
काठमाडौ : नयाँ घर बनाउँदै हुनुहुन्छ र शौचालयलाई सीधै ढल प्रणालीमा जडान गर्ने सुविधा छैन भने के गर्नुहुन्छ ? तपाईले जसरी पनि सेप्टिक ट्याङ्की बनाउनै पर्छ । सेप्टिक ट्याङ्की फोहोर पानी भण्डारण एवं प्रशोधन गर्ने एक प्रकारको प्रविधि हो । भण्डारणको क्रममा सेप्टिक ट्याङ्कीमा जम्मा भएको दिसाजन्य लेदोलाई नियमित रुपमा खाली गरी थप प्रशोधन गरी सुरक्षित तरिकाले विसर्जन गरिन्छ भने यसबाट निस्केको फोहोरपानीलाई सोकपिट मार्फत जमिनमुनि पठाइन्छ । वा थप प्रशोधनको लागि ढल मार्फत प्रशोधन केन्द्रमा लगिन्छ । सोकपिट पानीलाई सुरक्षित तरिकाले जमिनमुनि पठाउनका लागि बनाइने एउटा सरल प्रविधि हो । सोकपिट बेग्लै संरचना भएपनि यसलाई सेप्टिक ट्याङ्कीको अभिन्न अंगको रुप्मा लिइन्छ ।
मूलतः उचित तरिकाले बनाइएको सेप्टिक ट्याङ्कीमा निम्न ३ वटा आधारभूत प्राविधिक अवस्था हुनुपर्दछ ।
– सेप्टिक ट्याङ्की पानी निरोधक (वाटर सील) हुनुपर्दछ ।
– सेप्टिक ट्याङ्की २ खण्डे र न्यूनतम १.४ मिटर गहिरो भएको हुनुपर्दछ ।
– सेप्टिक ट्याङ्कीको साथमा सोकपिट हुनुपर्दछ ।
सेप्टिक ट्याङ्की कस्तो हुन्छ ?
सेप्टिक ट्याङ्की दुईखण्डे आयताकार संरचना हो । जसको लम्बाई चौडाईभन्दा २ देखि ४ गुणा लामो हुन्छ भने गहिराइ न्यूनतम १.४ मिटर हुन्छ । इन्लेटतिरको खण्ड ठूलो हुन्छ भने आउटलेटतिर सानो खण्ड हुन्छ । यी दुई खण्ड छुट्याउने गारोलाई ब्याफल वाल भनिन्छ जसमा ठूलो खण्डबाट फोहोरपानी सानो खण्डमा पठाउनको लागि निकास बनाइएको हुन्छ ।
त्यसैगरी सोकपिट सामान्यतया गोलाकार खाल्डो हो । यसको गारो हनिकम्ब (Honey Comb) प्रकारको हुन्छ र खाल्डो पूर्णतया: ईटाको टुक्रा वा ठूलो साइजको गिट्टीले भरिएको हुन्छ ।
सेप्टिक ट्याङ्कीले कसरी काम गर्दछ ?
सेप्टिक ट्याङ्कीमा फोहोरपानी तीन तरिकाबाट प्रशोधन हुन्छ । फोहोरपानी सेप्टिक ट्याङ्कीभित्र प्रवेश गरेपछि केही समयको लागि भण्डारण हुन्छ । जसलाई अवधारण समय (Retention Time) भनिन्छ । यस क्रममा फोहोरपानीसँग मिसिएर आएका गह्रुङ्गो वस्तुहरु पिंधमा थिग्रिन्छ भने तेलिया र हलुका वस्तु पानीको सतहमाथि तैरिन्छ । यसरी थिग्रिएको, तैरिएको एवम् थिग्रिन र तैरिन नसकी पानीभित्र तैरिरहेका ठोस वस्तु जैविक गतिविधिका कारण कुहिएर लेदो र मिथेन ग्यास उत्पादन हुन्छ । लेदो पिंधमा जम्मा हुन्छ र ग्यास उडेर जान्छ भने नकुहिने हुलका वस्तु तैरिएर स्कम (Scum) बन्छ । यसरी प्रशोधित फोहोरपानी आउटलेट मार्फत सोकपिटमा पठाइन्छ र सोकपिटको पिंध र भित्तामार्फत सोसिएर जमिनमुनि सुरक्षित विसर्जन हुन्छ । फोहोरपानीलाई सोकपिटको केन्द्र भागमा लगेर छोडिन्छ जसले पानीलाई चारैतिर एकनासले फिजिन मद्दत गर्दछ । सोकपिटले पानीमा भएको जैविक प्रदुषणलाई केही हदसम्म प्रशोधन समेत गर्दछ ।
सेप्टिक ट्याङ्की कस्तो हुनुपर्दछ ?
सेप्टिक ट्याङ्की चाँडो वा कहिल्यै नभरियोस् भनेर ठूलठूला संरचना बनाउने एवं सेप्टिक ट्याङ्कीको गारो र पिंध पनि रसाउने खालको बनाउने गरिन्छ । यो बुझाई सरासर गलत हो । संरचना ठूलो हुँदैमा ढिलो वा कहिल्यै नभरिने होइन । वास्तवमा सेप्टिक ट्याङ्कीले प्रशोधन गर्न नसकेर, सेप्टिक ट्याङ्कीबाट निस्किने पानीले उचित निकास नपाएर वा बर्षा/भूमिगत पानी छिरेर सेप्टिक ट्याङ्की चाँडो भरिन्छ । तसर्थ सेप्टिक ट्याङ्की चाँडो भरिने समस्या न्यूनीकरणको लागि उचित डिजाइन, पानी नछिर्ने र सोकपिट सहितको सेप्टिक ट्याङ्की निर्माण गर्नुपर्दछ ।

सेप्टिक ट्याङ्कीको साइज मूलतः प्रयोगकर्ताको संख्या, प्रयोग हुने पानीको मात्रा, खाली गर्ने अवधि र अवधारण समयमा भर पर्दछ । सामान्यतयाः सेप्टिक ट्याङ्कीको डिजाइनको लागि प्रयोग हुने पानीके मात्रा १०० लिटर प्रतिव्यक्ति प्रतिदिन, खाली गर्ने अवधि १ बर्ष र अवधारण समय २४ घण्टा लिने गरिन्छ । यसैको आधारमा प्रयोगकर्ताको संख्या अनुसार आवयश्यक सेप्टिक ट्याङ्कीको आकार निर्धारण गरिन्छ ।
पहाडी क्षेत्र जहाँ औसत १० देखि २० डिग्री तापक्रम रहेको ठाउँमा ५ जनाको परिवारका लागि लम्बाई १.५ मिटर, चौडाइ ०.७ मिटर र उचाइ/गहिराई १.४ मिटर हुनुपर्दछ । यस्तै १० जनाको परिवारका लागि २.० मिटर लम्बाइ, १.० मिटर चौडाइ र १.४ मिटर उचाइ/गहिराइ हुनुपर्दछ ।


1870 पटक हेरिएको 

