भैय्यापुर टोललाई पूर्ण सरसफाइ घोषणा गर्ने अन्तिम तयारी

🔗
18
Shares

 

भीष्म लोध, बाँके : बाँकेको जानकी गाउँपालिका वडा नं. – २ अन्तर्गत पर्ने भैय्यापुरलाई पूर्ण सरसफाइ टोल घोषणा गर्ने तयारी भईरहेको छ । शुक्रबार वडा नं.- २ का अध्यक्ष एवं वडा स्तरिय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष चन्द्रिका प्रसाद गुप्ताको अध्यक्षमा बसेको बैठकले जनवरी अन्तिममा भैय्यापुरलाई पूर्ण सरसफाइ टोल घोषणा गर्ने निर्णय गरेको हो । उक्त कार्यक्रमलाई समयमै सम्पन्न गन बिभिन्न तयारी समेत थालिएको छ ।

लामो समयदेखि सो टोललाई पूर्ण सरसफाइ टोल घोषणाका लागि बिभिन्न कार्यक्रमहरु सञ्चालन हुँदै आएको छ । पूर्ण सरसफाइ टोल, वडाका लागि घरको सरसफाइ, सडक, चौताराको सरसफाइ जस्ता कुराहरुका साथै नेपाल सरकारले जारी गरेको पूर्ण सरसफाइ मार्गदर्शन २०७३ अनुसार ७ वटा मुख्य सूचकहरु हासिल भएको पाईएमा कुनै क्षेत्रलाई सफा र स्वच्छ क्षेत्र भनी स्व–घोषणा वा प्रमाणीकरण गर्न सक्ने प्रावधान छ । सरसफाइ कार्यलाई दिगो र प्रभावकारी बनाउनका लागि शुक्रबारको बैठकले वडा कार्यालयसँग डस्टबिन माग गरेको छ ।

साथै बैठकले घोषणा अभियानलाई सफल बनाउनका लागि गठित अनुगमन समितिले मासिक रुपमा तीन पटकसम्म अनुगमन कार्य गर्ने निर्णय भएको वडा अध्यक्ष गुप्ताले जानकारी दिनुभयो । अनुगमनले घोषणा कार्यका लागि बाधक भएका कमी कमजोरीलाई सुधारमा सहयोग पुर्‍याउनेछ ।

कार्यबिधि अनुसार बिगतका वर्षदेखि नै सो वडामा गेरुवा ग्रामीण जागरण संघ, बर्दिया नेपालगञ्ज कार्यालयद्वारा जनचेतनामूलक, सचेतनाका कार्यक्रम गतिबिधिहरु सञ्चालन हुँदै आएको गेरुवाका सुपरभाईजर बिराउन शेषले बताउनुभयो । बैठकमा वडा सदस्य अमर बहादुर थापा, बेलभार प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरिक्षक रतन सिंह थारु, टोल स्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका पद्दाधिकारीको उपस्थिति रहेको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार