पाँचथर : प्रधानमन्त्री केपी शर्मा ओलीले खानेपानी र विजुलीको महसुल सबै नेपाली जनताले धान्न नसक्ने भएकाले त्यसलाई घटाउनु पर्ने बताउनुभएको छ । पाँचथरको कुम्मायक गाउँपालिकामा निर्माण भएको तमोर लिफ्ट खानेपानी आयोजनाको उदघाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले जनताका मौलिक हकमा परेको सुरक्षित खानेपानीको महसुल घटाउन सरकारको प्रतिबद्ध रहेको बताउनुभयो । ‘खानेपानी र बिजुलीको महसुल मेरै कार्यकालमा समायोजन हुन्छ’ उहाँले भन्नुभयो ।
सडक, विद्युत् र खानेपानीको पहुँच प्रत्येक नेपालीको घरसम्म पुर्याउन सरकारले लिएको संकल्प आफ्नै कार्यकालमा पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता थियो । आयोजनाको ९८ प्रतिशत काम सम्पन्न भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार आयोजनाको उदघाटन गर्नुभयो । सुख्खा क्षेत्रका रूपमा स्थापित पाँचथरको कुम्मायक गाउँपालिकामा पर्ने तत्कालीन यासोक, स्याबरुम्बा र रानिगाउँका बासिन्दालाई खानेपानी उपलब्ध गराउने हेतुले चार बर्ष अघि तमोर नदीको पानी लिफ्ट गर्न सुरु गरिएको हो । हाल सम्म दुई हजार २०० घरमा खानेपानी जडान भइसकेको छ । यही फागुन महिनाभित्र सबै घरमा खानेपानी पुर्याउने लक्ष्य राखिएको उपभोक्ता समितिका अध्यक्ष डम्बरसिंह सम्बाहाम्फेले जानकारी दिनुभयो ।
खानेपानी आयोजना सम्पन्न भएपछि कुम्मायक गााउँपालिकाको वडा नं. १,३,४ र ५ का १३ हजार ८४० जनसङख्या लाभान्वित हुने अध्यक्ष सम्बाहाम्फेले बताउनुभयो । आयोजनाको कुल लागत ५१ करोड ३० लाख २० हजार ५ सय ६८ रहेको छ । कुम्मायक–५ स्यावरुम्बाको लुमुघाटबाट तमोर नदीको पानी एक हजार ४३४ मिटर उचाइमा रहेको यासोक बजारसम्म पुर्याई खानेपानी वितरण शुरु गरिएको छ । विद्युतीय पम्पिङ प्रविधिको प्रयोग गरी लुमुघाटबाट सात स्थानमा रहेको पम्पिङ स्टेशन (ट्याङ्की) को सहायताले डाँडासम्म पानी पुर्याइएको हो ।
प्रति सेकेन्ड २०.३ लिटर पानी झार्ने आयोजनाको लक्ष्य छ । आयोजनाको प्रसारण लाइन तर्फ मुहानमा एउटा ट्याङ्की, पम्पिङ स्टेशन सात, खोल्सा क्रसिङ र कार्यालय भवन एक एक, पानी ट्याङ्की ११ र चौकीदार घर १० निर्माण गरिएको आयोजनाले जनाएको छ । नदीबाट डाँडासम्म पानी ल्याउने प्रसारण लाइन १७.४ किलोमिटर तथा वितरण पाइप लाइन १९२.५१ किलोमिटर बिछ्याईको छ । वितरण लाइन तर्फ अग्नि नियन्त्रक १५, खोल्सा क्रसिङ ३४ र भल्भ च्याम्बर ११५ छन् ।
उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओली सहित खानेपानी तथा सरसफाइ मन्त्री बिना मगर, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, प्रदेश–१ का मुख्य मन्त्री शेरधन राई र आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बो लगायत पुग्नु भएको थियो ।