९ महिनामा २५० खानेपानी आयोजना सम्पन्न गरें : लीला ढकाल

छोटो समयमै कुशल प्रशासकको छवि बनाएर ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) बाट बाहिरिनुभएको छ, लीला प्रसाद ढकाल । चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको फण्ड बोर्डमा उहाँले २०७५ पुस १७ देखि २०७६ असोज २७ गते सम्म कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्नुभयो । छोटो समयमा उहाँले कोष विकास समितिको प्रशासनिक सुधार लगायत २५० खानेपानी आयोजना सम्पन्न गर्नुभयो । ६/६ महिनासम्म अन्यौलको अवस्थाबाट गुज्रिरहेको फण्डबोर्डलाई यो उचाईमा ल्याउन सफल भएकोमा विश्व बैंकका उच्च अधिकारीले समेत उहाँको तारिफ गर्ने गरेका छन् । उहाँ हालै अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिमा सरुवा हुनुभएको छ । उहाँ सँग फण्ड बोर्डमा कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दाका तीतामीठा अनुभव, सफलताको सूत्र र फण्ड बोर्डको भविश्यका विषयमा वास खबरका लागि चेतन राईले कुराकानी गर्नुभएको छ ।

कर्मचारीका कारणले काम समयमा सम्पन्न भएन भने जागीर पनि छोडनुपर्ने भन्ने छ भने यतातिर उपभोक्ता समिति र गैह्रसरकारी संस्थाले पनि काम गर्नुपर्ने बाध्य बनाइदिएको हुँदा समयमै काम सम्पन्न हुनेमा विश्वस्त छु । मैले यस्तो परिपाटी बनाइदिएको छु कि त्यो परिपाटी जो कसैले अनुशरण गर्ने हो भने आनन्दसँग समयमै काम सकिन्छ ।

फण्डबोर्डमा अति छोटो समय बिताउनुभयो, कस्तो रह्यो फण्डबोर्डको छोटो बसाई ?

मैले फण्ड बोर्डमा ९ महिना जति काम गर्न पाएँ । मैले काम गर्नुभन्दा पहिले ६ महिनासम्म खारेजीको अवस्थामा थियो । क्याविनेटले पुनस्थापित गरेपछि मैले कार्यकारी निर्देशकको रुपमा २०७५ पुसबाट काम गरें । त्यस समय ५३७ चालु योजना मध्ये ३०० जति योजनाको काम अगाडि बढेपनि अलपत्र अवस्थामा थियो । बाँकी तराईको ११७ ओभरहेड ट्याङ्कवाला योजनाहरू पनि बोरिङको काम बाहेक अरु बाँकी नै थिए । त्यसपछि ९ महिनामा २५० वटा योजना सम्पन्न गरियो । तराईका १०९ वा योजनाको काम धमाधम भइरहेको छ । अहिले भइरहेको काम पनि असार मसान्तसम्ममा सक्ने गरी भईरहेको छ । समग्र रुपमा मैलै चुनौतीपूर्ण अवस्थामा फण्डबोर्डको काम सम्हाले पनि सफलतापूर्वक सम्पन्न ग¥यौं । लगभग डेढ लाख जनतालाई खानेपानी सेवा पुर्‍याउन सफल भयो ।

चुनौतीपूर्ण अवस्थामा फण्ड बोर्डलाई अभिभावकत्व प्रदान गरेर यो स्तरमा ल्याउनुभयो, इच्छा शक्ति मात्र हुने हो भने कुनै कामलाई सुधार्न लामो अवधि आवश्यक नपर्दो रहेछ भन्ने उदाहरण देखाउनुभयो, नेतृत्वविहीन फण्डबोर्डलाई सुधार्न कहाँबाट कसरी थाल्नुभयो ?

फण्डबोर्डको काम गर्ने मोडालिटी अन्य आयोजनाको भन्दा अलि कति फरक छ । त्यसमा उपभोक्ता समिति र सहयोगी संस्था भनिने गैह्रसरकारी संस्थाहरुले प्रोजेक्ट माग गर्ने र माग भएका प्रोजेक्टहरु बोर्डबाट स्वीकृत गर्ने र स्वीकृत भएको योजनामा रकम परिचालन गरेर अनुगमनको काम फण्ड बोर्डले गर्ने खालको परिपाटी छ । विश्व बैङकको गाईडलाइन अनुसार काम गर्ने चलन छ । सुरुमा मलाई कामकोे अवस्था बुझ्ने बित्तिकै दुर्गम भेगका उपभोक्ताले खानेपानी योजनाको आशामा लामो समय सम्म अन्योलको अवस्थामा बसेको पाएँ । उपभोक्ताको काम सकेसम्म छिटो गरेर खानेपानीको सेवा पु¥याउन सकिन्छ भनेर मैले फण्डबोर्डको सबै टीमलाई परिचालन गरे । यसमा सबै टीमका साथीहरु लागेर काम गर्नुभयो । असहयोग गर्न खोज्ने साथीहरु पनि निस्किनु भयो । काम गर्ने साथीहरुलाई मैले टाईमलाइन दिन्थे । यति टाईमलाइ भित्र काम सक्नुपर्छ । यो टाइमलाइनमा यति काम गर्नसक्नु भएन भने त्यसको प्रभाव राम्रो हुँदैन भनेर आग्रह गरें । त्यस अनुसार काम भयो । यसमा सम्बद्ध जोडिएको संस्था भनेको गैह्रसरकारी संस्था हो । सहजीकरण गर्ने, उपभोक्ता समितिलाई परिचालन गर्ने र सुसुचित गर्ने सबै उहाँहरुकै काम हो । राम्रा गैह्रसरकारी संस्थाहरु धेरै छन् । उहाँहरुले राम्रै काम गरेको देखियो । केही राम्रो काम गर्न नसक्ने गैह्रसरकारी संस्थालाई पनि हामीले क्रियाशील बनाउने कोशिस गरियो । विभिन्न ठाउँका गैह्रसरकारी संस्थाका कर्मचारी, पदाधिकारी र उपभोक्ता समितिका अध्यक्षहरुलाई बोलाएर छिटोभन्दा छिटो काम गर्न आग्रह गरें । साथै समस्या के छ भनेर सुरुमै समस्याको पहिचान गरियो । एक महिनापछि सबैमा उर्जा आयो । तिनीहरुलाई शसक्तिकरण गर्‍यौं । अव काम गरेर जनतलाई सेवा दिनुपर्छ भन्ने वातावरण बनायौं । त्यसको परिणाम स्वरुप २५० आयोजनाहरु सम्पन्न गरेर सबैबाट डेढ लाख जनताले सेवा पाएका छन् । त्यसैमा म खुशी छु । विश्व बैंकबाट पनि कामको सराहना भएको छ । म यसैमा खुशी र आनन्दित छु ।

सन् २०२० को जुनपछि विश्व बैंक र सरकारबीच भएको सम्झौता सकिदैछ । फण्डबोर्डको अवको भविश्य कस्तो देख्नुहुन्छ ?

सबै चालु योजनाहरु समयमै सक्ने गतिमा काम भईरहेको छ भने सम्झौता पनि २०२० को जुनमा सकिदैछ । त्यसपछि प्रदेश सरकार र स्थानीय तहको स्वामित्वमा लैजानुपर्छ भनेर विभिन्न तहमा छलफल गरी ३३ अर्ब बराबरको आयोजना सबै प्रदेशमा लैजाने अवधारणा बनाइसकेका छौं । नयाँ योजना आउनेवाला छ । सरकार र विश्व बैंक सकारात्मक छ । नयाँ प्रोजेक्ट आउँदा स्थानीय सरकारसँग समन्वय गर्नुपर्छ । स्थानीय सरकारको केही, उपभोक्ता समितिको केही र विश्व बैंकको लगानी राख्ने र फण्डबोर्डको संरचना पनि संघीय संरचना अनुसार स्वरुप परिमार्जन गरेर लैजानुपर्छ । देशैभरि कार्यक्रम सञ्चालन गर्दा एउटा गाउँ केन्द्रित गरेर होईन, अव गर्दा काम सुरु गरेपछि एउटा स्थानीय तहमा समग्र खानेपानीको काम गर्नुपर्छ । समस्याको हल हुनुपर्छ । अरु निकायले काम नगर्ने गरी पुरै काम गर्ने, सबै उत्तरदायित्व स्थानीय सरकारले नै लिने मोडलमा काम गर्ने, सहजीकरणको काम गैह्रसरकारी संस्थाले गर्ने, स्थानीय निकायको प्राविधिक टिमलाई समक्ष र क्रियाशिल बनाउने अवधारणा तयार पारेका छौं । त्यो बृहत छलफलको विषय छ । त्यो प्रोजेक्ट आयो भने १०० पालिकाहरुमा विस्तार हुन्छ । पुराना योजना पनि मर्मत गर्ने, नयाँ योजना पनि बनाउने, सरसफाइ र आयआर्जनको काम पनि गर्ने, नयाँ प्रोजेक्टमा फण्डबोर्डको अनुभव, क्षमता प्रयोग गर्ने र नयाँ प्रोजेक्टमा ट्रान्सफर गर्ने । अब फण्डबोर्ड यही रुपमा नरहला । जुन रुपमा रहन्छ, त्यो छलफलले ल्याउनेछ । विश्व बैंकको प्रोजेक्टले स्थानीय निकायसँग सहकार्य गरेर सबै काम गर्ने । सरसफाइ, आयआर्जन, एकघर एक शौचालय, पूर्ण सरसफाइको काम गरेर जानुपर्छ । त्यसरी गरियो भने २०३० को लक्ष्य पुरा गर्न सक्छौं ।

बाँकी खानेपानी तथा सरसफाइ आयोजनाहरु समयमै सम्पन्न गराउन अबको कार्यकारी निर्देशक र सम्बद्धपक्षहरुको भूमिका कस्तो हुनुपर्ला ?

त्यहाँ यस्तो राम्रो सिस्टम तयार गरिएको छ कि सबै काम एउटा एप्सबाट अनुगमन भईरहेको छ । त्यहाँ यस्तो राम्रो सिस्टम छ कि १०९ वटा ओभरहेडट्यांकको काम कति काम भयो भनेर दैनिक जानारी एप्सबाट हेर्न मिल्छ । दैनिक रिपोर्टिङ भईरहेको छ । साथै कम नगर्ने संस्थालाई कारवाहीको प्रक्रिया सुरु गरेका छौं । त्यसैले सबै पक्ष गम्भीर भएर लागेका छन् । सबै कामको टाईमलाईन अनुसार सम्झौता बमोजिम काम गर्न सकेन भने कर्मचारीले पनि जागीरबाट निस्कनुपर्ने वाचा गरेका छन् । त्यसैले कर्मचारी गम्भीर भएका लागेका छन् । कर्मचारीका कारणले काम समयमा सम्पन्न भएन भने जागीर पनि छोडनुपर्ने भन्ने छ भने यतातिर उपभोक्ता समिति र गैह्रसरकारी संस्थाले पनि काम गर्नुपर्ने बाध्य बनाइदिएको हुँदा समयमै काम सम्पन्न हुनेमा विश्वस्त छु । मैले यस्तो परिपाटी बनाइदिएको छु कि त्यो परिपाटी जो कसैले अनुशरण गर्ने हो भनेआनन्दसँग समयमै काम सकिन्छ । त्यत्रो जनताले सेवा पाउने र आफ्नो जागीर पनि बच्ने भएकाले सबै गम्भीर भएर लाग्नुपर्ने हुन्छ । साथै समयमा काम सम्पन्न गर्नुपर्छ भनेर विश्व बैंक र मन्त्रालय देखि सबै लागिपरेकाले जो कार्यकारी निर्देशक आए पनि त्यो भन्दा दायाँबायाँ जान सक्दैन । उसले त्यो योजना सम्पन्न गर्नैपर्छ । जनतालाई सेवा पु¥याउनै पर्छ । कसैले पनि बेथिति ल्याउन सक्दैन । कसैले बेथिति ल्याएमा ऊ आफै कारवाहीको भागीदार हुनुपर्ने सिस्टम बसाइ सकिएको छ । यो काम सम्पन्न गरियो भने मेरो आत्मसन्तुष्टि पनि हुन्छ, मेरो करियरको लागि पनि हुन्छ भन्ने सोच्नुहुनेछ भन्ने मलाई लाग्छ । त्यसैले बाँकी योजना सम्पन्न गर्नका लागि सबै मरिमेटेर लाग्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।

यहाँलाई वास खबरको तर्फबाट बाँकी कार्यकालको हार्दिक शुभकामना ।

धन्यवाद ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार