देशी विदेशीको नजरमा परेको खानेपानी आयोजना, के छन् विशेषता ?

 507 पटक हेरिएको

भूकम्प अघिको तीन धारा, धाराबाट सीधै पानी पिउँदै स्थानीय ।

 

 

काभ्रेपलाञ्चोक : नामै तीन धारा । यसरी नै निरन्तर बगिरहन्थ्यो । ठूलो गिम्दी र सानो गिम्दीको पानीको आवश्यकता पूरा गरेकै थियो । तीन धाराबाट बग्ने पानीले धाराभन्दा तलतिरको जमिनमा सिंचाई गर्न पनि मज्जाले पुगेकै थियो ।

काभ्रेको तेमाल गाउँपालिका ५ मा ठूलो गिम्दी र सानो गिम्दीको बीचमा रहेको त्यही तीन धाराको हालत अहिले यस्तो भएको छ ।

भूकम्प पछि पानी सुकेको तीन धारा, धाराबाट झर्ने थोपा थोपा पानी संकलन गर्दै स्थानीय महिला ।

२०७२ सालको भूकम्पले तीन धाराको पानी भूगर्वमै दबिएको हो । ‘वैशाख १२ गतेको भूकम्पले त झनै बढाएको थियो, धारामा अटाई नअटाई पानी आएको थियो, वैशाख २९ मा आएको भूकम्पले मुहानमै थुने जसरी सुक्यो ।’ स्थानीय सम्झिन्छन् ।

पुस्तौं पुस्तादेखि दुई गाउँका मानिसले उपभोग गर्दै आएको, हिउँद बर्षा कहिल्यै नसुक्ने धारा सुकेको खबर विदेशसम्म फैलियो । गाउँमा पानीको हाहाकार भयो । पानीको दुःख भएको कुरा विदेशमा रहेका आफन्तले पनि थाहा पाए । सामाजिक सञ्जालमा समेत गाउँमा धारा सुकेको बिषयमा चर्चा भयो ।

सामाजिक सञ्जालमा तीन धाराको पानी सुकेको बिषयमा विदेशमा रहेका आफन्तले चासो दिँदै ।

खानेपानीको धारा सुकेपछि सानो गिम्दी र ठूलो गिम्दीका बासिन्दाको घाँटी अठ्याएजस्तै भयो । खानेपानी कहाँबाट ल्याएर प्राण धान्ने ? कुनै उपाय थिएन । नजिकमा खानेपानीको मुहान कतै थिएन । गाउँको पुछारबाट रोशी खोला बगेपनि त्यसलाई गाउँसम्म ल्याउने गाउँलेको बुताले भ्याउने कुरै थिएन ।

सानो गिम्दीका सोनाम तामाङको दिमाग क्लिक भयो । ‘खानेपानीको समस्या शान्ति जनआदर्श सेवा केन्द्रलाई दर्शाउने । केन्द्रले ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) सँग काम गरिरहेको थियो ।

शान्ति माया वाईबा, गिम्दीकै स्थानीयबासिन्दा । उहाँ शान्ति जनआदर्श सेवा केन्द्रको समेत सदस्य हुनुहुन्थ्यो । उहाँ मार्फत समस्या लैजान झनै सजिलो भयो गाउँलेलाई ।

गिम्दीबासीको पानीको समस्याबारे शान्ति जनआदर्श सेवा केन्द्रले पनि गहन तरिकाले अध्ययन गर्‍यो । केन्द्रका अध्यक्ष शंखबुद्ध लामा भन्नुुहुन्छ ‘त्यत्तिबेला ग्रामीण खानेपानी तथा सरसफाइ सुधार आयोजना सञ्चालन भईरहेको थियो । स्थानीयबासीको वास्तविक समस्यालाई सबै प्रक्रिया पूरा गरेर फण्ड बोर्डसम्म पुर्‍यायौं । यसरी तेमाल गाउँपालिका वडा नं. ५ मा हामीले सानो गिम्दी लिफ्ट खानेपानी तथा सरसफाइ आयोजना सञ्चालन गर्न सफल भयौं ।’

स्याटेलाईटबाट सानो गिम्दीको भौगोलिक अवस्था ।

समुदायद्वारा पहिचान गरिएका खानेपानी तथा सरसफाइ आयोजनालाई कोष विकास समितिले प्राथमिकता प्रदान गर्छ । खानेपानी आयोजनाको तर्जुमा, कार्यान्वयन, व्यवस्थापन, अनुगमन तथा मूल्याङ्कन र मर्मत सम्भारमा समेत समुदायको प्रत्यक्ष नेतृत्व र व्यवस्थापन हुनुपर्ने कोष विकास समितिको अवधारणा छ ।
खानेपानी आयोजना सञ्चालनका लागि कोष विकास समितिले निर्धारण गरेका क्रियाकलापहरु समुदायको आमभेलाबाट अनुमोदन गरेपछि मात्र सामुदायिक कार्ययोजनाहरुको कार्यान्वयन हुन्छ ।

यसरी पर्‍यो देशी विदेशीको नजरमा

२०७५ फागुन २९ गते । विश्व वैंकका डाइरेक्टर स्टाभेन स्कनबर्गरको टोली खानेपानी तथा सरसफाइ आयोजना अनुगमनका लागि सानो गिम्दी पुग्यो । काठमाडौबाट नजिकको दुरी, समुदायले व्यवस्थित तरिकाले सञ्चालन गरेको खानेपानी आयोजना भएकाले कोष विकास समितिले पनि सानो गिम्दी लिफ्ट खानेपानी तथा सरसफाइ आयोजनाकै अनुगमन गराउने निधो गरेको थियो ।

करिब ६ महिना कोष विकास समिति निलम्बनमा परेपछि रन्थनिएका विश्व बैंकका डाईरेक्टर त्यहाँ पुगेर मुस्कुराउनुभएको थियो । खानेपानीको वास्तविक आवश्यकता परेको समुदाय छनौट, खानेपानीले जीविकोपार्जनमा ल्याएको सुधार, खानेपानीको आपूर्तिबाट महिलामा आएको सशक्तिकरण र खानेपानीमा अत्याधुनिक प्रविधिको प्रयोगबाट खुसी भएका निर्देशक स्टाभेनले विश्व बैंकको लगानी सही ठाउँमा सदुपयोग भएको प्रतिक्रिया दिनुभएको थियो ।

खानेपानीको अनुगमनबाट सन्तुष्ट भएपछि निर्देशक स्टाभेनले खानेपानी मन्त्री सहित मन्त्रालयको उच्च अधिकारीहरुसँगको अन्तरक्रियामा ग्रामीण खानेपानी तथा सरसफाइ सुधार आयोजनाबाट आफू प्रभावित भएको र आगामी कार्यक्रमको अवधारणा तयार पार्न समेत आग्रह गर्नुभएको थियो ।

सानो गिम्दी लिफ्ट खानेपानी तथा सरसफाइ आयोजनाका लागि विश्व वैंकका डाइरेक्टर स्टाभेनको टोलीद्वारा गरिएको पहिलो उच्चस्तरीय भ्रमण भएपनि स्वदेशकै विभिन्न संघसंस्थाले भने धेरै पटक अवलोकन गरिसकेका छन् । निर्देशक स्टाभेनको भ्रमण अघि र पछि पनि अनुकरण गर्न योग्य खानेपानीको रुपमा सानो गिम्दी लिफ्ट खानेपानी तथा सरसफाइ आयोजनाको अवलोकन भ्रमण गर्दै आएका छन् ।

सानो गिम्दी लिफ्ट खानेपानी कसरी नमुना ?

विश्व बैंकका निर्देशक सहितको टोलीसँग तत्कालीन कार्यकारी निर्देशक लीला प्र. ढकाल ।

सानो गिम्दी लिफ्ट खानेपानी आयोजना अरु आयोजनाका लागि समेत उदाहरणीय आयोजना भएकाले नै विभिन्न संघसंस्थाका पदाधिकारीले अवलोकन भ्रमण गर्ने गरेका हुन् । गिम्दीमा स्वदेशी तथा विदेशी अवलोकनकर्ता किन आउँछन् त ? सानो गिम्दी लिफ्ट खानेपानी आयोजनाका अध्यक्ष प्रवीण लामा :

– सानो स्रोतलाई पनि व्यवस्थित तरिकाले बढी भन्दा बढी उपभोक्तालाई पानी वितरण गरिएको ।

– महिला आयमूलक समूहका लागि फण्डबोर्डले जम्मा गरेको २० हजारबाट बृद्धि गरी ७ लाख १६ हजार रुपैयाँ पुर्‍याएको ।

– आयोजनाको हरेक क्रियाकलापमा पारदर्शी र सामूहिक निर्णय पद्धति अपनाउने गरिएको ।

– महिलाको प्रतिनिधित्वलाई सुनिश्चितता गरिएको ।

– उपभोक्ताहरुको गुनासो सम्बोधन गरी जवाफदेहिता बहन गर्ने परिपाटीको विकास गरिएको ।

– मोबाइल एपको प्रयोगबाट स्वचालित रुपमा पानी लिफ्ट गर्ने व्यवस्था मिलाइएको ।

– पानीलाई मितव्ययी तरिकाले वितरण गरी अन्य ठाउँमा समेत विस्तार गरी वितरण गरिएको ।

– एक घर एक धारा, सुरक्षित पानीको व्यवस्था मिलाईएको ।

पारदर्शिताले उपभोक्तामा अपनत्व, पदाधिकारीमा जवाफदेहिता

खानेपानी आयोजनाको सम्पूर्ण विवरण समेटिएको होर्डिङ बोर्ड खानेपानीको सेवा प्रवाह हुने क्षेत्रका विभिन्न स्थानमा टाँस गरिएको छ । सानो गिम्दी लिफ्ट खानेपानी तथा सरसफाइ आयोजनाको मात्र होइन, कोष विकास समितिको आर्थिक सहयोगमा सञ्चालित देशैभरिका खानेपानी तथा सरसफाइ आयोजना सम्पूर्ण विवरण यसरी नै सार्वजनिक गरिएको हुन्छ ।

खानेपानी आयोजना सम्बन्धी विस्तृत विवरण समेटिएको होर्डिङ बोर्ड ।

योजनाको सम्पूर्ण विवरण सार्वजनिक गर्दा योजना प्रति समुदायको अपनत्व हुने र सम्बन्धित पदाधिकारी पनि जवाफदेही बन्ने शान्ति जनआदर्श सेवा केन्दका अध्यक्ष शंखबुद्ध लामाको तर्क छ ।

‘कति सहयोग आएको ? कति रकम समुदायले जम्मा गर्नुपर्ने ? श्रमदान कति गर्नुपर्ने भन्ने केही थाहा नभए न उपभोक्ता रकम उठाउन मान्छन् ? न श्रमदान गर्न आउँछन् ? योजना त्यत्तिकै अवरुद्ध हुन्छ । तर योजनाको सम्पूर्ण विवरण सार्वजनिक स्थानमा टाँस गरेपछि सबैलाई छर्लङ्ग हुन्छ र आ–आफ्नो दायित्व पूरा गर्छन् र पदाधिकारीहरु पनि जवाफदेही हुन्छन् । फण्ड बोर्डको राम्रो पक्ष मध्ये यो पनि एक हो ।’ लामाले भन्नुभयो ।

खानेपानी आयोजना सुरु भएको २४ महिना अर्थात दुई बर्ष भित्र सम्पन्न गर्नैपर्ने कोष विकास समितिको प्रावधान छ । कोष विकास समितिले कुनै पनि आयोजनालाई पूर्व विकास चरण, विकास चरण, कार्यान्वयन चरण र कार्यान्वयन पछिको चरण गरी आयोजना चक्र निर्धारण गरिएको हुन्छ ।

सानो गिम्दी खानेपानी आयोजनाको विकास चरण २०७३ जेठ देखि सुरु भई २०७३ माघ सम्मको थियो । यस्तै कार्यान्वयन चरण २०७४ असारबाट सुरु भई २०७५ वैशाखमा सम्पन्न भएको थियो ।

गिम्दी गाउँ, भूकम्प अघि तीन धाराको पानी पिउदै आएका बासिन्दा अहिले लिफ्टिङ गरी ल्याएको पानी पिउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार