राप्तीको पानीले नेपालगञ्जबासीको तिर्खा मेटाईदै


बाँके : नेपालगञ्जमा खानेपानीको समस्या अन्त्य गर्न राप्ती नदीको पानी ल्याउन धमाधम काम भईरहेको छ । २० बर्ष अघि सुरु गरिएको खानेपानी आयोजनाले अहिले आएर पूर्णता पाउन लागेको हो । योजना अन्तर्गत अहिले राप्ती नदीमा पानी तान्ने इन्टेक जडान र पाइप बिछ्याउने काम अगाडि बढाइएको नेपाल खानेपानी संस्थान नेपालगञ्जका साइट इञ्जिििनयर सङ्गीता थापाले जानकारी दिनुुभयो ।

२०५६ सालमा सुरुवात भएको यो योजनाले त्यसबखत बजेट अभावका कारण पूर्णता पाउन सकेको थिएन । गत वर्ष पुनः शुरु गरिएको यो योजनालाई २०७५/७६ आर्थिक वर्षभित्र सक्ने लक्ष्य राखिए पनि फेरि दुई वर्ष थप गरिएको छ । योजनाको पहिचो चरणमा करिब १८ करोड रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको छ । डुडुवा गाउँपालिका–४ कम्दीको सिंधनियाघाटबाट १६ हजार ८१७ मिटर पाइप जडान गरी राप्ती नदीबाट पानी ल्याउने गरी योजनाको काम अघि बढाइएको उहाँले बताउनुभयो ।

करिब २४ हजार ४७१ घरधुरी रहेको यहाँको जनसङ्ख्या करिब डेढ लाख रहेको छ । यहाँ हाल कारकादोमा रहेको चार लाख २० हजार लिटर र बागेश्वरी मन्दिर नजिक रहेको चार लाख ५० हजार लिटर क्षमताको पानी ट्याङ्कीबाट पानी वितरण हुँदै आएको छ । उहाँका अनुसार यहाँका करिब चार हजार ५०० घरधुरीले खानेपानी संस्थानको धारा जडान गरेका छन् । बिहान, दिउँसो र बेलुका गरी दैनिक ३५ लाख लिटर पानी प्रयोग हुने गरेको जनाइएको छ ।

अहिले यहाँ शुद्ध पानीको अभाव देखिएको छ । ३०० मिटर गहिराइसम्म हाते धारा जडान गर्दा समेत पर्याप्त पानी भेटाउन सकिएको छैन । यो एउटा दीर्घकालीन समस्याका रुपमा देखिएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार