झापाको बिर्तामोडमा सरसफाइ श्रोत केन्द्र


झापा : झापाको बिर्तामोड नगरपालिकामा सञ्चालित पूर्ण सरसफाइ अभियान अन्तर्गत वडा नं. ९ को कोलाटोलीमा सरसफाइ श्रोत केन्द्र स्थापना गरिएको छ । कोलाटोली नमुना समुदाय व्यवस्थापन समितिका अध्यक्ष गणेश श्रेष्ठले व्यक्तिगत खर्चमा स्थापना गर्नुभएको श्रोत केन्द्रको वडा अध्यक्ष पबित्रा पाठकले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभयो ।

श्रोत केन्द्र उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडा अध्यक्ष पाठकले बिर्तामोड नगरपालिका वडा नं. ९ लाई पूर्ण सरसफाइ उन्मुख बनाउन सबै क्षेत्रको सहभागिता अनिवार्य रहेको बताउँदै वडाबासीलाई यस कार्यमा सहयोग गर्न आग्रह गर्नुभयो । बिर्तामोड नगरपालिकाको वडा नं. ९ ले त्रिबर्षीय पूर्ण सरसफाइ रणनीतिक योजना तयार पारिसकेको जानकारी गराउँदै उहाँले आगामी तीन बर्ष भित्रमा बिर्तामोड ९ लाई पूर्ण सरसफाइ उन्मुख बनाई सक्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । खुला दिसामुक्त अभियानकै बेलादेखि सरसफाइ अभियानलाई प्रमुख प्राथमिकता दिनुभएकी प्रमुख अतिथि पाठक बिर्तामोड नगरपालिकामा निर्वाचित एक्लो महिला वडा अध्यक्ष हुनुहुन्छ ।


व्यक्तिगत खर्चमा श्रोत केन्द्रको निर्माण गर्नुभएका कोलाटोली नमुना समुदाय व्यवस्थापन समितिका अध्यक्ष गणेश श्रेष्ठले आफ्नो टोललाई सरसफाइ नमुना टोल बनाउन आफ्नो तर्फबाट समेत योगदान पुगोस् भन्ने उद्देश्यले श्रोत केन्द्र निर्माण गरिएको बताउनुभयो । यस्तै वडा सदस्य हरि चम्लागाईले बिर्तामोड नगरपालिका वडा नं. ९ को कोलाटोली समुदायलाई पूर्ण सरसफाइ उन्मुख समुदाय निर्माणका लागि मिहेनत गरिरहेको र छिट्टै लक्ष्य हासिल गरिसक्ने बताउनुभयो ।

श्रोत केन्द्र उद्घाटन कार्यक्रममा जनप्रतिनिधि तथा स्थानीय समुदायको बाक्लो उपस्थिती रहेको थियो । वडा नं. ९ को कार्यालयले आगामी हप्ताबाट प्रत्येक घरधुरीको अनुगमन गर्ने कार्यको समेत थालनी गर्ने योजना बनाएको छ । बिर्तामोड नगरपालिकाका अन्य वडामा समेत पूर्ण सरसफाइ अभियान सञ्चालन भइरहेको छ ।
ग्लोबल स्यानिटेशन फण्ड/युएन ह्याबिट्याटको आर्थिक तथा प्राबिधिक सहयोग तथा बिराट सामुदायिक अध्ययन केन्द्रको सहजीकरणमा बिर्तामोड नगरपालिकाले पूर्ण सरसफाइ अभियान सञ्चालन गरिरहेको छ ।

सोम आचार्य /बिर्तामोड

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार