वर्दिया : ‘पूर्ण सरसफाइ उन्मुख टोलमा हार्दिक स्वागत छ’ लेखिएको प्रवेशद्वार, अतिथिहरुलाई स्वागत गर्न प्रवेशद्वारमै पुगेका थिए वाँसगढी नगरपालिका वडा नं. ४ मगरपुर र वडा नं. ५ लक्ष्मणपुरका स्थानीय बासिन्दा ।
आफूहरुलाई प्रवेशद्वारमै आएर विभिन्न झाँकी सहित स्वागत गरेपछि अध्ययन भ्रमणमा जानुभएका राजापुर नगरपालिका वडा नं. २ का अध्यक्ष धरणीधर चौधरी र गेरुवा गाउँपालिका वडाध्यक्ष दयाराम वैद्य खुसीले गदगद हुनुभयो । भ्रमणमा दुवै गाउँपालिकाका कार्यपालिकाका सदस्यहरु, वडा सदस्यहरु र सरसफाइयुक्त नमुना वन्न लागेका समुदायका प्रतिनिधीहरु समेत हुनुहुन्थ्यो ।
आफ्नो नमुना गाउँको अवलोकन भ्रमणमा आउनुभएका पाहुनालाई गाउँको प्रवेश विन्दुमै स्वागत गर्न पुगेका स्थानीयबासी पनि खुसी र प्रफुल्लित देखिन्थे ।
वर्दिया जिल्लाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका जनप्रतिनिधिहरु र सरसफाइयुक्त नमुना वन्न लागेका समुदायका प्रतिनिधिहरुले वढैयाताल गाउँपालिका र वाँसगढी नगरपालिकाका सफा र स्वच्छ चरण पूरा गरेका सरसफाइ नमुना समूदायको स्थलगत अवलोकन अध्ययन भ्रमण गरेका हुन् ।
गाउँमा पुगेका पाहुनालाई स्वागत गर्ने, मीठा परिकार खुवाउने काम मात्र गरेनन्, सरसफाइको अमिट छाप लगाएर पठाएका छन् मगरपुर, लक्ष्मणपुर र समरपुरका बासिन्दाले । पाहुनाहरुलाई गाउँमा डुलाएर उनीहरुले सरसफाइमा नमुना बन्दै गएको उदाहरण प्रस्तुत गरेका थिए ।
भ्रमणको क्रममा राजापु्र नगरपालिकाका वडा नं. २ का अध्यक्ष धरणीधर चौधरीले स्थानीय स्तरमा गरिएका सरसफाइका प्रयासहरुको अवलोकन गर्नुभयो । उहाँले स्थानीय बासिन्दाबाट भएका सरसफाइ सम्बन्धी प्रयासहरु अन्यन्तै सराहनीय र प्रभावकारी रहेको भन्दै प्रयास गरे कुनै पनि काम असम्भव नहुने रहेछ भन्ने अनुभूति भएको बताउनुभयो ।
यस्तै गेरुवा गाउँपालिकाका वडाध्यक्ष दयाराम वैद्यले पनि आफ्नो वडालाई पनि छिट्टै पूर्ण सरसफाइ वडाको रुपमा घोषणा गर्न लागेको जानकारी गराउनुभयो । उहाँले यस प्रकारको भ्रमणले एक अर्कामा सिकाई आदानप्रदान गर्ने र नमुना कामको अनुशरण गर्ने अवसर प्रदान गर्ने बताउनुभयो ।
वाँसगढी नगरपालिकाका उपप्रमुख सुस्मा चौधरीले पालिकामा सरसफाइ नमुना समुदाय वन्दै गरेको, मूक्त कमैया वस्ती, दलित, मधेसी र थारु समूदायमा पनि सरसफाइले फड्को मार्दै गएको जानकारी गराउनुभयो ।
खुल्ला दिसामुक्त पश्चातको पूर्ण सरसफाइ कार्यक्रम अन्तर्गत सफा र स्वच्छ चरण पूरा गरेका सरसफाइ नमुना समूदायको स्थलगत अवलोकन भ्रमण गरिएको हो । GSF/UN- Habitat को आर्थिक सहयोग र IDS-Nepal/Mayus Bardiya को सहजीकरणमा सञ्चालित खुल्ला दिसामुक्त पश्चातको पूर्ण सरसफाइ कार्यक्रम वर्दियाको वाँसगढी नगरपालिका, वढैयाताल गाउँपालिका, राजापूर नगरपालिका र गेरुवा गाउँपालिकामा सञ्चालन भईरहेको छ ।