पूर्ण सरसफाइको एउटा सूचक ! यसरी पूरा गर्दैछन् आमाहरु

 

बैतडी : पूर्ण सरसफाइको सूचक मध्ये एउटा सूचक हो, सुरक्षित खानाको प्रयोग । यस अन्तर्गत भान्छा, होटेल, क्यान्टिन तथा रेस्टुँरा सफा रहेको र बासी तथा सडेगलेका खाना नखाने तथा नबेच्ने, खाना पकाउने र खाने भाँडा सफा हुनुका साथै खानेकुरा र पिउने पानी छोपेर राखेको हुनुपर्छ । यस्तै फलफूल तथा खानेकुराहरु राम्रो सँग सफा गरेर एवं पकाएर र तताएर खाने र खुवाउने गरेको हुनुपर्छ ।

बैतडीको दशरथचन्द नगरपालिकाका आमाहरु पूर्ण सरसफाइके यी सूचकहरुबारे सचेत हुनुहुन्छ । पहिलो र दोस्रो सन्तान जन्माएका बेला आराम गर्न र राम्रो सँग पोसिलो खानेकुरा समेत खान नपाएकी दशरथचन्द नगरपालिकाका २ की कमला लुहारको काखमा अहिले तेस्रो सन्तान खेलिरहेका छन् । उहाँ अहिले पोषिलो खानेकुरा खोजीखोजी खानुहुन्छ ।

अहिले उहाँ हजार दिने आमा हुनुहुन्छ । उहाँको डेढ वर्षकी छोरी छिन् । पहिलो र दोस्रो सन्तानका बेला बच्चा र आफ्नो स्वास्थ्यमा ध्यान दिन नसकेपनि उहाँ अहिले आफ्नो सन्तान, स्वास्थ्य र सरसफाइको खुबै ख्याल गर्नुहुन्छ । गाउँकै निङलाशैनी आमा समूहमा आवद्ध भएपछि आमा र बच्चाको खानपिन, सरसफाइ, सुरक्षित आहारविहार लगायतका बिषयमा जानकारी भएको हो ।

गाउँघरमा स्वास्थ्य तथा सरसफाइ सम्बन्धी काम गर्ने सरकारी तथा गैरसरकारी संघसंस्थाले समूह गठन गरी स्वास्थ्य र सरसफाइका बिषयमा ज्ञान दिन थालेपछि उहाँजस्ता धेरै आमाहरुले खाना सुरक्षित तरिकाले खान थालेका छन् ।

दरशथचन्द नगरपालिका– १ की अर्की हजार दिने आमा काली भूल पनि अहिले आफ्नो र बच्चाको स्वास्थ्यमा विशेष ध्यान दिनुहुन्छ । टोलकै प्रगतिशील घरायसी आमा समूहको अध्यक्ष भएपछि उहाँलाई कसरी स्वस्थ रहने ? खानेकुरालाई कसरी सुरक्षित तरिका सेवन गर्ने भन्ने बारे जानकारी पाएको उहाँले बताउनुभयो ।

‘खानेकुरा खाईयो भनेर मात्र नहुने रहेछ, शरिरले पौष्टिक पदार्थ पाउनका लागि सुरक्षित तरिकाले पनि खानुपर्ने रहेछ । भान्छा सफा राख्नुपर्ने, खानेकुरा स्वस्थ तरिकाले पकाउनुपर्ने, तताएर मात्र खानुपर्ने, पानी छोपेर राख्दा हुने फाइदा, बासी तथा सडेगलेका खानेकुरा खाँदा पर्ने असर आदि बारे हामीले समूहमै सिक्न पायौं’ उहाँले भन्नुभयो ।

खुला दिसामुक्त घोषणा पश्चात अहिले पूर्ण सरसफाइ सम्बन्धी कार्यक्रम देशैभरि सञ्चालन भईरहेको छ । पूर्ण सरसफाइ सम्बन्धीका क्रियाकलापहरु गर्न गराउनका लागि गाउँघरका महिलाहरुलाई केन्द्रित गरी विभिन्न सरसफाइ सम्बन्धी क्रियाकलापहरु सञ्चालन भईरहेका छन् । पूर्ण सरसफाइ सम्बन्धी क्रियाकलापहरुमा भाग लिए पछि चर्पीको समुचित व्यक्तिगत तथा वातावरणीय सरसफाइ, सुरक्षित खानेपानी तथा खानाको प्रयोगमा ध्यान दिन थालेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार