सेतीदेवी पञ्चकन्यामा महिनावारी व्यबस्थापन समिति गठन, ५३ छात्रालाई प्याड बनाउने सीप

 

चौतारा : कुबिण्डेमा रहेको सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयका ५३ जना छात्रालाई पुनःप्रयोग गर्न मिल्ने सेनिटरी प्याड निर्माण सम्बन्धी तालिम दिईएको छ । महिनावारीका बेला विद्यालय अनुपस्थित हुने छात्रालाई नियमित गराउने र पुनःप्रयोग गर्न मिल्ने सेनिटरी प्याड निर्माणको सीप सिकाउने उद्धेश्यले तालिम सञ्चालन गरिएको हो ।

विद्यालयका पूर्व विद्यार्थी तथा महिनावारी स्वच्छता व्यबस्थापनका क्षेत्रमा सक्रिय विनोद शर्माको पहलमा छात्राहरुलाई प्याड बनाउने तालिम दिईएको हो । महिनावारी हुने उमेरका छात्रालाई जीवनोपयोगी सीप सिकाउन र आफुले समेत सिक्न पाएकोमा खुसी लागेको स्वास्थ्य तथा सरसफाइ सम्बन्धी फोकल शिक्षक रामजी बहादुर नेपालले बताउनुभयो ।

‘तालिमका सहभागी सबै छात्रा र मैंले पनि फलाटिनको कपडाबाट एक एक वटा सेनिटरी प्याड सिलायौं । प्याडका लागि आवश्यक कपडा लगायतका सामाग्री सहजकर्ता शर्माले नैं व्यबस्था गर्नु भएको थियो ।’उहाँले भन्नुभयो ।

९ सदस्यीय महिनावारी व्यबस्थापन समिति गठन

तालिमका क्रममा बाल क्लवकी सदस्य सुस्मिता गौतमको अध्यक्षतामा ९ सदस्यीय महिनावारी व्यबस्थापन समिति समेत गठन गरिएको छ । विद्यालयमा महिनावारी स्वच्छता व्यबस्थापनका कामको नेतृत्व गर्नका लागि सहज होस् भन्ने हिसाबले महिनावारी व्यबस्थापन समिति गठन गरिएको हो । सदाचारिता क्लव मार्फत विद्यालयमा अहिले ५० प्याकेट सेनिटरी प्याड जगेडा रहेको र यसको व्यबस्थापन पनि यही समितिले गर्ने शिक्षक नेपालले बताउनुभयो ।

‘विद्यालयमा निर्माण भएको महिनावारीमैत्री संरचना (छात्रामैत्री शौचालय, प्याड जलाउने चुलो) लगायतको प्रयोग तथा सरसफाइ लगायतका कामको अगुवाई पनि समितिले गर्नेछ । साथै अरु छात्राका लागि प्याड बनाउने सीप सिकाउने र महिनावारी मैत्री विद्यालय निर्माणको अगुवाई समितिले गर्नेछ । यसमा संरक्षक शिक्षकको हैसियतमा मैंले पनि सहयोग गर्नेछु ।’ फोकल शिक्षक नेपालले भन्नुभयो ।
समितिको बैठक नियमित रुपमा बस्ने र महिनावारी व्यबस्थापनका कामको अगुवाई गर्ने अध्यक्ष सुस्मिता गौतमले बताउनुभयो ।

‘आफुसँग पैसा नहुने, प्याड किन्न अभिभावकसँग पैसा माग्न नसक्ने, हामीले महिनावारीका बेला कपडाको टालो प्रयोग गथ्र्यौं । टालो प्रयोग गर्न पनि अप्ठेरो हुन्थ्यो । कपडाबाट प्याड बनाउन सिकेपछि अब आफुलाई चाहिने प्याड आफैं बनाउँछु ।’ अध्यक्ष गौतमले भन्नुभयो ।
‘कम खर्चमैं स्वस्थकर प्याड बनाउने सीप हामी समिति मार्फत अरु साथीहरुलाई पनि सिकाउँछौं । विद्यालय आएका बेला महिनावारी भएर अप्ठेरोमा परेका साथीहरुलाई सेनिटरी प्याड उपलब्ध गराउने लगायतका महिनावारी व्यबस्थापनको काममा पनि हामी सक्रिय हुनेछौं ।’उहाँले भन्नुभयो ।

बजारमा पाइने रेडिमेड सेनिटरी प्याडको तुलनामा बढी स्वस्थकर, खर्चक ाहिसाबले पनि किफायती र व्यबस्थापनमा समेत सहज भएकोले पुनःप्रयोग गर्न सकिने सेनिटरी प्याड बनाउन सिकाइएको सहजकर्ता विनोद शर्माले बताउनुभयो ।

‘महिनावारी उमेरका बहिनीहरुलाई प्याड सिलाउन सक्ने बनाउने प्रयास गरेको हुँ । आफुलाई चाहिने प्याड आफैं बनाउन सकेपछि एक त उनीहरुको पैसा र स्वास्थ्यको बचत हुन्छ अर्को बिसर्जन गर्ने चिन्ता पनि हुँदैन । विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी कार्यविधि २०७४ कार्यान्वयनका लागि आफुले पढेको विद्यालयलाई सहज होस् भन्ने उद्धेश्यले तालिम सञ्चालन गरेको हुँ ।’ शर्माले भन्नुभयो ।

४ देखि ६ घण्टाको फरकमा प्याड फेर्दा एक पटकको महिनावारीमा औसतमा ३ प्याकेट फेरिन्छ । वर्षमा १३ पटक महिनावारी हुँदा प्रयोग गर्ने ३९ प्याकेट प्याड खरिदमा लाग्ने खर्च ग्रामीण भेगका अभिभावक वा विद्यार्थीले व्यहोर्न सक्दैनन् । दुई मिटर फलाटिन वा सुतीको कपडाबाट ६ देखि ८ वटासम्म प्याड बन्ने र ३ वर्षसम्म टिक्ने भएकोले महिनावारी सरसफाइमा लाग्ने खर्च जोगाउन पनि प्याड बनाउने सीप दिनु आवश्यक छ ।

सरकारले यस आर्थिक वर्षबाट सामुदायिक विद्यालयमा सेनिटरी प्याड उपलब्ध गराउने भने पनि महिनावारी व्यबस्थापनका लागि प्याडसँगै प्याड बनाउने सीपदिनु पर्ने शर्माको भनाइ छ । ‘२०७४ सालको चैत्र २२ गते शिक्षा बिभागले स्वीकृत गरेर लागु गरेको विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी कार्यविधिमा विद्यालयलाई तारा पद्धतिमा लैजाने परिकल्पना गरेको छ ।

जसको सूचक नम्बर ७ अनुसार विद्यालयले तीन तारा पाउनका लागि पनि छात्राहरुले पुनःप्रयोग गर्ने सेनिटरी प्याड तयार गर्ने सीप सिकेको हुनु पर्ने उल्लेख छ । उहाँले भन्नुभयो ‘यस किसिमको तालिमले विद्यालय तथा चौतारा साँगाचोकगढी नगरपालिकालाई समेत कार्यविधि कार्यान्वयनमा सहजिकरण गर्नेछ भन्ने विश्वास लिएको छु ।

सरकारले वितरण गर्ने प्याड एउटा छात्राले केही पटकलाई पाउँछन् भने प्याड बनाउने सीप दिँदा उसको जीवनभरि तथा परिवारलाई समेत पुग्छ ।’

चौतारा साँगाचोकगढी नगरपालिका ४ कुबिण्डेका स्थायीबासिन्दा शर्माले विद्यालय पुननिर्माण परियोजनामा रहेर मेलम्ची नगरपालिका, पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकाका १८ विद्यालयका छात्रछात्रा तथा शिक्षक गरी एक हजार भन्दा बढीलाई महिनावारी व्यबस्थापन र पुनःप्रयोग गर्न मिल्ने सेनिटरी प्याड बनाउने सीप दिनुभएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार