होइन, यो अभियानको महत्त्वपूर्ण अर्थ राजनीतिक पाटो छ । अवधारणाका रूपमा ‘खुला दिसामुक्त’ एउटा सामान्य नारा मात्रै होइन यो एक भाष्य पनि हो र यसभित्र खास अर्थराजनीतिक यथार्थहरू अन्तरनिहित छन् । यस सन्दर्भमा यो आलेखमा ‘खुला दिसामुक्त’ नारा र अभियानका भाष्य र अर्थ–राजनीतिक आयामहरू खोतल्ने प्रयास गरिएको छ ।

‘खुला दिसामुक्त’ अंग्रेजी भाषाको ‘ओपन डेफेकेइसन फ्री’ को रूपान्तरण (ट्रान्सलेसन) को रूपमा आयातित अवधारणा हो । हाम्रो मौलिक बुझाइ अन्तर्गत ‘खुला दिसा’ को अवधारणा निर्माण भएको होइन या भनौं हाम्रो संस्कृतिले यसलाई चिन्दैन । हाम्रो संस्कृतिमा शौच र शौचालयलाई बुझ्ने विशेष दृष्टिकोण छ । यसको सार्वजनिक चर्चा गर्नु पनि उपयुक्त मानिन्न किनकि यो फोहोर र अपवित्र कुरा हो । सामाजिक स्तरीकरणको पुछारमा रहेकाहरूका लागि आज पनि शौचालय आवश्यकताभन्दा विलासिता र प्रतिष्ठाको विषय हो । बीसौं शताब्दीका प्रसिद्ध फ्रान्सेली दार्शनिक मिसेल फुकोका अनुसार भाष्य र शक्तिबीच अन्योन्याश्रित सम्बन्ध हुन्छ । ‘खुला दिसामुक्त’ भन्ने भाष्य र रूपान्तरणको प्रक्रियामा नेपालको विश्व व्यवस्था अन्तर्गतको अल्पविकसित हैसियत पनि देख्न सकिन्छ । यस्ता विकासे शब्दावली स्थानीय यथार्थसँग मेल खाँदैन तर यसलाई जबरजस्त रूपमा हाम्रो जस्तो समाजमा राज्य र संस्थाहरूमार्फत लादिएको हुन्छ । यसले बलिया भनेर चिनिने राष्ट्रहरू र हाम्रो संस्कृतिहरू बीचको असमान अर्थराजनीतिक सम्बन्धलाई समेत स्पष्ट पार्दछ । यस्ता भाष्य र रूपान्तरणभित्र तिमीहरू पछौटे हौ र तिमीहरूले सभ्य अर्थात् ‘खुला दिसामुक्त’ बन्नु गर्व गर्न लायक उपलब्धि हो भन्ने उपदेश अन्तर्निहित छ । यसले हाम्रो हीन ग्रन्थीको पृष्ठ पोषण र पछुवा मनोविज्ञान निर्माण गर्न सफल भएको छ ।

राजमार्ग तथा सहर र गाउँहरूको सिमानामा पुग्दा त्यस ठाउँको सांस्कृतिक तथा भौगोलिक विशेषता बुझाउने सन्देशहरू नभएर दिसामुक्त गाउँ वा सहरमा स्वागत छ भन्ने आशयका होर्डिङ बोर्डहरू बग्रेल्ती भेटिन्छन् । केही समयदेखि खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने होडबाजी नै चलेको थियो र अहिले आएर हामी सम्पूर्ण देशवासी नै ‘खुला दिशामुक्त’ मार्काका मान्छे भएका छौं । हामी जोडतोडका साथ यो परिचयलाई आत्मसात् गर्न तम्सेका छौं कि मानौं यो अत्यन्त गौरव गर्ने विषय हो वा यसअघि हामीमा घोर लघुताभास थियो । सगरमाथा र बुद्धको देशको परिचयपछि हामी ‘खुला दिसामुक्त’ देश पनि भएका छौं । खुला दिसामुक्तको भाष्यसँगै यस अभियानसँग जोडिएको अर्को पाटो भनेको वैदेशिक सहयोग हो । नेपाली समाजमा दानलाई विशेष अर्थमा हेरिन्छ । दान आफैंमा ग्राह्य वस्तु होइन, यसभित्र बलियो र कमजोर बीचको सम्बन्ध अन्तरनिहित हुन्छ । यसको ‘डोनेसन’ ‘आर्थिक सहयोग’ वा ‘वैदेशिक सहायता,’ ‘सफ्टलोन’ आदि लेपन लगाएर त्यसलाई ग्राह्य बनाउन सकिन्छ । विकासका नाममा आउने आर्थिक सहयोगसँगै सांस्कृतिक र वैचारिक कुराहरू पनि आयात भएका हुन्छन् । ‘खुला दिसामुक्त’ नारा र अभियान यसैको अर्को कडी हो ।

यस अभियानलाई सफल बनाउने नाममा राज्य र विशेषगरी स्थानीय सरकारहरूले जोर जबरजस्तीको नीतिसमेत लिएको देखिन्छ । बालबालिकाको जन्म दर्ताजस्तो आधारभूत अधिकार प्राप्त गर्ने कुरालाई शौचालयको अड्को थापेको देखिन्छ । घरमा शौचालय नभएमा जन्म दर्ता नहुने, सामाजिक सुरक्षाभत्ता नपाउने जस्तो नीति लाद्ने कुरो अत्यन्त लज्जाजनक छ । यो लोकतान्त्रिक भन्ने देशलाई सुहाउने कुरा होइन । अझ मानव अधिकार र लोकतन्त्रको दुहाइ दिने ‘दाता’हरूले समेत यो कुरामा आँखा चिम्लनु उदेकलाग्दो छ । फुकोले ‘मेडिसिन’ जसमा स्वास्थ्य नीति र कार्यक्रम पनि पर्दछ, यसलाई राज्यले नागरिकलाई नियन्त्रण र ‘सर्भिलेन्स’ गर्ने संयन्त्रका रूपमा प्रयोग गर्दै आएको छ भनेका थिए । भलै सतहमा त्यसमा नागरिक हितको उद्देश्य हुन्छ । यो दृष्टिकोणबाट राज्यले कसरी यस्ता स्वास्थ्य नीतिको प्रयोग गरी नागरिकलाई कज्याउन खोज्छ भन्ने बुझ्न सकिन्छ ।

सबैका घरमा र सार्वजनिक स्थानमा शौचालय हुनुपर्छ भन्नेमा दुईमत हुन सक्दैन । तर बनाउनु मात्रै समस्याको समाधान होइन भन्ने कुरा नेपाललगायत छिमेकी मुलुक भारतको अनुभवबाट स्पष्ट हुन्छ । भारतमा ‘स्वच्छ भारत’ अभियानअन्तर्गत बनाइएका धेरै चर्पी प्रयोगविहीन अवस्थामा रहेको अध्ययनले देखाएका छन् । अफ्रिकी मुलुकहरूको अनुभव पनि त्यस्तै छ । स्वस्फुर्त सहभागिता, सांस्कृतिक र प्राविधिक अनुकूलता नहेरी गरिएका यस्ता प्रयासहरू पटक पटक असफल भएका प्रशस्त उदाहरण छन् । नेपालमै सार्वजनिक शौचालयको अवस्था दयनीय छ । काठमाडौंका सार्वजनिक शौचालयहरू सर्वसाधारणले प्रयोग गर्नै नसक्ने अवस्थामा पाइएका छन् । अन्य धेरै सहरमा त सार्वजनिक शौचालय भेट्नै गाह्रो छ । पोखराजस्तो पर्यटकीय महानगरमा समेत यसको राम्रो व्यवस्था छैन ।

मानवका आचरणहरूको विकास सामाजिकीकरणको लामो प्रक्रियामार्फत हुने गर्दछ । शौचसम्बन्धी सिकाइहरू झन् प्रारम्भिक सिकाइमा पर्दछन् । बच्चा दोस्रो वर्ष प्रवेश गरेसँगै ‘एनल’ चरण सुरु हुन्छ, जहाँबाट उसले शौचसम्बन्धी कुरा सिक्न सुरु गर्छ र यो सिकाइ निरन्तर चल्दछ । शौचलगायतका बानी व्यवहारहरूसँग विभिन्न संरचनागत र सांस्कृतिक मूल्य र विश्वास जोडिएका हुन्छन् । पछि प्रदान गरिने ज्ञान, चेतना र हस्तक्षेपले यसलाई प्रभाव पारे पनि यस्ता व्यवहारलाई व्यावहारिक र दिगो रूपमा परिवर्तन गर्न समाजको संरचनागत र सांस्कृतिक आयामहरूलाई सम्बोधन गर्न पनि आवश्यक हुन्छ । एकांकी रूपमा र थोपरिएका विकासे कार्यक्रमले यो विषयलाई भुलेको देखिन्छ ।

लेखक पृथ्वीनारायण क्याम्पस, पोखरामा (चिकित्सकीय) मानवशास्त्र अध्यापन गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार