छाउगोठमा निस्सासिएर किशोरीको मृत्यु

 

अछाम : अछाममा छाउगोठमा बसेकी किशोरीको निस्सासिएर ज्यान गएको छ । साँफेबगर नगरपालिका ३ की २१ बर्षीया किशोरी पार्वती बुढा रावतको आइतबार राती छाउगोठमा ज्यान गएको हो । मृतकको शरीरमा कुनै चोटपटक नदेखिएको र होचो ठाउँमा आगो बालेकाले निस्सासिएर ज्यान गएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको इलाका प्रहरी कार्यालय साँफेबगरका प्रहरी निरीक्षक नरपति भट्टले जानकारी दिनुभयो ।

बिहान साढे ७ बजेसम्म पनि नउठेपछि उहाँका जेठाजुले उठाउन जाँदा मृत भेटिएको उहाँले जानकारी दिनुभयो । ‘‘महिनावारी भएको हिजो ३ दिन भएको रहेछ। घरबाट सय मिटर टाढाको छाउगोठमा उनको ज्यान गएको देखिन्छ, बिहान उनी सुतेको छाउगोठको ढोका फोडेर हेर्दा मृत अवस्थामा भेटिएको उनका जेठाजुले बताएका छन्’ प्रहरी निरीक्षक भट्टले बताउनुभयो ।

पार्वतीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेन ल्याईएको छ । यसअघि २०७४ जेठमा अछामकै तुर्माखादकी २२ बर्षिया गौरी बुढाको पनि छाउगोठमा निस्सासिएर ज्यान गएको थियो । तुर्माखादमै २०७५ मंसिरमा १८ बर्षिया पार्वती बुढाको सर्पले टोकेर ज्यान गएको थियो। जिल्ला प्रहरी अछामका अनुसार अहिलेसम्म १४ जनाले छाउगोठमा ज्यान गुमाईसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार