
वाग्मतीको बहाव क्षेत्रको समेत मुआब्जा माग गरेपछि करिब एक बर्षदेखि अवरुद्ध रहेको वाग्मती व्युटिफिकेसनको काम पुनः सुरु भएको छ । स्थानीय बासिन्दाले राखेको मागकै बीचमा वाग्मती ब्युटिफिकेसनको काम सुरु भएको हो । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको आयोजना प्रमुखमा लिला प्रसाद ढकाललाई पदस्थापन गरेपछि सरोकारवाला निकायसँग छलफल तथा अन्तरक्रिया गर्नुका साथै उक्त बिषय प्रधानमन्त्री कार्यालयसम्म पुगेपछि अबरुद्ध कामले गति लिन थालेको हो । आयोजना प्रमुख ढकाल भन्नुहुन्छ ‘उहाँहरुको यथोचित माग न्यायोचित तरिकाले सम्बोधन हुँदै जानेछ, वाग्मती व्युटिफिकेसनको काम पनि रोकिनेवाला छैन ।’
लामो समयदेखि अवरुद्ध वाग्मती व्युटिफिकेसनको काम कसरी सुरु भयो ? स्थानीयबासिन्दाको जग्गाको मुआब्जाको बिषय निरुपण नगरी सुरु भएको कामले कस्तो परिणाम दिन्छ ? वाग्मतीमा सफा पानी बगेको हेर्ने चाहना कहिले पूरा हुन्छ ? यसैको सेरोफेरोमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख लिला प्रसाद ढकालसँग वास खबरले गरेको कुराकानी :
वाग्मती व्युटिफिकेसनको काम के कसरी भईरहेको छ ?
वाग्मती व्युटिफिकेसनको काम विगत साढे तीन बर्ष अगाडि देखि सुरु भएको हो । लगभग ७० प्रतिशत काम सम्पन्न भएपछि विगत ९ महिनादेखि अवरुद्ध थियो । अवरुद्ध काम अहिले सुचारु भएपछि थप ७ प्रतिशत जत्ति काम सम्पन्न भएर कुल ७७ प्रतिशत जत्ति काम सम्पन्न भएको छ । यसमा वाग्मतीको गोकर्णदेखि सिनामंगलसम्म ११ वटा ड्यामहरु बनाउने, वाग्मती किनारको दायाँबायाँ रिभर ट्रेडिङको कामहरु गर्ने, ढल कनेक्सन नभएका ठाउँहरुमा ढल कनेक्सन गर्ने, दायाँबायाँका सडकहरु अपग्रेड गर्ने, ग्रीनबेल्टका कामहरु, साइकल लेन र पैदलयात्री हिड्नका लागि फुट ट्रेल बनाउनु छ । यी समग्र काम सम्पन्न भएपछि वाग्मती सौन्दर्यकरण हुनेछ । वाग्मतीको प्राकृतिक बहावलाई जस्ताको तस्तै लैजाने र दायाँबायाँको अवस्थालाई पनि सुरक्षित र सुन्दर बनाउने भन्ने यसको अभिप्राय हो ।
गुहेश्वरीभन्दा माथि गोकर्णसम्मको जत्ति ढलहरु डाईरेक्ट खोलामा मिसिरहेका थिए, ती ढलहरुलाई इन्टरसेप्टरमा कनेक्सन गरेर प्रसोधन केन्द्रमा ल्याई प्रसोधन गरिसक्यौं । त्यसले गर्दा गुहेश्वरी भन्दा माथिको वाग्मती ढलमुक्त भईसकेको छ ।
स्थानीय बासिन्दाले जग्गाको मुआब्जा माग्दै अवरोध गर्दै आएका थिए । यो विवाद निरुपण भएर काम अगाडि बढेको हो ?
विवादको बिषय धेरै अगाडिदेखि सुषुप्त रुपमा उठ्दै आएको पनि रहेछ । यो ५५/५६ सालदेखि नै मुआब्जा वितरण, जग्गाको सोध भर्ना (जग्गाको सट्टा जग्गा नै दिने) कामहरु पनि पहिलेका समितिहरुले गर्नुभएको रहेछ । त्यसमा केही जग्गाहरु जो बहाव क्षेत्र भित्रका जग्गा छुटेको भन्ने छ । लगभग १८८ रोपनी जत्ति जग्गाको मुआब्जा छुट भएको भन्ने स्थानीयको दाबी छ । यो मागको सन्दर्भमा विभिन्न चरणमा अधिकार सम्पन्न वाग्मती एकीकृत विकास समितिले छलफल पनि गरेको र सहरी विकास मन्त्रालयमा पनि छलफल भएको बिषय रहेछ । यो लामो समयदेखि निरुपण भई नसकेको भन्ने कुरा विभिन्न रिपोर्टहरुमा पनि देखिन्छ । यसको निरुपणका लागि अहिले संसदको कृषि समितिले पनि सरकारको नाममा एउटा आदेश जारी गरिसकेको र त्यसको आधारमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमै पनि अहिले छलफलको चरणमा छ । उहाँहरुको यथोचित मागका बिषयमा उच्च तहमै छलफल भईरहेको छ ।
यो बिषय सरकारको उच्च निकायमै पुगेपछि त विवादको निरुपण भएपछि मात्र काम सुचारु गरेको भए हुन्थ्यो होला नि ?
धेरै अगाडिदेखि नै यी बिषयहरु उठान भईरहेका थिए । तर एसियाली विकास बैंकको ऋण सहयोगमा एक अर्ब ९० करोडको आयोजना सुरु भईसकेको, त्यत्तिबेला जग्गाको बिषयहरु नउठेको बुझिएको र बैंकले पनि ऋण स्वीकृत गर्दा ती बिषयहरु नउठेको देखेपछि बैंकले पनि ठूलो समस्याको रुपमा लिनु भएन । यो योजना सम्झौता भएर अढाई तीन बर्ष काम सुचारु भएपछि पछिल्ला दिनमा अवरुद्ध हुन पुगेको हो । लामो समयसम्म अवरुद्ध बस्दा ऋण अवधि पनि सकिन लागेको, अर्कोतिर ठेकेदारको पनि ठेक्काको निश्चित अवधि सकिन लागेको अवस्थामा यसलाई यसरी राख्नुहुन्न भन्ने पक्षमा पुग्यौं । हामी आएपछि सबैसँग परामर्श ग्यौं । स्थानीय निकायका प्रमुख ज्यूहरु, सांसद ज्यूहरु, संघर्ष समितिका सदस्यहरुसँग परामर्श ग्यौं । काम पनि अगाडि बढाऔं, यहाँहरुको यथोचित मागको बिषयमा सरकारले न्यायोचित तरिकाले सम्बोधन गर्दै लैजानेछ भन्ने हिसाबले कुरा गर्दा पनि सहजता देखाउनु भएन । यस बिषयमा मन्त्रालय पनि जानकार थियो र हामीले माथिल्लो निकायसम्म जानकारी पनि गरायौं । त्यसपछि उहाँहरुको न्यायोचित मागहरुको सन्दर्भमा छलफल हुँदै जाने र काम नरोक्ने भन्ने भएपछि मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको निर्देशनमा यी कामहरु अगाडि बढाएका हौं ।
विवादकै बीच अगाडि बढेको कामको अवस्था कस्तो छ त ? स्थानीयले अवरोध गरेका छैनन् ?
गुनासाहरु आउने त छँदैछ, उहाँहरुसँग छलफल गर्ने काम त पटक – पटक ग्यौ नै । हामीलाई के विश्वास छ भने उहाँहरुको मागको न्यायोचित हिसाबले सम्बोधन हुनेछ र सँगसँगै वाग्मती र दायाँबायाँको एरियालाई सौन्दर्यकरण पनि गराउँछौं । यो दुवैको बीचबाट निकास निकाल्ने प्रयत्न भईरहेको छ । र काम पनि द्रुत गतिमा अगाडि बढिरहेको छ । यो असार मसान्तसम्ममा सबै कामहरु सकेर वाग्मतीमा सफा पानी पनि बगाउने र दायाँबायाँ सुन्दर पनि बनाउने यो महान अभियानका साथ अगाडि बढिरहेका छौं ।
व्युटिफिकेसनकै काम अन्तर्गत नदीको बीच बीचमा चेक ड्यामहरु बनाउने काम चाहिं कहाँ पुग्यो ?
११ वटा चेक ड्यामहरु निर्माण सम्पन्न भईसकेका छन् । यसले मात्र पानी सफा हुने चाहिं होइन । यसका लागि हाम्रो ढल प्रसोधन केन्द्रहरु चाहिं बन्नुपर्यो । ढल प्रसोधन केन्द्रहरु तयार हुनुपर्यो । विभिन्न ठाउँमा ढल प्रसोधन गरेर काठमाडौका नदीनालाहरुलाई शुद्धिकरण गर्ने भन्ने सरकारको राष्ट्रिय लक्ष्य छ, त्यही अनुसार काम अगाडि बढिरहेको छ । त्यसमध्ये खुसीको कुरा चाहिं गुहेश्वरीको ढल प्रसोधन केन्द्र जुन छ, यो चाहिं तयार भईसकेको छ । यो अहिले परिक्षणको क्रममा छ । अब माथिल्लो तहबाट उदघाटनको तयारीमा लागिरहेका छौं ।
प्रसोधन केन्द्रहरु अबको एक डेढ बर्षभित्रमा निर्माण भएपछि ढलहरु पूरा प्रशोधन गरेर सफा पानी मात्र खोलामा फालिनेछ त्यसपछि काठमाडौका खोलानालाहरु सबै शुद्ध हुन्छन्, सफा पानी बग्न थाल्छन् । काठमाडौको पर्यावरण, वातावरण सबै सफा र स्वच्छ हुँदै जानेछ भन्नेमा विश्वस्त छु ।
हामीले गुहेश्वरीभन्दा माथि गोकर्णसम्मको जत्ति ढलहरु डाईरेक्ट खोलामा मिसिरहेका थिए, ती ढलहरुलाई इन्टरसेप्टरमा कनेक्सन गरेर प्रसोधन केन्द्रमा ल्याई प्रसोधन गरिसक्यौं । त्यसले गर्दा गुहेश्वरी भन्दा माथिको वाग्मती ढलमुक्त भईसकेको छ । गोकर्णभन्दा तलको पोर्सनको दुवै साइटको ढल इन्टरसेप्टर मार्फत प्रशोधनशालामा हालिसक्यौं । गोकर्णभन्दा माथिको ठाउँमा पुरानो प्रशोधन केन्द्र थियो । त्यो विगत दशौं बर्षदेखि सुचारु थिएन । हामी आएपछि एक डेढ महिनाकै बीचमा त्यो पूरै मिडियाहरुलाई सफा गरेर प्रयोगमा ल्याइसकेका छौं । पहिले १७० बिओडी प्रदुषित पानी थियो भने अहिले प्रदुषणको मात्रा घटेर ५० बिओडी भन्दा कम भईसकेको छ । त्यसले गर्दा गुहेश्वरीभन्दा माथिको वाग्मतीमा सीधै ढल मिसिएको छैन । यदाकदा कसैले ढल हालेमा हामी कडा कार्वाही गर्छौ र ढल चाहिं गुहेश्वरीको ढल प्रसोधन केन्द्रमा प्रसोधन गरेर मात्र वाग्मती नदीमा छोड्छौं । यहाँ भन्दा तलको वाग्मती पनि क्रमशः सफा हुँदै जान्छ । मनोहरा दोभानसम्मको पोर्सनमा इन्टरसेप्टर बनिसकेकाले ढलहरु कनेक्सन गर्दै – गर्दै लगेपछि त्यो पोर्सनसम्म हामी छिटै सफा पानी बगाउन सक्छौं ।
त्यसभन्दा तलतिरको भागमा चाहिं कहिले बन्छन्, यस्ता ढल प्रशोधन केन्द्रहरु ?
यी कामहरु व्यापक रुपमा अगाडि बढिरहेका छन् । हनुमन्तेबाट आएको फोहोरलाई हनुमन्ते इन्टरसेप्टर मार्फत आयोजना कार्यान्वयन निर्देशनालयले र हामीले पनि कतिपय सेक्सनहरुमा ढल हाल्ने काम गरिरहेका छौं । मनोहराको पनि ढल बिछ्याउने कामहरु भईरहेको छ । भक्तपुरको सल्लाघारीमा १ करोड ४० लाख लिटर क्षमताको प्रसोधन केन्द्र निर्माण भईरहेको छ । यस्तै सल्लाघारी भन्दा तल्लो क्षेत्रबाट आउने ढललाई प्रसोधन गर्न ललितपुरको बालकुमारीमा १ करोड ७० लाख लिटर क्षमताको प्रसोधन केन्द्र बन्दैछ । त्यो भन्दा तल गएपछि धोबीघाटमा ६ करोड ५० लाख लिटरको ठूला –ठूला प्रसोधन केन्द्रहरु बनिरहेका छन् । यी प्रसोधन केन्द्रहरु अबको एक डेढ बर्षभित्रमा निर्माण भएपछि ढलहरु पूरा प्रशोधन गरेर सफा पानी मात्र खोलामा फालिनेछ त्यसपछि काठमाडौका खोलानालाहरु सबै शुद्ध हुन्छन्, सफा पानी बग्न थाल्छन् । काठमाडौको पर्यावरण, वातावरण सबै सफा र स्वच्छ हुँदै जानेछ भन्नेमा विश्वस्त छु ।


1915 पटक हेरिएको 

