सुरक्षित पानी उपभोग गर्ने साँगाचोकगढीका २२ सय घरको सपना पूरा हुँदै

 

सिन्धुपाल्चोक : खानेपानी अभावमा बर्षौदेखि सास्ती भोग्दै आएका सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिकाका २२ सय घरको सपना अब चाँडै पूरा हुने भएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौडाको ३७ करोड रुपैयाँ लागतमा निर्माण भईरहेको जाडे खोला, टुनीबोटे, हर्रे, साँगाचोकगढी खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । ‘हामी बैशाखदेखि खानेपानी वितरण गर्ने गरी काम गरिरहेका छौं’ खानेपानी उपभोक्ता समितिका अध्यक्ष दधिराम पराजुलीले भन्नुभयो । उहाँका अनुसार अहिलेसम्म ८० प्रतिशत भन्दा बढी काम सम्पन्न भएका छन् ।

खानेपानी आयोजना सम्पन्न भएपछि चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं. १०, ११ र १२ का २२ सय घरपरिवार लाभान्वित हुनेछन् । बस्तीबाट १० किलोमिटर तल रहेको जाडे खोलाको मुहानबाट लिफ्टिङ गरेर उपभोक्ताहरुलाई खानेपानी वितरणको तयारी गरिएको अध्यक्ष पराजुलीले बताउनुभयो । जाडे खोलामा रहेको खानेपानी मुहानमा ड्याम बनाएर केही तल रहेको ट्याङ्कीमा जम्मा गरेर त्यहाँबाट चार स्टेशनको लिफ्टबाट डाँडामा पु¥याएपछि बस्तीमा खानेपानी वितरण गरिनेछ । मुहान स्थलमा २ लाख लिटर क्षमताको ट्याङकी निर्माण गरिएको छ । उपभोक्ताहरुलाई सुरक्षित खानेपानी उपलब्ध गराउनका रिजर्भ्वायर ट्याङ्की भन्दा माथि तीन वटा प्रशोधनशाला निर्माण गरिएको छ ।

पहिलो फिल्टर प्लानटमा गोला ढुङ्गा राखेर पानी प्रशोधन गरिनेछ भने त्यसबाट आएको पानीलाई आधुनिक गिट्टी राखेर बनाइएको दोस्रो फिल्टरमा राखेर पानी प्रशोधन गरिनेछ । दोस्रो फिल्टरबाट आएको पानीलाई तेस्रो फिल्टर प्लाण्टमा राखेर रिजर्भ्वायर ट्याङकीमा पानी खसाल्ने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयका इन्जिनियर सुरेश सत्यालले जानकारी दिनुभयो ।

यसरी वितरण हुनेछ खानेपानी

मुहानमा भएको २ लाख लिटर क्षमताको रिजर्भ्वायर ट्याङकीबाट २ सय ३० मिटरको भर्टिकल हाईटमा रहेको खत्रीथोकमा एक लाख लिटर क्षमताको ट्याङकीमा पानी खसाल्ने योजना रहेको छ । यो आयोजनाको पहिलो लिफ्ट हो । पहिलो लिफट्बाट पनि २ सय ३० मिटरको हाईटबाट नयाँ गाउँमा रहेको १ लाख लिटर क्षमताको ट्याङकीमा पानी खसालिने उपभोक्ता समितिका अध्यक्ष दधिराम पराजुलीले जानकारी दिनुभयो ।

नयाँ गाउँबाट तेस्रो लिफटीङ गरेर हर्रेडाँडामा रहेको कलेक्सन ट्याङकीमा पानी जम्मा गरिने र चौथो लिफ्टीङ हेल्का डाँडामा २ लाख लिटर क्षमताको ट्याङकीमा पानी जम्मा गरिने अध्यक्ष पराजुलीले बताउनुभयो । मुहानदेखि चार स्टेशनको लिफ्टीङबाट पाँचौ स्थानमा रहेको ट्याङकी सम्म पानी लैजादा १० किलोमिटरको दुरी हुने अध्यक्ष पराजुलीले बताउनुभयो ।

पहिलो लिफ्टीङबाट उपभोक्ताहरुलाई पानी वितरण हुने छैन भने दोस्रो र तेस्रो लिफटीङबाट भने उपभोक्ताहरुलाई पानी वितरण हुने र यसका लागि छुट्टै ट्याङकी समेत निर्माणको क्रममा रहेको छ । खत्रीथोकमा रहेको ट्याङ्कीबाट पानी वितरण नभए पनि नयाँ गाउँमा रहेको लिफटीङ्बाट भने ७० घनमिटरको ट्याङकीबाट उपभोक्ताहरुलाई पानी वितरण गरिनेछ ।


त्यस्तै देउरालीमा रहेको अर्कोे लिफ्टीङबाट कोटडाँडाका उपभोक्ताका लागि १ लाख ५० हजार, चण्डेनी १ लाख ५० हजार, काभ्रे ७० हजार र स्वाँराथोकका उपभोक्ताहरुका लागि ३० हजार घनमिटरको ट्याङकीबाट पानी वितरण हुनेछ । चौतारा साँगाचोकगढी नगरपालिकाको १०, ११ र १२ वडाको २२ सय घरधुरीलाई खानेपानी वितरणका लागि जल्केनीमा १५० घनमिटर, कार्कीटारमा वितरणका लागि ७० घनमिटर क्षमताको वितरण ट्याङकी निर्माण गरिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार