काठमाडौंबाट बधशाला हटाउने कामपाको यस्तो छ प्रस्तावित अवधारणा

काठमाडौ उपत्यकामा दैनिक औसत ८०० वटा राँगाभैंसीको मासु खपत हुँदै आएको छ । यसबाट दैनिक ५० टन फोहोर उत्पादन हुँदै आएको छ भने स्वस्थ मासु उपभोग गर्न पाउने उपभोक्ता अधिकार कुण्ठित भएको छ । यी दुवै समस्याको समाधानका लागि काठमाडौ उपत्यकामा राँगाभैंसी बध गर्न छाड्नुपर्ने काठमाडौ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठको विचारलाई हामीले अघिल्ला अंकहरुमा समेत प्रकाशन गरिसकेका छौं । यस अंकमा हामी यस सम्बन्धी प्रस्तावित अवधारणाका बिषयमा विस्तृत रुपमा चर्चा गर्नेछौं ।

काठमाडौ महानगरपालिकाको प्रस्तावित अवधारणा

१. काठमाडौँमा शितकेन्द्र निर्माण गर्ने 

उपभोक्ताले उपभोग गर्ने राँगा भैसीको मासु स्वच्छ, स्वस्थ र गुणस्तरीय बनाउन र काठमाडौं उपत्यकालाई सफा, सभ्य र स्वस्थकर बनाउनका लागि आधुनिक बधशाला निर्माण गर्न आवश्यक देखिन्छ । आधुनिक बधशालामा तयार भएको मासुलाई चिस्यान सहितको भ्यानमा ओसार पसार गरी चिस्यान सहितको कोल्ड स्टोरमा राखि पसल देखि उपभोक्ताको भान्सासम्म स्वस्थ मासु आपुर्ति गर्न आवश्यक छ । त्यसैले कामपाले काठमाडौँ बाहिरका विभिन्न स्थानमा रहेका बधशालाहरूलाई आवश्यक सुधार गरी ती बधशालाहरुबाट तैयारी मासु काठमाडौं उपत्यकामा ल्याइनेछ र काठमाडौँमा आवश्यक शितकेन्द्र निर्माण गरी त्यसमा भण्डारण गरी स्थानीय स्तरका थोक तथा खुद्रा विक्रेतालाई स्वस्थ मासु उपलब्ध गराउनेछ । यसका लागि सक्षम मासु व्यवसायीहरुको सहकार्यमा मासुुको खरिद गरी बजारमा थोक विक्री गर्नुका साथै अरू व्यवसायीले विक्री गर्ने उद्देश्यका साथ ल्याइएको मासु पनि भण्डार गर्नुका साथै आफ्नो माध्यामबाट विक्रीका लागि सहजीकरणको भूमिका निभाउनेछ । यसका लागि कामपा, व्यवसायी र सरकारको संयुक्त लगानी रहने छ ।

२. काठमाडौँ उपत्यकामा मासु आपुर्ति 

यस कामपाले राँगा/भैसीको मासु आपुर्ति व्यवस्थित गरे पछि काठमाडौँमा मासु ऐन लागू हुन गई उपत्यकाभित्र राँगाभैंसी बध बन्द हुनेछ । कामपाले तरार्ईमा रहेका बधशालाहरूसँग मासु खरिद सम्झौता गर्नेछ । यस कामपासँग मासु आपुर्तिका लागि सम्झौता गर्ने बधशालालाई साझेदार बधशालाको रूपमा लिइनेछ । साझेदार बधशालाले निम्न प्रतिवद्धतामा सहमत हुनुपर्नेछ ।

I.  बधशालाको उत्पादन मध्ये काठमाडौँका लागि आवश्यक मासु पुर्‍याएपछि जनताले भ्याएमा मात्र निर्यात गर्न पाउनेछन् । तर काठमाडौँमा खासै नविक्ने सयपत्री (rumen), नशा, पुच्छर जस्ता भाग सिधै निर्यात गर्न पाउनेछ ।

II. मासु आपुर्तीको मूल्य राँगा/भैसीको खरिद मूल्यमा भरपर्नेछ कुनै नियमनकारी निकाय समक्क्ष खरिद, विक्री मूल्य संचालन खर्च पारदर्शी रूपमा देखाउनुपर्नेछ । १०० केजी मासु आउने राँगा/भैसीमा प्रति जनावर बढिमा रू १ हजार सम्म मुनाफा राख्न अथवा प्रति किलो बढिमा रू दश वा जुन कम हुन्छ त्यती मुनाफा राख्न पाउनेछ । जाडो र गर्मी सीजनमा राँगा/भैसीको मूल्यमा फरक पर्न गए सोही अनुसार मासुको मूल्य निर्धारण हुनेछ ।

III. व्यवसायीले कवोल गरेको कोटाको मासु कुनै पनि अवस्थामा पुर्‍याउनुपर्नेछ । लगातार ३ दिन सम्म तोकिएको परीमाणमा उप्लब्ध गराउन नसकेमा सँझौता रद्ध हुनेछ ।

IV. पशुको बध गर्नु अघि, मासु तयार गर्दा र मासुको ढुवानी गर्दा प्रत्येक चरणमा मासुका ऐन नियमलाई पालना गर्दै सरकारी निकायको निर्देशन अनुसार चल्नुपर्नेछ ।

V. साझेदार बधशालाले आफ्नो एरियाको ५० किमी परिधी भित्र राँगाभैंसी प्रति जनावरको बढिमा रू ५ सय लिइ पशुबध गरेर मासु तैयार गरेर व्यावसायीलाई दिनुपर्नेछ ।

VI. काठमाडौँमा तीनओटा मासुका चिस्यान घरहरु निर्माण गरिने छन् । शितभण्डारमा राखिने मासुमा जनावरको किसिम, उत्पादन मिति र परिमाण सहितको स्टिकर टाँस्नुपर्नेछ । यस विक्री कक्षले सझेदार बधशालाका अतिरिक्त अन्य बधशालाको पनि मासु खरिद गर्न सकिनेछ । खरिद गर्दा मासुको गुणस्तर र मूल्यको आधारलाई मापदण्ड बनाइनेछ । सामान्यतया तरार्ईमा रहेका बधशालाबाट बेलुका सम्ममा काठमाडौँका लागि पठाइएको मासु अर्को दिन विहान ८ बजेसम्ममा मासु विक्रेताको पसल सम्म पुर्‍याइने लक्ष्य अनुसार काम हुनु पर्नेछ जसका लागि मासुलाई चिस्यान चेन (cold chain) कायम राखेपनि blast fridge को आवश्यकता पर्दैन । तर शीत भण्डारमा कम्तीमा उपत्यकाको लागि एक हप्ताको लागि चाहिने मासु भण्डारण हुनेछ । ससेज, मम, ड्राई मिटका लागि आवश्यक मासु फ्रिजबाट निकालिएता पनि अन्य उपभोगका लागि चिसोमा राखिएको आलो मासु नै आपुर्ति गर्ने प्रयास गरिनेछ ।

व्यवसायी र उपभोक्ता दुवैलाई फाइदै फाइदा

(क) बधशालामा उत्पादन भएको बाहेक अन्य व्यापारीको मासु पनि ढुवानी गरीदिने, भण्डारण गर्ने र डिलरकोमा पुर्‍याइदिने सुविधा उपलब्ध गराउनेछ । अहिलेको प्रणालीमा काठमाडौँमा रहेका थोक मासु विक्रेताले तरार्ईबाट जीउदो राँगा/भैसी ल्याएर मासु तयार गरी खुद्रा विक्रेताकोमा पुर्‍याइदिने गरेकाछन् । यस प्रणालीमा तरार्ईको हटियामा राँगाभैंसी खरिद गरी काठमाडौँ पठाउने व्यापारीलाई प्रति जनावर कम्तीमा रू ५ सय, ढुुवानी खर्च सरदर रू २ हजार, मासु तयार गर्न ६ सय – १ हजार सम्म खर्च पर्ने गरेकोछ । यस्तो अनावश्यक खर्च कटौती हुनेछ ।

 

(ख) कामपाले साझेदार बधशाला सँग सम्झौता गरेर काम थालेपछि कुनैपनि व्यापारीले साझेदार बधशालामा मासु तयार गरेर काठामाडौँको शितभण्डार सम्म पुर्‍याइदिने व्यवस्था साझेदार व्यवसायीले गर्नेछ जसका लागि मासु तैयार गरी ढुवानी गर्न प्रति ठूलो जनावर रू १ हजार  मात्र शुल्क लिइनेछ । यसबाट व्यापारीलाई अहिलेको खर्चमा रू १ हजार ६सय – २ हजार बच्नेछ । शितभण्डार सहितको विक्री कक्षबाट सोही दिन मासु अन्त पठाउने हो भने प्रतिकिलो रू ५ लिइनेछ । एक हप्ता सम्मको लागि भण्डारण गर्ने हो भने प्रति किलो रू १० शुल्क लिइनेछ ।

 

(ग) भण्डारण गरिने मासुमा भेटनेरी डाक्टरको सिफारिसका अतिरिक्त उत्पादन मिति र परिमाण सहितको स्टिकर टाँसिएको हुनुपर्नेछ । मीट मार्टमा पाइने सबै मासुमा बधशालाको लोगो हुनेछ र मासुको गुणस्तरका लागि सम्बन्धित उत्पादक बधशाला नै जिम्मेबार हुनेछ ।

 

(घ) विक्री कक्षमा नियम पुर्‍याएर ल्याइएको कुनै पनि व्यावसायीको मासु राख्नका लागि बाध्य हुनेछ । विक्री मूल्य उत्पादक बधशाला वा अन्य मासु धनीले प्रतिस्पर्धाको आधारमा तोक्न पाउनेछ तर आफैले साझेदार बधशालाबाट खरिद गरेको मासु ढुवानी खर्चबाहेक प्रति किलो रू. १५ सम्म मार्जिन राखेर बेच्न पाइनेछ । यसमा कम्पनीको प्रशासनिक खर्च, बैंक व्याज, चिस्यान खर्च लगायत सबै खर्च समावेश गरिएको हुनेछ । कम्पनी बाहेकको मासुको मूल्य मासु धनीले तोक्नेछन् ।

 

(ङ) मासुको मूल्यमा सिण्डिकेट प्रणाली लागू हुनसक्ने खतराबाट बचाउन महानगरपालिका वा आपुर्ति मन्त्रालयले मनासिब देखेको ऐन नियम लगाउन सक्नेछन् जुन व्यवसायीका लागि बाध्यकारी भएको मानिनेछ ।

 

काठमाडौ उपत्यकामा राँगाभैंसी बध गर्न नदिने हो भने परम्परागत व्यवसायीको अधिकार के हुन्छ ? अर्को अंकमा प्रकाशन गर्नेछौं । – सम्पादक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार