सरसफाइमा उत्कृष्ट हिलेका होटलमा दुई तारे स्टिकर

 

धनकुटा : धनकुटाको हिलेका विभिन्न ५ वटा होटलमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय धनकुटाले गुणस्तर स्तरीकरण स्टिकर टाँस गरेको छ । हिलेको निगाले होटल एण्ड लज, गजुर होटल, लेकाली होटल, होटल हिले भ्यू र होराईजन रिसोर्टमा गुणस्तर स्तरीकरण स्टिकर टाँस गरिएको हो । होटल सरसफाइ एवम् व्यवस्थापनका हिसावले निगाले होटल र होटल हिले भ्यू उत्कृष्ट देखिएका छन् । यी दुई होटलमा दुई वटा स्टार भएको हरियो स्टिकर टाँसिएको छ भने अन्य तीन वटा होटलहरु सन्तोषजनक रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय धनकुटाका प्रमुख शिवशंकर मिश्रले जानकारी दिनुभयो ।

गुणस्तर स्तरिकरण मापदण्ड अनुसार सरसफाइ एवम् अन्य व्यवस्थापन कम देखिएका होटलहरुलाई सुधारका लागि निर्देशन दिईएको प्रमुख मिश्रले बताउनुभयो । यो कार्यक्रम खाद्य ऐन २०२३ को नियमावली २०२७ को खाद्य स्वच्छताको आधारमा होटल रेष्टुरेण्ट स्तरिकरण सम्वन्धी निर्देशिका २०७४ अनुसार गरिएको उहाँले बताउनुभयो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाको नेतृत्व तथा क्षेत्रीय होटल एशोसिएशन धनकुटाको समन्वयमा गुणस्तर स्तरीकरण स्टिकर टाँस गरिएको हो ।

अति उत्तम, उत्तम, सन्तोषजनक र सामान्य गरी ४ भागमा विभाजन गरी गुणस्तर स्तरीकण गरिएको थियो । होटलहरुले वाहिरी परिधि सफा तथा फोहरमूक्त, सरसफाइ गर्न प्रयोग गरिने रसायन तथा विषादीलाई खानेकुरा भन्दा टाढा लेवल लगाई भण्डारण गरिएको हुनुपर्ने, हात धुने नियमहरु देखिने गरी भान्छा तथा सफा गर्ने ठाउँमा राखेको हुनुपर्ने, सरुवा तथा संक्रामक रोग लागेका कामदारहरुलाई पछिल्लो पटक त्यस्तो लक्षण देखिएको दिन देखि ४८ घण्टा सम्म काममा संलग्न गराउन नहुने उल्लेख छ ।

यस्तै विरामी कामदारको स्वास्थ्य परिक्षण गरिनुपर्ने, भान्सा, खाना खुवाउने स्थान र काउण्टरमा वसेर धुम्रपान गर्न, खान, थुक्न निषेध गरिएको हुनुपर्ने लगायत ५० वटा मापदण्ड पूरा गर्नुपर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाका प्रमुख शिवशंकर मिश्रले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार