मनिराज पाण्डे/कालिकोट : कालिकोटको पलाँता गाउँपालिकाको २ हजार १ सय ७१ घरमध्ये ४ सय ७१ घर शौचालय बिहीन छन् । पहिले बनाएका अस्थायी चर्पी भत्किएको र सेप्टिक ट्यांकी भरिएकाले शौचालय बिहीन घरको संख्या धेरै भएको सरसफाइ अभियानकर्ता विक्रम शाहीले जानकारी दिनुभयो ।
उहाँका अनुसार तिलागुफा नगरपालिकाको चिल्खायाँका अधिकांश चर्पी भत्किए पछि नयाँ निर्माण गरेका छैनन् । सबै वडाध्यक्षले बैशाख १ गतेसम्म सबै घरमा चर्पी बनाइसक्ने बचन दिएका छन् । कालिकोटलाई कर्णालीको पहिलो खुला दिसामुक्त जिल्लाको रुपमा २०७० साल जेठमा खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । जिल्लाका पालिकाहरुले दिएको तथ्याङ्क अनुसार कालिकोटका करिब दुई हजार घरमा चर्पी छैनन् ।
तिलागुफामा एक घर एक धारा अभियान
तिलागुफा नगरपालिकाको राँचुली र चिल्खायाँको घर घरमै धारा पुर्याइएको छ । नगरका अन्य वडामा पनि घरघरमा धारा पुर्याउन काम भइरहेको नगरप्रमुख रतनबहादुर शाहीले बताउनुभयो । नरहरिनाथ गाउँपालिकाको कुमालगाउँ गोठीमा यसअघि नै घर घरमा धारा जडान भइसकेको छ । माडेगाउँ सहितका बस्तीमा धारा जडानको काम भइरहेको गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले जानकारी दिनुभयो । यस बर्ष मात्र खानेपानी आयोजनामा ५ करोड रुपैयाँ लगानी गरिएको गाउँपालिका अध्यक्ष विष्टले जानकारी दिनुभयो ।
रासकोटमा खानेपानीका लागि २० करोड लगानी
रासकोट नगरपालिकाले पनि घरघरमा धारा अभियान थालेको छ । नगरका सबै वडाका घरघरमा धारा पुर्याउन २० करोड रुपैयाँको डिजाइन स्टिमेट तयार भई बजेट जुटाउन पहल भइरहेको छ । वडा नं. ३ र ६ का चार सय घरमा धारा जडान भइसकेको नगरप्रमुख काशीचन्द्र बरालले बताउनुभयो ।
नगरपालिकाले सिप्टीमा जलाशय बनाएर खानेपानी, विद्युत् र सिँचाइ हुने गरी बहुउद्देश्यीय परियोजना सञ्चालन गर्न लागेको उहाँले जानकारी दिनुभयो । यस्तै, खाँडाचक्र नगरपालिकाको वडा नं १ मा पर्ने मान्मबजार र वडा नं ७ को पिलीमा पनि घरघरमा धारा जडान भएका छन् । वडा नंं १ का धाराहरुमा भने नियमित खानेपानी नआउने गरेको गुनासो छ ।