‘समावेशी वासका लागि प्रणालीगत सुदृढीकरण’ कार्यक्रम नेपालमा सुरु, ७ देशको सहभागिता

 

काठमाडौ : दक्षिण एसियामै पहिलो पटक ‘समावेशी वासका लागि प्रणालीगत सुदृढीकरण’ सम्बन्धी सिकाई कार्यक्रम नेपालमा सुरु भएको छ । महिलाका लागि पानी कोष परियोजना सञ्चालित दक्षिण एवं दक्षिण पूर्वी एसियाली सात देशका साझेदार, अनुसन्धानकर्ता, कोष व्यवस्थापन टीम, अष्ट्रेलिया सरकारका प्रतिनिधिहरू गरी ५० जनाको सहभागितामा सिकाई कार्यक्रम काठमाडौमा सुरु भएको हो ।

महिलाका लागि पानी कोषका प्रबन्धक एलिसन बेकरले कोष मार्फत अपाङ्गता, यौनिक र लैंगिक अल्पसंख्यक र अन्य सीमान्तकृत समुदायका लागि उपयुक्त सरसफाइ सेवाहरूमा सुधारको लागि प्रतिबद्ध रहेको बताउनुभयो ।

डिसेम्बर ५ तारिखसम्म सञ्चालन हुने कार्यक्रममा समावेशी खानेपानी, सरसफाइ र स्वच्छताको प्रणालीगत सुदृढीकरण बारे गहन छलफल हुनेछ । ‘वासका सुविधाहरुबाट कसैलाई नछुटाऔं’ भन्ने अवधारणा रहेको सिकाइ कार्यक्रममा वासमा समावेशी विधि, दृष्टिकोण र यसको उपयोगका बिषयमा व्यापक छलफल एवं हरेक देशका सिकाईहरु आदानप्रदान गरिनेछ ।

महिलाका लागि पानी कोष तथा एसएनभीले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रमको नेपालका लागि अष्ट्रेलियाली राजदुत पीटर बुड र खानेपानी तथा ढल व्यवस्थापन विभागकी उपमहानिर्देशक मीना श्रेष्ठले पानसमा द्धिप प्रज्ज्वलन गरेर उदघाटन गर्नुभयो ।

 

एसएनभीले महिलाका लागि पानी परियोजना मार्फत दिगो विकास लक्ष्य हासिल गर्नका लागि सहयोग गरिरहेको छ । अस्ट्रेलिया सरकारले सन् २०१० देखि एसएनभीलाई वास क्षेत्रमा नेपालको एक दीर्घकालीन साझेदारको रूपमा लिएको छ । एसएनभी र अष्ट्रेलिया सरकारबीच सन् २०१८ मा भएको सम्झौता बमोजिम आगामी पाँच बर्षका लागि नेपालमा समावेशी र दिगो ग्रामीण खानेपानी तथा सरसफाइ सेवाहरू सञ्चालन गरिनेछ ।

महिलाका लागि पानी कोषको माध्यमबाट सहयोग प्राप्त १५ देशहरु मध्ये नेपाल एक हो । महिलाका लागि पानी कोषले पानीको सुरक्षित प्राप्ति र पहुँच एवं सरसफाइ र स्वच्छता सुधार ल्याउन मद्दत पु¥याउँछ । ‘लैंगिक समानता र सामाजिक समावेशीकरण’ कोषको केन्द्रित बिषयबस्तु हो ।

कार्यक्रममा अस्ट्रेलिया सरकारका रेनी पैक्सनले सिकाई कार्यक्रमले समावेशी वास सेवाहरू प्राप्त गर्ने सबैभन्दा महत्वपूर्ण पक्षलाई केन्द्रित गर्ने बताउनुभयो । उहाँले महिलाका लागि पानी कोष सबैको लागि वास सेवाहरुमा पहुँच सुधार गर्नको लागि एक साझेदार भएर काम गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

यस्तै एसएनभीका ग्लोबल वास सेक्टर कोर्डिनेटर एन्टोनेट कोमले सिकाई अवधिमा खानेपानी, सरसफाइ र स्वच्छतामा कसैलाई नछुटाउने विधि, समावेशी वासको प्रणालीगत सुदृढीकरणका लागि अबलम्बन गर्नुपर्ने तरिका र दृष्टिकोणको उपयोगको बिषयमा चर्चा गरिने बताउनुभयो । महिलाका लागि पानी कोषका प्रबन्धक एलिसन बेकरले कोष मार्फत अपाङ्गता, यौनिक र लैंगिक अल्पसंख्यक र अन्य सीमान्तकृत समुदायका लागि उपयुक्त सरसफाइ सेवाहरूमा सुधारको लागि प्रतिबद्ध रहेको बताउनुभयो ।

एसएनभी एक गैर नाफामूलक अन्तर्राष्ट्रिय विकास संस्था हो । एसएनभीले गरिबीमा बाँचिरहेका मानिसहरूलाई उनीहरूको आम्दानी बढाउन र आधारभूत सेवामा पहुँच अभिबृद्धि गर्न सहयोग पुर्‍याउँदै आएको छ । एसएनभीका कार्यक्रमहरु कृषि, ऊर्जा तथा खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) गरी तीन क्षेत्रमा केन्द्रित छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार